

केशब पन्थी ,अर्घाखाँची डटकम।
अर्घाखाँची – जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा विद्यालय केन्द्रित नियमित एच.पि.भी. (Human Papillomavirus) खोप सम्बन्धी जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लामा सञ्चालन हुन लागेको एच.पि.भी. खोप अभियानलाई प्रभावकारी, सफल र जनमैत्री बनाउन सरोकारवाला निकायबीच समन्वय सुदृढ गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जग्गनाथ तिवारी, जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद पोखरेल, उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदीप मिश्र, गैरसरकारी महासंघ अर्घाखाँचीका अध्यक्ष ठाकुर प्रसाद अधिकारी लगायत जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विद्यालयका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले एच.पि.भी. खोप अभियानलाई सफल बनाउन सबै स्थानीय तह, शिक्षा क्षेत्र, स्वास्थ्य संस्था र सञ्चारमाध्यमबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले किशोरीहरूको दीर्घकालीन स्वास्थ्य सुरक्षाका लागि एच.पि.भी. खोप अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै अभिभावक र समुदायमा फैलिन सक्ने भ्रम चिर्न सञ्चारकर्मीहरूको भूमिका निर्णायक हुने धारणा राख्नुभयो ।

सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले एच.पि.भी. खोप क्यान्सर जस्ता गम्भीर रोगको रोकथामका लागि प्रभावकारी माध्यम भएको बताउँदै स्थानीय तहको तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यालय केन्द्रित खोप कार्यक्रम भएकाले विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकबीच समयमै समन्वय गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।


प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले खोप अभियान राष्ट्रिय स्वास्थ्य प्राथमिकताभित्र पर्ने भएकाले प्रशासनको तर्फबाट आवश्यक सहजीकरण गरिने जानकारी दिनुभयो ।

उहाँले खोपसम्बन्धी गलत सूचना फैलिन नदिन सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिँदै शान्तिपूर्ण र व्यवस्थित रूपमा अभियान सञ्चालन गर्न प्रशासन तयार रहेको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद पोखरेलले कार्यक्रममा खोप अभियानको समग्र उद्देश्य, लक्ष्य समूह, कार्यतालिका र कार्यान्वयन प्रक्रिया बारे विस्तृत जानकारी गराउनुभयो । उहाँका अनुसार अर्घाखाँची जिल्लामा एच.पि.भी. खोप अभियान माघ २७ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

अभियान अन्तर्गत विद्यालय अध्ययनरत लक्षित उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गरिनेछ । खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मी, शिक्षक, जनप्रतिनिधि, सञ्चारकर्मी तथा समुदायको सक्रिय भूमिका अपरिहार्य रहने उहाँको भनाइ थियो ।

कार्यक्रममा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जग्गनाथ तिवारीले एच.पि.भी. खोपको महत्व, प्रभावकारिता, सुरक्षा र सम्भावित भ्रमहरू बारे वैज्ञानिक र व्यवहारिक जानकारी प्रस्तुत गर्नुभयो ।

उहाँले एच.पि.भी. भाइरस महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एक भएको उल्लेख गर्दै समयमै खोप लगाउँदा भविष्यमा क्यान्सर जस्ता घातक रोगबाट जोगिन सकिने स्पष्ट पार्नुभयो । खोप पूर्ण रूपमा सुरक्षित रहेको र यसबाट गम्भीर साइड इफेक्ट नदेखिएको तथ्यसमेत उहाँले प्रस्तुत गर्नुभयो ।


उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदीप मिश्र र गैरसरकारी महासंघ अर्घाखाँचीका अध्यक्ष ठाकुर प्रसाद अधिकारीले आ–आफ्नो धारणा राख्दै खोप अभियानमा निजी क्षेत्र र गैरसरकारी संस्थाहरूले पनि सहयोग र सहकार्य गर्न तयार रहेको बताएका थिए । उनीहरूले समुदाय स्तरमा जनचेतना फैलाउन आफूहरू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले खोप अभियान सफल बनाउन सञ्चारमाध्यमले खेल्न सक्ने भूमिकाबारे सुझाव दिएका थिए । सही सूचना प्रवाह, अफवाहको खण्डन, अभिभावक र विद्यार्थीमा विश्वास जगाउने समाचार सम्प्रेषणमा सञ्चारकर्मीले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रमको समापन गर्दै आयोजक जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले एच.पि.भी. खोप अभियानलाई सफल बनाउन सबै सरोकारवालाको निरन्तर समन्वय, सहकार्य र सक्रिय सहभागिता आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

आगामी दिनमा पनि यस्ता समन्वयात्मक कार्यक्रममार्फत जिल्लाको समग्र स्वास्थ्य सूचक सुधारतर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
#ArghakhanchiHealth #HPVVaccine #SchoolProgram #HealthAwareness #DistrictHealthOffice #InteractionProgram #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



