

केशब पन्थी ,अर्घाखाँची डटकम।
अर्घाखाँची – अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित नियमित एच.पि.भी. (Human Papillomavirus) खोप सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

छत्रदेव गाउँपालिकामा सञ्चालन हुन लागेको एच.पि.भी. खोप अभियानलाई प्रभावकारी, व्यवस्थित र सफल बनाउन सरोकारवाला निकायबीच आवश्यक समन्वय सुदृढ गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रममा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल लगायत पालिकास्थित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षक,अभिभावक प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले एच.पि.भी. खोप किशोरीहरूको दीर्घकालीन स्वास्थ्य सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सर जस्तो घातक रोगबाट भविष्यमा बच्न समयमै खोप लगाउनु आवश्यक रहेको उल्लेख गर्दै खोप अभियानलाई सफल बनाउन गाउँपालिकाको तर्फबाट आवश्यक सबै सहयोग र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष श्रेष्ठले अभिभावक, विद्यालय प्रशासन र स्वास्थ्यकर्मीबीच घनिष्ठ समन्वय हुनुपर्नेमा विशेष जोड दिनुभयो ।


उपाध्यक्ष मनि पन्थीले किशोरी स्वास्थ्य, महिला सशक्तिकरण र रोग रोकथामका सवालमा एच.पि.भी. खोपको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले खोप सम्बन्धी कुनै पनि भ्रम र डरलाई हटाउन समुदायस्तरमा सचेतना फैलाउनु अपरिहार्य रहेको उल्लेख गर्दै महिला समूह, आमा समूह र महिला स्वास्थ्य स्वयंसेविकालाई सक्रिय बनाउनुपर्ने धारणा राख्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले एच.पि.भी. खोप अभियान राष्ट्रिय प्राथमिकताको कार्यक्रम भएकाले पालिकाको प्रशासनिक संयन्त्र पूर्ण रूपमा परिचालन गरिने जानकारी दिनुभयो । उहाँले खोप कार्यक्रम विद्यालय केन्द्रित भएकाले विद्यालय समयतालिका, विद्यार्थी विवरण संकलन र खोप केन्द्र व्यवस्थापनमा कुनै कमजोरी हुन नदिइने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले एच.पि.भी. खोपको बारेमा विस्तृत प्राविधिक जानकारी गराउनुभयो । उहाँले एच.पि.भी. भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण भएको उल्लेख गर्दै किशोरी उमेरमै खोप लगाउँदा भविष्यमा यसबाट जोगिन सकिने जानकारी दिनुभयो । खोप सुरक्षित, प्रभावकारी र वैज्ञानिक रूपमा प्रमाणित रहेको भन्दै खोपपछि देखिन सक्ने सामान्य असर र त्यसको व्यवस्थापनबारे पनि जानकारी गराउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख न्यौपानेका अनुसार अर्घाखाँची जिल्लामा एच.पि.भी. खोप अभियान माघ २७ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने छ । सोही कार्यक्रम अन्तर्गत छत्रदेव गाउँपालिकामा माघ २७ गतेदेखि नै खोप अभियान सुरु हुने छ । अभियान अन्तर्गत लक्षित विद्यालयमा अध्ययनरत तोकिएको उमेर समूहका किशोरीहरूलाई निःशुल्क खोप प्रदान गरिने छ ।


अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यालय प्रतिनिधि र सरोकारवालाहरूले खोप अभियान सफल बनाउन विद्यालयस्तरमा अभिभावकसँग पूर्व जानकारी साझा गर्ने, विद्यार्थी उपस्थितिको सुनिश्चितता गर्ने र खोप दिन सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सही सूचना प्रवाह गरी गलत सूचना र अफवाह रोक्नुपर्नेमा समेत जोड दिइएको थियो ।

कार्यक्रमको समापन गर्दै आयोजक छत्रदेव गाउँपालिका स्वास्थ्य शाखाले एच.पि.भी. खोप अभियानलाई सफल बनाउन सबै पक्षको समन्वय, सहकार्य र सक्रिय भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । आगामी दिनमा पनि यस्ता समन्वयात्मक कार्यक्रममार्फत पालिकाभित्रको समग्र स्वास्थ्य अवस्था सुधारतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
#ChhatradevGaunpalika #HPVVaccine #SchoolHealthProgram #HealthInitiative #ImmunizationNepal #PublicHealth #CommunityInteraction #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



