आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । आइतबारदेखि जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्कीसहित विशिष्ट व्यक्तिहरुले स्वागत गरेका थिए । जापान भ्रमणको क्रममा राष्ट्रपति पौडेलले मंगलबार जापानी प्रधानमन्त्री तकाइची सनाय र सम्राट नारुहितोलगायतसँग राजकीय शिष्टाचार भेट गरेका थिए । त्यस्तै उनले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन समेत गरेका थिए । साथै, पौडेलले जापानस्थित नेपाली राजदूतावासको अवलोकन पनि गरेका थिए । भ्रमणमा राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहका थिए ।

२-  नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको काँग्रेसको बारेमा स्पष्ट गर्दै काँग्रेसले युवाहरुसँग साझेदारको रुपमा मिलेर काम गर्न चाहेको बताएका छन् । बुधबार भिडिओ सन्देश जारी गर्दै सभापति थापाले विगतका नराम्रा कुराहरुलाई छोडेर आएको बताउदै विगतका राम्रा कुराहरुलाई लिएर अगाडी बढ्ने बताएका हुन् । उनले भनेका छन्- ‘यो बदलिएको नेपाली कांग्रेसले हिजोको कांग्रेसले गरेका कयौँ राम्रा कुराहरूलाई गर्छ। कयौँ कुराहरू जुन हामीले नजानेर होला, कहिलेकाहीँ कतिपय कुराहरू हाम्रो गल्ती नै भएको पनि होला, त्यो कुराहरू यसले छोड्छ । बदलिएको नेपाली कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिले पनि राख्दैन ।’ पार्टीको सिद्धान्तसँग केही कुरा पनि सम्झौता नगर्ने बताउदै सत्ताको लागि जे पनि गर्ने परिपाटी काँग्रेसमा सकिएको बताए । उनले भने- ‘सत्तामा पुग्न वा टिक्नको लागि, जे पनि गर्ने, जोसँग पनि मिल्ने गर्दैन । बरु आनन्दले सरकार बाहिर बस्छ । पार्टी भनेको इलेक्सन मेसिन जस्तो भयो ।’ सभापति थापाले अघिल्लो पटक मत माग्न जादा मतदाताले पार्टी बदल्न दिएका सुझावका आधारमा आफुहरुले पार्टी बदलेको भन्दै यस पटक आफुहरुले हकका साथ मत माग्ने बताएका छन् । उनले आम जनताले चाहेको जस्तो काँग्रेस बनाएको दाबि गर्दै अब सँगै यात्रा गरेर देश बनाउने बताए । उनले युवाहरुलाई सम्बोधन गर्दै युवाहरुले दलहरु नयाँ किसिमले चल्नुपर्ने, देशमै कायम गर्ने वातावरण बनोस्, युवाको सोच अनुसार देश चलोस भन्ने चाहेको बताउदै युवाहरुको सोच अनुसार काँग्रेस बनेको बताए । उनले एक पटक युवाहरुले बदलिएको काँग्रेसको बारेमा एक पटक बुझ्न र सुन्न आग्रह गरेका छन् । बदलिएको नेपाली काँग्रेसले राष्ट्रको हित भन्दा माथि पार्टीको हितलाई राख्दैन भन्दै सभापति थापाले पार्टी जुन सुकै भूमिकामा भए पनि पार्टीलाई ‘परफरमेन्स ड्रीभन’ बनाउने बताए ।

३- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रियता हाम्रो अस्तित्वको आधार भएको उल्लेख गर्दै राष्ट्रियता र समृद्धि सँगसँगै अघि बढ्न विकासका योजनाहरूले नागरिकको पहिचान, संस्कृति र जीवनशैलीलाई सम्मानित गर्दै अघि बढ्नुपर्ने बताएका छन् । उपराष्ट्रपति यादवले बुधबार काठमाडौंमा आदिवासी जनजाति आयोगको पाँचौं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन् । उनले विकासको नाममा विस्थापन होइन, सशक्तीकरण र अवसर विस्तार गर्न जरुरी रहेको बताए । उनले भने-  ‘नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रलाई आत्मसात गर्दै विविधताबीचको एकता, सामाजिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको संरक्षण गर्ने संकल्प लिएको छ । समानुपातिक समावेशिता र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने जिम्मेवारी संवैधानिक आयोगहरूको हो।’ उनले आदिवासी जनजाति आयोगलाई संविधानले प्रत्याभूत गरेका अधिकारहरूको कार्यान्वयनमा मार्गदर्शक भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक निकायका रूपमा रहेको उल्लेख गरे । आदिवासी जनजाति समुदायको विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृति राष्ट्रिय गौरवका आधारस्तम्भ भएको बताउँदै उहाँले यसलाई जगेर्ना, संरक्षण र संवद्र्धन गर्नु सामूहिक जिम्मेवारी भएको उल्लेख गरे ।

४- माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले बिल गेट्सको यौन अपराधी जेफ्री एपस्टाइनसँगको घनिष्ठ सम्बन्धले उनीहरूको विवाह टुटेको बताएकी छन् । मेलिन्डाले एनपीआर पोडकास्टमा एपस्टाइन फाइल्समा बिलको नाम आएपछि उनीहरुको वैवाहिक सम्बन्ध बिग्रिएको बताएकी हुन् । उनको सो पोडकाष्ट भने विहिबार रिलिज हुने बताइएको छ । मेलिन्डाले भनेकी छन्- ‘एपस्टाइन फाइल्समा बिलको नामले उनको विवाहको सबैभन्दा पीडादायी दिनहरू थिए ।’ मेलिन्डाले एपस्टाइन फाइल्समा गरिएको दावीलाई पनि सहि भन्दै बिल गेट्सले रूसी महिलाहरूसँग यौनसम्पर्क गरेपछि यौन संचारित रोग (एसटीडी) संक्रमित भएको बताएकी छन् । बिलले त्यसपछि एन्टिबायोटिक अनुरोध गरेको ताकि औषधि मेलिन्डालाई गोप्य रूपमा दिन सकियोस् । मेलिन्डाले गहिरो दुःख व्यक्त गर्दै एपस्टाइन फाइल्समा संलग्न सबैले यी आरोपहरूको जवाफ दिनुपर्ने बताएकी छन् । उनले भनेकी छन्- ‘मैले मेरो विवाह छोड्नुपर्‍यो र अन्ततः फाउन्डेसन छोड्नुपर्‍यो । एपस्टाइन फाइल्समा संलग्न सबैले यी आरोपहरूको जवाफ दिनुपर्छ ।’ बिल र मेलिन्डाले १९९४ मा विवाह गरेका थिए र त्यसपछि मे २०२१ मा २७ वर्ष पछि अलग भएका थिए ।

५- नेपाल पोखरामा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४-० गोल अन्तरले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । योसँगै बंगलादेशले फाइनलमा भारतको सामना गर्ने भएको छ । बंगलादेश प्रतियोगितामा अपराजित रहदै फाइनलमा पुगेको छ भने भारत ३ खेलमा २ जित र एक हारसहित फाइनलमा पुगेको छ । यसअघि लिग चरणमा बंगलादेशले भारतलाई २-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेपाल र भुटान भने बाहिरिएका छन् । भुटानले आफ्ना तिनै खेलमा हार बेहोरेको थियो भने नेपालले ३ मध्ये एक जित र २ हार बेहोरेको थियो । अब बंगलादेश र भारतबीचको फाइनल खेल आगामी शनिबार हुने छ ।

६- टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले साउदी अरेबियाको भ्रमण गरेका  छन् । यो दुई वर्षभन्दा बढी समयपछि उनको पहिलो भ्रमण हो । यो भ्रमण साउदी अरेबिया र यसको पूर्व प्रतिद्वन्द्वी टर्कीबीचको सम्बन्ध न्यानो भएको समयमा भएको हो । टर्कीका राष्ट्रपति एर्दोगान र साउदी युवराज मोहम्मद बिन सलमानबीचको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा दुवै पक्षले तेल, पेट्रोलियम पदार्थ र पेट्रोकेमिकलको क्षेत्रमा सहयोगलाई सुदृढ पार्न सहमत भएको उल्लेख गरिएको छ । यसका साथै, ऊर्जा र नवीकरणीय ऊर्जाको क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौता भएको छ, जुन साउदी अरेबियाको ठूलो मात्रामा ऊर्जा लगानीमा निर्माण हुनेछ । दुवै देशले गाजामा शान्ति र स्थिरताको लागि संयुक्त प्रयासहरूलाई तीव्र पार्न पनि सहमति जनाएको बताएका छन् । संयुक्त विज्ञप्तिमा गाजामा मानवीय अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। यसले युद्धविरामलाई बलियो बनाउन, सहायता मार्गहरू खोल्न र दुई-राज्य समाधानलाई समर्थन गर्न आवश्यकतामा जोड दिएको छ । त्यस्तै यमन, सोमालिया, सुडान र सिरियामा सार्वभौमिकता, एकता र स्थिरताको लागि समर्थन, र शान्ति प्रयासहरूको प्रशंसा गरिएको छ । टर्कीको राष्ट्रपति कार्यालयले खाडी सहयोग परिषद्का सदस्य राष्ट्रहरूसँग स्वतन्त्र व्यापार सम्झौताको वार्तालाई अन्तिम रूप दिने आशा टर्कीले राखेको बताएको छ ।

७- हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालसमेत चार जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाको औषधि खरिदमा अनियमितता गरेको प्रमाणित भएपछि गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फार्माका संचालक कृष्ण कुमार भुजुवाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल, स्वास्थ्य शाखा प्रमुख स्याङकु र सहलेखापाल सुनारविरुद्ध एक लाख ९१ हजार ८५० बिगो माग गरेको छ भने आर्यन फार्माका संचालक भुजुवाविरुद्ध एक लाख ९० हजार ८ सय बिगो माग गर्दै कानुन अनुसार सजायको माग गरेको जनाएको छ ।

८-  नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन् । २०७३ वैशाख २७ गतेदेखि नेपाली कांग्रेसको मुख्यसचिव पदमा रहेका पौडेलले माघ ८ गते राजीनामा दिएका थिए ।  त्यसैगरी, कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (१०), नेपाली कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) तथा नेपाली कांग्रेस कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई केन्द्रीय कार्यालयको कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेका छन् ।

९-  नेप्सेमा आज सामान्य गिरावट आएको छ । बुधबार नेप्से १.६४ अंकले घटेर २६८१. ५० विन्दुमा पुगेर रोकिएको छ । आज ३२६ कम्पनिका एक करोड ६६ लाख ८२ हजार ६२६ कित्ता शेयर ७ अर्ब ४९ करोड ९७ लाख ४२  हजार ९८ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, हाइड्रो, लगानी, निर्जीव बीमा र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज कालिन्चोक दर्शन, सुपरमाई हाइड्रो, सुपर मादी हाइड्रो र अन्खु खोला जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज एचएलआई सुपर क्यापको शेयर सबैभन्दा बढी ५.५४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ८० करोड बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ६० करोड ३० लाख बराबरको कारोबार भएको छ ।

१०- विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति ८५० अर्ब डलर नाघेको छ । एकै दिनमा उनको कुल सम्पत्ति ८४ अर्ब डलरले बढेपछि उनको कुल सम्पत्ति साढे ८ सय अर्ब डलर नाघेको हो । फोर्ब्सका अनुसार, मस्क अब इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । मस्कको सम्पत्तिमा यो वृद्धि उनको रकेट निर्माण कम्पनी, स्पेसएक्स र उनको आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप, एक्सएआईको मर्जरको कारणले भएको हो । मस्कको कुल सम्पत्ति केवल चार महिनामा ७० प्रतिशतले बढेको छ । अक्टोबर २०२५ मा ५०० अर्ब डलर पुगेको थियो । उनको कुल सम्पत्ति अब पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपालको संयुक्त जीडीपी भन्दा बढी भएको छ । मस्कको रकेट कम्पनी, स्पेसएक्सले उनको एआई कम्पनी, एक्सएआई अधिग्रहण गरेको छ । पहिले, दुई अलग-अलग संस्थाहरू थिए । अब, तिनीहरू एकल, ठूलो कम्पनी बनेका छन्, जसको कुल मूल्य १.२५ ट्रिलियन डलर पुगेको छ । यो मर्जरले मस्कको मूल्य ८४ अर्ब डलरले बढायो । मर्जर हुनुअघि मस्कको स्पेसएक्समा ४२ प्रतिशत हिस्सा थियो, जसको मूल्य ३३६ अर्ब डलर थियो । एक्स एआईमा उनको ४९ प्रतिशत हिस्सा १२२ अर्ब डलर थियो । मर्जर पछि नवगठित कम्पनीमा मस्कको हिस्सा अब ४३ प्रतिशत छ, जसको संयुक्त मूल्य ५४२ अर्ब डलर रहेको छ । मस्क र विश्वको दोस्रो धनी व्यक्ति बीचको खाडल तीन गुणाभन्दा बढीले बढेको छ । गुगलका सह-संस्थापक ल्यारी पेज २८१ अर्ब डलरको कुल सम्पत्तिका साथ दोस्रो स्थानमा छन् । मस्क उनीभन्दा ५७८ अर्ब डलर धनी छन् । उनको सम्पत्ति बढ्दै गएको दरमा, उनी चाँडै नै विश्वको पहिलो ट्रिलियनियर (१ ट्रिलियन डलरको मालिक) बन्न सक्ने देखिएको छ ।

११- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएपछि भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उडान नम्बर टीएचवाई–७२७ को विमान उडान भर्ने क्रममा एउटा इन्जिन बिग्रिएको जानकारी चालकदलले काठमाडौं टावरलाई गराएका थिए । चालक दलले दुवै इन्जिनमा सुरक्षित रूपमा लामो दूरीको उडान गर्न नसकिने निष्कर्ष निकाल्दै विमानलाई भारतको कोलकातातर्फ डाइभर्ट गरेका थिए ।

१२- सरकारले माघ २५ गतेदेखि फागुन १५ गतेसम्म ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले माघ २५ देखि फागुन १५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । महाशाखाले आ–आफ्नो विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने जानकारी दिएको छ । त्यस्तै कक्षा ६ मा अध्ययन गर्ने सबै छात्राले यो खोप लगाउनु पर्ने र गतबर्षको अभियानमा छुट भएका कक्षा ७ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रा तथा ११ देखि १४ बर्षसम्मका विद्यालय बाहिर रहेका गरी कुल ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ । सरकारले गत वर्ष ६ देखि १४ वर्षसम्मका करिब १६ लाख छात्रालाई खोप लगाएको थियो । यस वर्षबाट एपीभी खोपलाई नियमित खोप अभियान अन्तर्गत राखेर लगाउन लागेको हो ।

१३-  नेकपा एमालेका सचिव महेश बस्नेतले नेपालमा नयाँ जेलेन्स्की जन्माउन खोजिएको आरोप लगाएका छन् । नेकपा एमालेका काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै नेता बस्नेतले अन्तराष्ट्रिय शक्तिहरुको खेल मैदान बनाउन लागिएको बताउदै नयाँ जेलेन्स्की बनाउन खोजिएको आरोप लगाएका छन् । नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा दलहरुको साझा धारणा बनाउन केहि दलका नेताहरुसँग छलफल गरेको तर त्यो गठबन्धन गर्न भएको छलफल नभएको स्पष्ट गरेका छन् । नेता बस्नेतले सरकारले दुई चरणमा निर्वाचन गर्ने कुरा गरेर चुनावमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले पनि त्यो कुराको पुष्टि भएको भन्दै नेता बस्नेतले सरकार कुनै दललाई जिताउन लागिपरेको देखिएको बताए ।

१४- नेपाली काँग्रेसले झापा–५ मा गठबन्धनको हल्ला चालिएको भन्दै खण्डन गरेको छ । कांग्रेस झापा–५ क्षेत्रीय समितिले कुनै पार्टीसँग गठबन्धन गर्ने विषयमा छलफल नभएको भन्दै त्यस्ता भ्रामक र कपोकल्पित हल्लाका पछि नलाग्न आग्रह गरेको हो । क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कपोकल्पित समाचार फैलाएर कार्यकर्ता र मतदातामा भ्रम सिर्जना गर्न खोजेको प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापाले निर्वाचन अगाडि कुनै अर्को दलसँग गठबन्धन नहुने स्पष्ट पारिसक्नुभएको छ । कांग्रेस आफ्नो प्रतिबद्धतामा अडिग छ । शुभचिन्तक र कार्यकर्ताहरूलाई कुनै पनि भ्रम वा अफवाहको पछि नलाग्न अनुरोध छ ।’ विज्ञप्तिमा आगामी २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार मन्धरा चिमोरिया पौड्याललाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित कार्यक्रममा एक जुट हुन आह्वान गरिएको छ । पार्टीले आम मतदाताहरूलाई कांग्रेसको चुनाव चिन्ह रूखमा मतदान गर्न र भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । सभापति भण्डारीले सबै निगतिविधिको पार्टीले शुक्ष्म मूल्यांकन गरेर रेकर्डमा राखिने बताउदै निर्वाचनको सम्बेदनशील घडीमा काँग्रेसका उम्मेदवारलाई प्रतिकुल असर पर्ने कुनै गतिबिधिबाटसचेत रहन समेत नेता कार्यकर्तालाई आग्रह गरेको छ । झापा- ५ मा नेकापा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह उम्मेदवार रहेका छन् ।

१५- चीनको सिचुआन प्रान्तमा एक वरिष्ठ अधिकारीले गरेको कथित भ्रष्टाचारको पर्दाफास गरेपछि दुई अनुसन्धान पत्रकारहरूलाई पक्राउ गरिएको छ । मानव अधिकार समूह र कार्यकर्ताहरूले पत्रकारको पक्राउप्रति चिन्ता व्यक्त गरेका छन् । अधिकार समूहहरूले स्वतन्त्र पत्रकार लिउ हु र वू यिंगजियाओलाई उनीहरूको अनुसन्धान रिपोर्ट प्रकाशित भएपछि आइतबार प्रहरीले हिरासतमा लिएको बताएका छन् । आलोचकहरूले लामो समयदेखि चीनमा मिडिया दमनको बारेमा चिन्ता व्यक्त गर्दै आएका छन् । चेङ्दु प्रहरीले लिउ र वू थर भएका दुई पुरुषहरू झूटा आरोप र अवैध व्यावसायिक गतिविधिहरूको लागि अनुसन्धानमा रहेको बताएको स्थानीय मिडियामा उल्लेख छ । पक्राउ परेका व्यक्तिहरूमध्ये एक ५० वर्षका र अर्का ३४ वर्षका भएको बताइएको छ । लिउ चीनका एक प्रसिद्ध अनुसन्धान पत्रकार हुन् । उनलाई पहिले २०१३ मा एक उच्च पदस्थ अधिकारीलाई भ्रष्टाचारको आरोप लगाएपछि मानहानीको आशंकामा पक्राउ गरिएको थियो । यद्यपि, २०१४ मा रिहा भएपछि, लिउले आफ्नो अनुसन्धान पत्रकारिता जारी राखे र सामाजिक सञ्जालमा आफ्ना रिपोर्टहरू प्रकाशित गरिरहेका थिए ।

१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १४ हजार ४ सयले बढेर तोलाको ३ ख ४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २६५ रुपैयाँले बढेर तोलाको ५६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५३३५ मा कारोबार भएको थियो ।

१७- नेपाल क्रिकेट संह (क्यान) ले दुई दिवसीय प्रतियोगिता जय ट्रफीको खेल तालिका सार्बजनिक गरेको छ । गत बर्षको प्रधानमन्त्री कपको शीर्ष ४ टोलीले प्रतिस्पर्धा गर्ने जय ट्रफी फागुन ८ देखि १९ सम्म काठमाडौंको टियू र मुलपानी मैदानमा आयोजना गर्ने क्यानले जानकारी दिएको छ ।  तीन विभागीयसँगै स्थानीय बागमती प्रदेश यसपटक प्रतियोगितामा छनोट भएका छन् । जसमा विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र बागमती प्रदेश खेल्दैछन् । प्रतियोगिता अन्तर्गत फागुन ८ र ९ मा टियु क्रिकेट मैदानमा आर्मी र पुलिस क्लब खेल्ने छन् भने मुलपानी मैदानमा एपीएफ र बागमती खेल्ने छन् । त्यसैगरी फागुन ११ र १२ मा टियु क्रिकेट मैदानमा एपीएफ र नेपाल पुलिस क्लब खेल्ने छन् भने सोहि दिन मुलपानी मैदानमा बागमती र आर्मी खेल्ने तालिका छन् । त्यसैगरी फागुन १४ र १५ मा पुलिस क्लब र बागमती प्रदेश टियु मैदानमा तथा आर्मी र एपीएफ मुलपानी मैदानमा खेल्ने तालिका रहेको छ । यी खेलपछि शिर्ष दुई स्थानमा रहेने टिमबीच फाइनल खेल फागुन १७, १८ र १९  मा हुने क्यानले जनाएको छ । फाइनल खेल टियु क्रिकेट मैदानमा हुने छ भने सबै खेल बिहान साढे ९ बजे देखि शुरु हुने क्यानले जनाएको छ । गत सिजनको जय ट्रफी नेपाल पुलिस क्लबले जितेको थियो । पुलिस क्लबले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।

images

१८- अमेरिकाले अरब सागरमा एक इरानी ड्रोनलाई आक्रामक रूपमा अमेरिकी विमान वाहक नजिक आउँदै गर्दा खसालिएको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, अमेरिकी अब्राहम लिंकन युद्धपोतबाट उडान गरिरहेको एफ ३५ सी स्टिल्थ लडाकु जेटले वाहक र यसका कर्मचारीहरूलाई बचाउन आत्मरक्षामा ड्रोनलाई खसालेको थियो । ड्रोन इरानी तटबाट लगभग ५०० माइल टाढा पुग्दा यो नजिक आएको थियो र ड्रोनको मनसाय स्पष्ट नभएको अमेरिकी सेनाले जनाएको छ । घटनामा कुनै पनि अमेरिकी उपकरणलाई क्षति नपुगेको र कुनै पनि सेवा सदस्य घाइते नभएको बताइएको छ । यो घटना त्यस्तो समयमा भएको हो,  जब अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ र इरानसँगको तनाव उच्च छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक सम्झौतामा वार्ता नगरेमा सैन्य कारबाही गर्ने धम्की दिदै आएका छन् । इरानी ड्रोन खसालेपछि, ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिका र इरानबीच यस हप्ताको अन्त्यमा वार्ता हुने तय भएको बताएकी छन् ।

images

१९- लिबियाका पूर्व तानाशाह मुअम्मर गद्दाफीका छोरा र एक समय सत्ताका उत्तराधिकारी मानिने सैफ अल इस्लाम गद्दाफीको मृत्यु भएको छ । उनी ५३ वर्षका थिए । लिबियाली अधिकारीहरूले पश्चिमी लिबियाको जिन्टान शहरमा उनको गोली हानेर हत्या भएको दाबि गरिएको छ । यो घटनाले देशको अस्थिर सुरक्षा अवस्था र लामो समयदेखि चलिरहेको राजनीतिक द्वन्द्वलाई फेरि एक पटक चर्चामा ल्याएको छ । पश्चिमी लिबियाका दुई सुरक्षा अधिकारीहरूका अनुसार, राजधानी त्रिपोलीबाट लगभग १३६ किलोमिटर दक्षिणपश्चिममा अवस्थित जिन्टान शहरमा सैफ अल इस्लामको मृत्यु भएको बताइएको छ । सैफ अल इस्लामका वकिल, खालेद अल जैदीले फेसबुक पोस्टमा उनको मृत्युको पुष्टि गरेका छन्, तर कुनै विवरण साझा गरेका छैनन् । यसैबीच, संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको राजनीतिक वार्तामा सैफ अल इस्लामको प्रतिनिधित्व गर्ने अब्दुल्लाह ओथमान अब्दुर्रहिमले पनि फेसबुकमा उनको मृत्युको घोषणा गरेका छन् । लिबियाली समाचार आउटलेट फवासेल मिडियाले अब्दुर्रहिमलाई उद्धृत गर्दै सशस्त्र व्यक्तिहरूले सैफ अल इस्लामलाई उनको घरमा हत्या गरेको उल्लेख गरेको छ । रिपोर्ट अनुसार, अभियोजन एजेन्सीहरूले मुद्दाको अनुसन्धान गरिरहेको बताइएको छ । सैफ अल इस्लाम गद्दाफी लामो समयदेखि लिबियाली राजनीति र गृहयुद्धमा एक विवादास्पद व्यक्तित्व हुन् । उनको मृत्युले फेरि एक पटक देशको सुरक्षा अवस्था र राजनीतिक स्थिरतामाथि धेरै प्रश्नहरू उठाएको छ ।

२०- यस वर्ष केही क्रिकेट नियमहरू परिवर्तन हुने तय भएको छ, जसको सबैभन्दा ठूलो प्रभाव बहुदिवसीय खेलहरूमा पर्नेछ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ७३ नियमहरू संशोधन गरेको छ, तर सबैभन्दा बढी चर्चा गरिएको नियम बहुदिवसीय खेलहरूको लागि रहेको छ । अहिलेसम्म, दिनको अन्तिम ओभरमा विकेट खसेमा प्रायः खेल रोकिने गरेको थियो तर अब यो अवस्थामा पनि सम्पूर्ण ओभर खेल्न अनिवार्य गरिएको छ । नयाँ नियमहरू यस वर्ष अक्टोबरदेखि लागू हुनेछन् । एमसीसीले २०२२ पछि पहिलो पटक जारी गरेको क्रिकेट कानूनको नयाँ प्रतिलिपिले नियमहरूलाई आधुनिक खेलको लागि अझ सान्दर्भिक र समावेशी बनाउने लक्ष्य राखेको बताएको छ । एमसीसीले बहुदिवसीय खेलहरूमा दिनको अन्तिम ओभर अब सबै परिस्थितिहरूमा पूरा हुने बताएको छ । एमसीसीले यदि बलिङ टोलीले दिनको अन्तिम ओभरमा विकेट लिन्छ भने, ब्याटिङ टोलीले नयाँ ब्याट्सम्यान पठाउनु पर्दैन भन्ने कुरा अनुचित मानिन्छ । उनीहरूले यसले समय बचत गर्दैन, किनकि बाँकी बलहरू भोलिपल्ट पूरा गर्नुपर्छ । यसबाहेक, यसले खेलको उत्साह कम गर्छ । नयाँ ब्याट्सम्यानलाई कठिन परिस्थितिबाट बचाइन्छ, किनकि त्यस समयमा अवस्था सामान्यतया बलरहरूको लागि अनुकूल हुन्छ । के के नियम परिवर्तन गरिए – एमसीसीले वर्तमान र पूर्व महिला खेलाडीहरूसँग परामर्श गर्दै जुनियर र महिला क्रिकेटमा प्रयोग हुने बलहरूको लागि नयाँ मापदण्ड र पदनामहरू पनि स्थापित गरेको छ । – एमसीसीका अनुसार, बलहरूलाई अब आकार १, आकार २ र आकार ३ मा वर्गीकृत गरिएको छ । आकार १ (परम्परागत पुरुष बल) अपरिवर्तित रहेको छ, तर तीनै वर्गका लागि मापदण्डहरू अब समान बनाइएको छ । – एमसीसीले लागत घटाउन खुला उमेरको क्रिकेटमा लेमिनेटेड ब्याटहरूको प्रयोगलाई पनि अनुमोदन गरेको छ । पहिले, यस्ता ब्याटहरूलाई जुनियर क्रिकेटमा मात्र अनुमति दिइएको थियो । – विकेटकिपरहरू सम्बन्धी नियमहरू पनि परिवर्तन गरिएको छ । अब, यदि विकेटकिपर बल फ्याँक्नु अघि स्टम्पमा वा बाहिर उभिरहेको छ भने, यसलाई नोबल मानिने छैन ।  – सीमा रेखा नजिकै लिइएका क्याचहरूको लागि बनी हप क्याच हटाइएको छ । अब, फिल्डरले सीमा बाहिर हुँदा बललाई हावामा एक पटक मात्र छुन सक्छ र त्यसपछि, तिनीहरू सीमा भित्र पूर्ण रूपमा जमिनमा हुनुपर्छ । – ओभरथ्रो नियमहरू स्पष्ट पारिएको छ, एमसीसीले पहिलो पटक ओभरथ्रोको स्पष्ट परिभाषा पनि प्रदान गरेको छ । यस अनुसार, रन रोक्न वा रनआउट गराउने प्रयासमा स्टम्पतिर फ्याँकिएको बललाई ओभरथ्रो मानिनेछ, जबकि बल रोक्न वा अन्य फिल्डरहरूलाई पास गर्ने गल्तीलाई ओभरथ्रो मानिने छैन । जानाजानी छोटो रनको अवस्थामा, फिल्डिङ टोलीलाई अब अर्को बलमा कुन ब्याट्सम्यान स्ट्राइकमा हुनेछ भनेर निर्णय गर्ने अधिकार हुनेछ ।

#Top20News #DailyBulletin #NepalNews #BreakingNews #NewsUpdate #Headlines #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages