आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

Nepal life insurance

१- राष्ट्रपति रामचन्द्र पौडेलले जापानकी प्रधानमन्त्री तकाइची सनायले शिष्टाचार भेट गरेका छन् । मंगलबार भएको भेटमा राष्ट्रपति पौडेलले जापान सरकारको निरन्तर सहयोग,सद्भावना र समझदारीका लागि आभार व्यक्त गर्दै दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्नआगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताएका थिए । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव आफूहरुबीच स्थापित द्विपक्षीय सम्बन्धको एक कोशेढुंगा हो भन्दै उनले यसप्रकारको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याउने बताए । जापानले द्विपक्षीय अनुदान,ऋण,बहुपक्षीय सहायता र प्राविधिकलगायतका गर्दै आएको सहयोगले नेपालमा मानव संशाधन विकास,स्वास्थ्य, कृषि विकास,पूर्वाधार विकास,वातावरण संरक्षण,संस्कृति जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुगेको बताएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । उक्त अवसरमा जापानका प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापानको लागि र यस क्षेत्रकै लागि महत्त्वपूर्ण भएकाले नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताएकी थिइन् । साथै प्रधानमन्त्री तकाइचीले निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने पनि बताएकी छन् । उनले नेपाल र जापान विगत लामो समयदेखिका घनिष्ठ मित्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सम्पर्क र जापानी नागरिकले नेपालको हिमालहरु चढ्ने गरेकोजस्ता कारणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुँदै गएको बताइन् । राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा आइतबार राति जापान प्रस्थान गरेका थिए । उनले आजै जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए । जापानको चार दिने भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

२- सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । त्यस्तै आजको बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहिदहरूको सालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरूयोजनाको संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको अर्यालले जानकारी दिए ।

३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश अन्तिम सुनामीको तयारीमा रहेको बताएका छन् ।  मंगलबार सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले आफु अब स्वास्थ्य भएर चुनावी प्रचारमा सक्रिय हुने जानकारी दिदै गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा रहेको बताएका हुन् । उनले भनेका छन्- ‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुला आग्रह छ—अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानाे संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं ।’ लामिछानेले फागुन २१ कुनै सामान्य मिति नभएको बताउदै फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्ने बताएका छन् ।  उनले यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुने उल्लेख गर्दै केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा अब मतदाताको भएको बताएका छन् । उनले आफ्नो स्वास्थ्य बारे भनेका छन्- सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनिक जीवनमा फर्कँदैछु । र यो ऐलान, संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ । परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन् ।’

४- प्रादेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुखहरू डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ । प्रादेशिक अस्पताल सिरहामा मिलेमतोमा कर्मचारी नियुक्ति गरी करारका कर्मचारीलाई ओपीडी लगायतमा महत्वपूर्ण नगद रकम संकलन काउन्टरमा राखी दैनिक संकलन भएको ३८ लाख ७७ हजार ७२४ रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ । अख्तियारले तत्कालीन कार्यालय प्रमुखहरू डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादव तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह, तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको श्रीमती मुस्कान कुमारी मण्डल र तत्कालीन लेखा प्रमुख अशोक कुमार यादवविरुद्ध  ३८ लाख ७७ हजार ७२४ रुपैयाँ बिगो माग गरेको छ भने विल काउन्टरमा कार्यरत अहेव. श्याम कुमार मण्डलविरुद्ध २५ लाख ४७ हजार ४१७ रुपैयाँ विगो मागेको छ । त्यस्तै काउन्टरमा कार्यरत सकअ पुजा कुमारी यादव र सरस्वती कुमारी यादवसँग २ लाख ८८ हजार २२९ रुपैयाँ बिगो मागेको छ भने विल काउन्टरमा कार्यरत स.क.अ. रोशन कुमार यादवसँग एक लाख ६४ हजार ६५९ रुपैयाँ बिगो मागेको छ । त्यसैगरी अख्तियारले विल काउन्टरमा कार्यरत सकअ अजय कुमार मण्डलसँग ३ लाख ७९ हजार २१ रुपैयाँ बिगो मागेको छ ।

