

बुटवल । नेकपा एमालले रुकुम पूर्वमा आफ्नो उम्मेदवार कायम नै राखेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग गत माघ ११ गते भएको सहमतिलाई संसोधन गर्दै यस क्षेत्रमा आफ्नो उम्मेदवार कायमै राखेको हो ।

त्यस्तै नयाँ सहमति अनुसार रुकुम पूर्वमा प्रलोपाका उम्मेदवारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
यसअघि भएको सहमति अनुसार एमालेले रुकुम पश्चिममा प्रलोपाकै जनार्दन शर्मा र पूर्वमा सन्दीप पुनलाई समर्थन गर्ने सहमति गरेको थियो । तर, नयाँ समहमति गर्दै पुनलाई दिएको समर्थन फिर्ता लिएको हो ।

नयाँ सहमतिमा प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेद्वार जनार्दन शर्माको पक्षमा नेकपा (एमाले) द्वारा मतदान गर्ने सहमति यथावत् कायम राखिएको छ भने उक्त सहमतिबाट पूर्व रुकुमका उम्मेद्वार संदीप पुनको नाम हटाइएको छ । त्यस्तै कर्णाली प्रदेशका हुम्ला, जुम्ला र मुगु बाहेकका जिल्लाहरु र पुरानो राप्ती अञ्चलका जिल्लाहरुमा नेकपा (एमाले) का उम्मेद्वारहरुको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा मतदान गर्ने सहमति कायम राखिएको छ । त्यसैगरी दुवै पार्टीहरुले उपरोक्त नयाँ सहमति कार्यान्वयन गर्न आ-आफ्नो आन्तरिक पंक्तिलाई पुनः निर्देशन गर्ने सहमति भएको छ ।

नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।
रुकुमपूर्वमा एमालेका लिलामणि गौतम उम्मेदवार छन् । त्यस्तै यस क्षेत्रमा नेकाप संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेका छन् भने कांग्रेसबाट कुसुमदेवी थापा र रास्वपाबाट लखनकुमार थापालगायत चुनावी मैदानमा रहेका छन् ।
#RukumEast #UMLNepal #NepalPolitics #ElectionUpdate #BreakingNews #PoliticalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