५- भारतको बिहारको नयाँ सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको छ । यो ७९ वर्षीय अर्थमन्त्री विजेन्द्र यादवले प्रस्तुत गरेका थिए र यो केवल ११ मिनेट ३५ सेकेन्डसम्म चलेको थियो । यो २००५ पछि सत्तामा रहेको नीतीश कुमारको सरकारले प्रस्तुत गरेको सबैभन्दा छोटो बजेट भाषण थियो । बिहारमा यस वर्षको बजेट ३.४७ लाख करोड भारु रहेको छ, जुन अघिल्लो ३.१६ लाख करोड भारुको बजेटभन्दा ३०,००० करोडले बढी हो। बजेट भाषणपछि आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव आनन्द किशोरले औद्योगिकीकरण यस बजेटको मुख्य केन्द्रबिन्दु भएको बताए । यसबाहेक, शहरी विकास, पर्यटन, स्वास्थ्य र शिक्षा पनि सरकारको एजेन्डामा रहेको उनले बताए । बजेट नीतीश कुमार सरकारले घोषणा गरेको सात निश्चय भाग तीनमा पनि केन्द्रित छ । सात निश्चय भाग तीनमा प्रतिव्यक्ति आय दोब्बर गर्ने, १ करोड रोजगारी सिर्जना गर्ने, महिला सशक्तिकरण गर्ने र सबैको जीवन सहज बनाउने जस्ता संकल्पहरू समावेश छन् । पत्रकारहरूले अर्थमन्त्री विजेन्द्र यादवलाई छोटो बजेट भाषणको बारेमा सोध्दा उनले लामो भाषण दिएर के हुन्छ ? भन्ने जावफ दिएका थिए ।

६- भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टि भएपछि नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता बढाइएको छ । कोशी प्रदेश सरकारले झापा, मोरङ र इलामका प्रमुख नाकामा प्राथमिक स्वास्थ्य स्क्रिनिङ र निगरानी शुरु गरेको हो । काँकडभिट्टा, पशुपतिनगर, जोगवनी र भण्टाबारी नाकामा तापक्रम जाँच, लक्षण मूल्यांकन तथा जोखिम देखिए रिफर गर्ने व्यवस्था शुरु गरिएको छ । झापा जिल्लामा अस्थायी हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरिएको छ भने सीमा क्षेत्रमा चेतनामूलक सूचना सामग्री राख्न थालिएको छ । पश्चिम बंगालका उत्तर २४ परगना लगायत जिल्लामा संक्रमण पुष्टि भएसँगै भारतमा उच्च सतर्कता घोषणा गरिएको छ । निपाह भाइरस उच्च मृत्युदर भएको सङ्क्रामक रोग हो, जसको हालसम्म खोप वा निश्चित उपचार छैन । नेपालमा संक्रमण पुष्टि नभए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा सतर्कता अपनाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यसैबीच स्वास्थ्य मन्त्रालयले निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको छ । निपाह भाइरस सङ्क्रमित चमेराको र्‍याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा सङ्क्रमण हुनसक्ने, सङ्क्रमित व्यक्तिको रगत थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेरोबाट सुँगुर हुँदै पनि मानिसमा यो सङ्क्रमण सर्नसक्ने मन्त्रालयले जनाएको छ । ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, चकर लाग्ने, खोकी लाग्ने, सास फेर्न गाहो हुने, वाकवाकी लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउने, अचेत हुनेलगायत शङ्कास्पद लक्षण देखिएका बिरामीको शीघ्र पहिचान गर्न आइसोलेसनमा राखेर रिपोर्टिङ गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण मापदण्ड कडाइका साथ पालना गर्न गराउन पनि मन्त्रालय सबै सरोकार भएका सबैलाई अनुरोध गरेको छ । शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्नसमेत आग्रह गर्दै मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसका घटना पुष्टि नभएका तथा स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई फलफूल राम्ररी पखालेर मात्र खान, तरकारी राम्रोसँग पकाएर खान, सफा र सुरक्षित पानी उमालेर मात्र पिउन, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पत्रा र मास्क प्रयोग गर्ने, बेलाबेलामा साबुन पानीले हात धुने तथा भिडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

७- सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा माघ २८ गतेलाई साधारण तारेख तोकेको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले मंगलबारका लागि साधारण तारेख तोकेकाले आज पेशी चढ्ने अनुमान गरिएको थियो । तर,सर्वोच्चको मुद्दा शाखाले पेशी नचढाई पुनः माघ २८ गतेलाई साधारण तारेख तोकेको हो । यसअघि सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी रिटहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीसँग लिखित जवाफ माग गरेको थियो । तर,सबै सम्बन्धित निकायबाट लिखित जवाफ आइनपुगेकाले सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १७ वटा रिट निवेदन दर्ता भएका छन् । अदालतले ती सबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्ने आदेश यसअघि नै जारी गरिसकेको छ । सो आदेशअनुसार अब संसद् विघटनसम्बन्धी सबै रिटको सुनुवाइ एउटै इजलासबाट हुने भएको हो । संसद् विघटनविरुद्ध प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेससहित कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा नतिजा ननिस्किएमा नराम्रो हुने धम्की दिएका छन् । ट्रम्पले इरानसँग वार्ता गरिरहेको जानकारी दिदै सकारात्मक परिणाम नआएमा नराम्रो हुने धम्की दिएका हुन् । ट्रम्पले भने- ‘हामी हाल इरानसँग वार्ता गरिरहेका छौं, र मलाई आशा छ, परिणाम सकारात्मक हुनेछ, किनकि यदि त्यसो भएन भने, केहि नराम्रो हुन सक्छ ।’ ट्रम्पले उनको प्रशासनका प्रतिनिधिहरू इरानी सरकारसँग वार्तामा रहेको र वार्ताबाट परिणाम सकारात्मक आउने विश्वास व्यक्त गरेका छन् । इरानी विदेशमन्त्री अब्बास अराघची र ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ बीच आगामी केही दिनमा सम्भवतः टर्कीको इस्तानबुलमा प्रत्यक्ष भेटघाट हुने अनुमान बढ्दै गएको समयमा ट्रम्पको यस्तो भनाई आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजदूत स्टीव विटकफ, उनका ज्वाइँ तथा सल्लाहकार जारेड कुशनर र इरानी विदेशमन्त्री अब्बास अराघची बैठकमा सहभागी हुने बताइएको छ । टर्की, कतार र इजिप्टका वरिष्ठ अधिकारीहरू पनि उपस्थित हुने अपेक्षा गरिएको छ । मिडिया रिपोर्टका अनुसार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान र पाकिस्तान जस्ता अन्य देशका प्रतिनिधिहरू पनि सहभागी हुन सक्ने बताइएको छ ।

९- प्रधानमन्त्री सुशीला कार्कीले यसपालिको मतदान शान्तिका लागि निम्ति गर्न आग्रह गरेकी छन् । राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन नवलपुर (पूर्वी नवलपरासी) को हात्तिखोर पुगएकी प्रधानमन्त्री कार्कीले स्थानीय समुदाय, शिक्षक तथा अभिभावकसँगको अन्तर्कियामा उनले यस्तो आग्रह गरेकी हुन् । त्यस क्रममा उनले भनिन्- ‘यो चुनाव नियमित चुनाव होइन । यो विशेष चुनाव हो। तपाईँहरु शान्तिका लागि मतदान गरिदिनुहोस् । यो खुट्किला जसरी पनि पार गर्नुपर्नेछ। व्यक्तिको जितहार भन्ने दोस्रो कुरा हो। पहिला देशलाई जिताऊँ। देशको शान्ति र रुपान्तरणका निम्ति हामी सबै एक ठाउँमा उभिएर संकल्प गर्नुपर्ने बेला हो। शान्ति र सुव्यवस्था मुलुकमा भयो भने पालो पाइएन भन्नेहरु पनि सबैले पाउलान्।’ दीक्षान्त कवाजको औपचारिक समारोह सकिएपछि प्रधानमन्त्री कार्कीले उपस्थित विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेकी थिइन् । उनले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कमल पराजुली, प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेलगायत स्थानीय सुरक्षा अधिकारीहरुसँग चुनावको तयारी तथा सुरक्षा अवस्थाबारे पनि जानकारी लिएकी थिइन् ।  त्यस क्रममा उनले चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका निम्ति कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन पनि दिएकी थिइन् ।

१०- नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२२ कम्पनिका एक करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एचएलआई लार्ज क्यापको शेयर ९.९५ प्रतिशतले बढेको छ ।  त्यसैगरी आज सान्भी इनर्जीको शेयर सबैभन्दा बढी ४.६३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ५९ करोड २९ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ४१ करोडको कारोबार भएको छ ।

११-  परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए) का कार्यवाहक प्रतिनिधि श्रीराम हरिदासले शिष्टाचार भेट गरेका छन् । मंगलबार मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र यूएनएफपीएबीचको सहकार्यसँग सम्बन्धित विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । नेपालमा जनसंख्या, स्वास्थ्य, लैंगिक समानता तथा विकासका क्षेत्रमा भइरहेको तथा भविष्यमा हुने सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा  कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

१२- राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह हात्तीखोर, नवलपुरमा सम्पन्न भएको छ । दीक्षान्त समारोहकी प्रमुख अतिथि प्रधानमन्त्री सुशिला कार्कीले समारोहलाई सम्बोधन गर्दै  ‘जननी जन्मभूमिश्‍च स्वर्गादपि गरीयसी’ अर्थात् ‘जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ’ भन्‍ने उक्तिलाई आत्मसात् गर्दै चन्द्र सूर्य अङ्कित झण्डा सदैव शिरोपर गर्ने, राष्ट्र सेवामा समर्पित, अनुशासित, नैतिकवान चरित्रवान् युवाहरु नै राष्ट्रका मेरुदण्ड भएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले सरकारले प्राथमिकताका साथ लिएको यस कार्यक्रमको लक्ष्य युवालाई अनुशासित, मर्यादित, आफ्नो देश, वेषभूषा, संस्कृति र इतिहासलाई माया गर्ने संस्कारयुक्त नागरिक बनाउनु रहेको बताएकी थिइन् । उनले राष्ट्रमा विपद्‍को अवस्थामा उद्धार, राहत लगायत कार्यमा देशैभर परिचालन गर्न सकिने तालिमप्राप्‍त स्वयंसेवक तयार गर्नु पनि यसको उद्देश्य भएको बताइन । प्रधानमन्त्री कार्कीले भनिन्- ‘ यसले तपाईँहरुमा नेतृत्वकला, सामूहिकता र राष्ट्रिय एकताको भावनालाई थप मजबुत गराउनेछ । आज भर्खरै प्रदर्शन भएको सुन्दर, कलात्मक र उच्चस्तरको कवाजले तपाईँहरुको अनुशासन, लगनशीलता, अभ्यास र कडा परिश्रम स्पष्ट रुपमा प्रतिविम्बित गरेको छ । तपाईँहरूमा देखिएको उत्साह र आत्मविश्‍वासले उन्‍नत समाज निर्माणको लागि तपाईँहरुजस्ता युवाको सहभागिता र नेतृत्वदायी भूमिका समाजमा थप प्रभावकारी हुनेमा हामी सबैलाई आशावादी बनाएको छ ।’ राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्‍चालन गरिरहेको छ ।  यस आर्थिक वर्षमा देशभरका २५७ वटा विद्यालयहरुबाट ७ हजार ७१० जनालाई तालिम प्रदान गरिएको छ । जस अन्तरगत सिनियर डिभिजनतर्फ १ हजार ८० जना र जुनियर डिभिजनतर्फ ६ हजार ६३० जना क्याडेट छात्र/छात्राहरु यस वर्ष दीक्षित भएका छन् । हालसम्म करिब ९० हजार युवाहरु एनसीसी तालिम प्राप्‍त गरी दीक्षित भएका छन् ।

१३- आगामी मार्च २३ देखि अप्रिल ३ सम्म माल्दिभ्समा हुने साफ यू-२० फुटबल च्याम्पियनसिपको खेल तालिका सार्बजनिक भएको छ । नेपालसहित ७ देशले भाग लिने यस प्रतियोगिताको समुह ए मा माल्दिभ्स, नेपाल, भुटान र श्रीलंका रहेको छ भने समुह बी मा बंगलादेश, भारत र पाकिस्तान रहेका छन् । प्रतियोगिताको पहिलो खेल मार्च २३ मा नेपाल र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच हुने छ । त्यस्तै मार्च २४ मा पाकिस्तान र बंगलादेश खेल्ने छन् भने मार्च २५ मा श्रीलंका र नेपाल तथा भुटान र माल्दिभ्स खेल्ने छन् । त्यसैगरी मार्च २६ मा भारत र पाकिस्तान खेल्ने छन् । त्यस्तै मार्च २७ मा माल्दिभ्स र नेपाल तथा भुटान र श्रीलंका खेल्ने छन् भने मार्च २८ मा बंगलादेश र भारत खेल्ने तालिका छन् । त्यसपछि दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनलका खेल अप्रिल १ र फाइनल खेल अप्रिल ३ मा हुने छ ।

१४-  प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको संचालक समितिको मंगलबार बसेको बैठकले शर्मालाई चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । आजैको बैठकले प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले दिएको राजीनामा स्वीकृत गरेको थियो । यस अघि निलम्बित रहेका शेरचनको निलम्बन फुकुवा पछि पदबाट राजीनामा दिएका थिए । शेरचनलाई बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेपछि सञ्चालक समितिले निलम्बन गरेको थियो ।  नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले यसअघि माछापुच्छ्रे बैंक, तत्कालीन सनराइज बैंकलगायत नेपालका प्रतिष्ठित बैंकमा सफल नेतृत्व दिएका छन् । शर्मा तत्कालिन सनराइज बैंक र लक्ष्मी बैंक मर्जरपछि बाहिरिएका थिए ।

१५- अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी श्रीमती, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन, जेफ्री एपस्टाइन मुद्दाको कंग्रेसनल अनुसन्धानमा बयान दिन सहमत भएका छन् । हाउस ओभरसाइट कमिटीमा उपस्थित हुन अस्वीकार गरेकोमा दम्पतीलाई आपराधिक अवहेलनाको दोषी ठहराउने कि नगर्ने भन्ने बारेमा केही दिन पछि मतदान हुने तालिका थियो । बिल क्लिन्टन २०१९ मा जेलमा मृत्यु भएका एपस्टाइनसँग परिचित थिए । यद्यपि, क्लिन्टनले एपस्टाइनको यौन अपराधको बारेमा जानकारी नभएको र उनीहरूले लगभग दुई दशक अघि सम्पर्क समाप्त गरेको बताएका छन् । गत महिना, रिपब्लिकन नेतृत्वको हाउस ओभरसाइट कमिटीले क्लिन्टनलाई अवहेलनाको दोषी ठहराउने प्रस्तावलाई अनुमोदन गरेको थियो, जसलाई केही डेमोक्र्याटिक सांसदहरूबाट पनि समर्थन प्राप्त भयो । सोमबार साँझ, क्लिन्टनका उपप्रमुख कर्मचारी एन्जल उरेनाले क्लिटन दम्पति समितिमा उपस्थित हुने जानकारी दिएका छन् । क्लिन्टनले उनीहरूले एपस्टाइनको बारेमा सीमित जानकारी प्रदान गर्दै समितिलाई पहिले नै शपथपत्र बुझाइसकेका छन् ।  १९८३ पछि यो पहिलो पटक हुनेछ जब कुनै पूर्व अमेरिकी राष्ट्रपतिले कंग्रेसनल समिति समक्ष बयान दिनेछन् ।

१६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापामा पुन चुनावी अभियान शुरु गरेका छन् । बालेन झापा-५ को कमला गाउँपालिकाका सुकम्बसी बस्तिमा पुगेर छलफल गरेका छन् । उनले काठमाडौँमा बाढीबाट बचाउन हटाउन खोजेको भन्दै हटाउन त्यसलाई गलत प्रचार गरिएको बताए । स्थानीयले बालेनलाई एजेण्डा के छ भन्दै प्रश्न गरेका छन् ।  स्थानीयले तपाइँको र रास्वपाको एजेण्डा के छ भन्ने प्रश्न गरेका थिए । एक स्थानीयले भने- कमल-५ भनेको पहिला देखि नै एमालेको गढ  हो, तपाइँको एजेण्डा के के छन् त्यो पनि बुझ्न पाए हामीलाई राम्रो हुन्थ्यो । एमालेको गढ हामीले चिर्दैछौं । युवाहरुलाई देश सुम्पिनुछौँ । चुनाव आइसक्यो । बालेनका मात्र होइन, स्वतन्त्र पार्टीको एजेण्डा के के त ? भोली देशलाई दुई तिहाइ बहुमत दिएर बालेनजीलाई प्रधानमन्त्री बनाउने हो । हिजो जेनजी आन्दोलन हुदा यत्रो बच्चाहरु मरे । के को लागि भन्दा परिवर्तनको लागि । तर परिवर्तन भएन । देशले परिवर्तन पाएन । अब बालेनजीको यो योजना के छ त ? स्वतन्त्र पार्टीको एजेण्डा के छ त ? हामीले पनि बुझौ न । व्यक्तिगत भेटेर बुझ्ने भन्दा पनि सबैले बुझ्ने किसिमले बुझौ न भन्ने हो ।’ स्थानीयलाई जवाफ दिदै बालेनले फागुनको पहिलो सातामा मेनिफेस्टो सार्बजनिक गर्ने बताए । उनले भने- ‘स्थानीयको जवाफमा बालेनले भने- एजेण्डा मेनिफेस्टो तयार पार्दैछौँ । हरेकको छुट्टा छुट्टै हुन्छ नि त । तपाइले बुझ्न खोजेको शिक्षाको होला स्वास्थ्यको होला पूर्वाधारको होला । सबैलाई सबै चिजको हुदैन नि त । फागुनको पहिलो साता सार्बजनिक गर्छौं । देश भरको अलग हुन्छ । यो क्षेत्रको एजेण्डा छुट्टै हुन्छ ।’ त्यस्तै स्थानीयले बालेनले गरिबलाई हटाउछ भन्ने कुरा आएको बताएपछि बालेनले भने- ‘काठमाडौँ खोला छेउबाट हटाउन खोजेको उहाँहरु जोखिममा बसेकोलाई सुरक्षित ठाउमा लैजान खोजेको तर त्यसको गलत न्यारेटिभ डोजर जस्तो देखियो । खासमा त्यो मान्छेको ज्यान जोगाउनको लागि हो ।  खोला छेउ बाहेकको त भुमी आयोगले लगत संकलन गरेर नेपाल सरकारले दिने हो जग्गा । स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले दिने हो । यहाँको त रियल हो नि त ।’ त्यस्तै स्थानीयले प्रदेश खारेज गरेर शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिन्छ की सकिदैन भन्ने प्रश्नको  जवाफमा बालेनले शतप्रतिशत गर्न संबिधानमा लेखेपनि बजेट नभएकाले गर्न नसकिने बताए । स्थानीयले भने’ ‘बजेट छैन भन्ने कुरामा हामीले प्रदेश संरचना खारेज गरेमा बजेट त जति पनि पुग्छ नि बालेनजी ।’ तर बालेनले प्रदेशमा धेरै खर्च नभएको जवाफ दिएका थिए ।

१७-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको ३ हजार ७ सयले बढेर तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २  लाख ८६ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले बढेर तोलाको ५३३५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५ हजार २ सयमा कारोबार भएको थियो ।

१८- अमेरिका र इरानबीचको तनाव कम गर्न शुक्रबार टर्कीमा एउटा महत्त्वपूर्ण बैठक हुने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजदूत स्टीव विटकफ, उनका ज्वाइँ तथा सल्लाहकार जारेड कुशनर र इरानी विदेशमन्त्री अब्बास अराघची बैठकमा सहभागी हुने बताइएको छ । टर्की, कतार र इजिप्टका वरिष्ठ अधिकारीहरू पनि उपस्थित हुने अपेक्षा गरिएको छ । मिडिया रिपोर्टका अनुसार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान र पाकिस्तान जस्ता अन्य देशका प्रतिनिधिहरू पनि सहभागी हुन सक्ने बताइएको छ । यो बैठक यस्तो समयमा भएको हो जब अमेरिका र इरानबीचको सम्बन्ध उल्लेखनीय रूपमा बिग्रिएको छ । ट्रम्पले हालै इरानमाथि आक्रमण गर्ने धम्की दिएका थिए ।  गत महिना, इरानमा ठूलो विरोध प्रदर्शन भयो, जसको परिणामस्वरूप हजारौंको मृत्यु भयो । ट्रम्पले हस्तक्षेपको धम्की पनि दिए र इरानमा शासन परिवर्तनको लागि पनि आह्वान गरेका थिए । धम्कीका बीचमा वार्ता गर्न अस्वीकार गर्ने इरानका नेताहरू अब वार्ता गर्न तयार देखिएका छन् । इरानी अधिकारीहरूले आफ्नो आणविक कार्यक्रम केवल ऊर्जाको लागि भएको बताउदै आएका छन् ।

१९- विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालमा दिगो र समावेशी वित्त प्रवर्द्धन गर्ने उद्देश्यसहित ९५ मिलियन अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ ।  यस परियोजनाबाट नेपालका एक लाखभन्दा बढी साना तथा मझौला उद्यम (एसएमई) लाई वित्तीय पहुँच विस्तार हुने र रोजगारीमुखी आर्थिक वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि देशीय डिभिजन निर्देशक डेभिड सिस्लेनका अनुसार यस परियोजनाले नेपाल सरकारको निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डीसीजीएफ) लाई सुदृढ बनाउनेछ । उनले भनेका छन्- ‘जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायजस्ता पछाडि परेका वर्गका लागि नयाँ ग्यारेन्टी उत्पादनहरू सुरु गर्न यो परियोजना सहयोगी हुनेछ ।’ वित्तीय पहुँच सहज बनाइने र लेनदेनका अवरोध घटाइने भएकाले वित्तीय समावेशीकरण विस्तार, एमएसएमईलाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलामा जोड्ने र निजी क्षेत्र, नेतृत्वको रोजगारी सिर्जनामा योगदान पुग्ने उनको भनाइ छ । ‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) ले विश्व बैंकद्वारा वित्तपोषित ‘वित्तीय क्षेत्र स्थायित्व तथा वृद्धिका लागि वित्त’ विकास नीति ऋण (डीपीसी) श्रृङ्खलाअन्तर्गत २०२४ मा सम्पन्न सुधार प्रयासहरूलाई निरन्तरता दिनेछ । परियोजनाअन्तर्गत नेपाल क्रेडिट सूचना ब्युरो (सीआईबीएन) को प्रविधि तथा संस्थागत क्षमता अभिवृद्धिमा लगानी गरिने बताइएको छ । यसले तथ्यांकको पहुँच विस्तार, वैकल्पिक तथ्यांक स्रोतको एकीकरण तथा तथ्यांक सुरक्षासहित गोपनीयता सुदृढ गर्न मद्दत गर्नेछ । यस कार्यमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले पनि सहयोग गर्दै आएको छ । दक्षिण एशिया क्षेत्रका वरिष्ठ वित्तीय क्षेत्र विशेषज्ञ तथा परियोजना टोली प्रमुख सबिनराज श्रेष्ठका अनुसार पर्याप्त धितोको अभाव र सीमित कर्जा इतिहासका कारण एसएमईहरूले सुलभ वित्तमा पहुँच पाउन कठिनाइ भोग्दै आएका छन् । उनले भनेका छन्- ‘डीसीजीएफको व्यवस्थापन सूचना प्रणाली उन्नत गर्दै, दाबी भुक्तानी प्रक्रिया छरितो बनाउँदै तथा जोखिम–आधारित मूल्य निर्धारण र ‘फर्स्ट–लस कभरेज’ प्रणालीतर्फ रूपान्तरण गर्दै कोषलाई थप प्रभावकारी बनाइनेछ ।’

२०-  अमेरिका र भारतवीच व्यापार सम्न्झौता भएको घोषणा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र संयुक्त राज्य अमेरिका बीचको लामो समयदेखि प्रतिक्षित व्यापार सम्झौताको घोषणा गरेका हुन् । ट्रम्पले अमेरिकाले भारतमा कर ५० प्रतिशतबाट घटाएर १८ प्रतिशत गरेको बताएका छन् । ट्रम्पले अप्रिलमा २५ प्रतिशत पारस्परिक कर लगाए र अगस्टमा रूसबाट तेल खरिद गरेको भन्दै २५ प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए । नयाँ सम्झौता अनुसार अमेरिकाले रुसको तेल खरिद गरेको भन्दै लगाएको कर पुरै हटाएको छ भने अब भारतलाई कुल १८ प्रतिशत मात्र कर लगाउने भएको छ । ट्रम्पका अनुसार, आवश्यक परेमा, भारतले भेनेजुएलाबाट तेल किन्ने पनि बताएका छन् ।

#Top20News #DailyBulletin #NepalNews #BreakingUpdates #CurrentAffairs #NationalHeadlines #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages