

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक काठमाडौँ- ४ पनि रहेको छ । काँग्रेस सभापति गगन थापा लगातार तीन पटक निर्वाचित भएको यस क्षेत्रमा यस पटक उनी उम्मेदवार नभए पनि यो क्षेत्र चर्चामा रहेको छ ।

काठमाडौँ ४ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर १, ७, ८ र ३० रहेका छन् भने बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ रहेका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौँ- ४ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ७६ हजार १४१ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा ८८ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा काँग्रेसका गगन थापाले २१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका थिए । त्यस्तै नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रमा राप्रपाका डा. ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत प्राप्त गरेका थिए ।
त्यसैगरी २०७९ को समानुपातिकतर्फ यस क्षेत्रबाट काँग्रेसले ११ हजार ८०८ मत प्राप्त गरेको थियो भने नेकपा एमालेले १० हजार ५६० मत पाएको थियो । त्यसैगरी रास्वपाले ९ हजार ४१२ मत पाएको थियो भने राप्रपाले ६ हजार ८८१ मत प्राप्त गरेको थियो ।
उम्मेदवार- २०८२
यस निर्वाचनमा काठमाडौँ- ४ मा राजनीतिक दल र स्वतन्त्र गरेर २८ उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट गगन थापा उम्मेदवार बनेका छैनन् । उनले लगातार तीन पटक यस क्षेत्रबाट चुनाव जितेपछि यस पटक काँग्रेसको सभापति बनेसँगै उनले सर्लाही-४ बाट उम्मेदवार बनेका छन् । यस पटक काँग्रेसले यस क्षेत्रमा युवा सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ । त्यस्तै एमालेबाट राजन भट्टराई फेरी उम्मेदवार बनेका छन् । यस पटक उनी उम्मेदवार नबन्ने बताइरहेका बेला अन्तिम समयमा गगन थापा उम्मेदवार नबनेपछि उनी उम्मेदवार बनेका थिए । त्यस्तै रास्वपाले यस क्षेत्रमा पुकार बमलाई उम्मेदवार बनाएको छ । उनी अघिल्लो निर्वाचनमा काठमाडौँ-१ मा उम्मेदवार बनेर पराजित भएका थिए । त्यसैगरी नेकपाले यस क्षेत्रमा इन्द्र कुमार भुसाल उम्मेदार बनेका छन् भने राप्रपाबाट सुरेन्द्र राज भण्डारी उम्मेदवार बनेका छन् ।
निष्कर्ष:
गगन थापाले छोडेपनि यो क्षेत्र उनको क्षेत्रकै रुपमा परिचित छ । काँग्रेसले उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको हुनाले उनका लागि पनि काठमाडौँ-४ जित्न जरुरी रहेको छ । त्यसैले पनि गगनले आफु निकट युवा सचिन तिमल्सेनालाई उम्मेदवार बनाएका छन् । सचिन नयाँ उम्मेदवार भएपनि यस क्षेत्रकै हुनाले र गगन थापाका विश्वासपात्र रहेकाले उनलाई सहज नै देखिन्छ । अब उनले मतदातासँग कसरी आफ्ना कुरा राख्छन भन्नेमा भरपर्ने छ ।
त्यस्तै काठमाडौँ- ४ मा एमाले २०५६ यता जित्न सकेको छैन । राजन भट्टराई यसअघि दुई पटक गगन थापासँग पराजित भएका थिए । अब यस पटक फेरी उम्मेदवार बनेका राजनप्रति मतदाताको केहि हदसम्म सहानुभूति भएपनि अहिले देशभर समग्र एमालेविरुद्ध माहोल रहेकाले यसको असर उनलाई हुने देखिन्छ ।

अर्कोतर्फ रास्वपा पुकार बम अन्तिम समयमा यस क्षेत्रमा आएका छन् । उनी यसअघि नै काठमाडौँ-१ बाट उम्मेदवार बन्ने तयारी समेत गरेका थिए । पुकार युवा र अध्ययनशील उम्मेदवार भएपनि यो क्षेत्र पनि उनका लागि चुनौतीपूर्ण देखिन्छ । काँग्रेस र एमालेको टक्करका बीच उनले चुनाव जित्ने तहको फाइदा उठाउन या मतदाताको मन जित्न सक्छन् सक्दैनन् त्यो हेर्न बाँकी छ । अघिल्लो निर्वाचनको समानुपातिक मतको आधारमा हेर्ने हो भने काँग्रेसको ११, एमालेको १० र रास्वपाको ९ हजार मत थियो । अघिल्लो चुनावमा रास्वपाप्रति काठमाडौँमा विशेष आकर्षण थियो र यस पटक त्यो आकर्षण बाहिर देखिएको छैन । अर्कोशब्दमा भन्दा यस पटक काठमाडौँको मतदाता अहिलेसम्म साइलेन्टनै देखिएको छ, जुन पुकारका लागि चुनौती हुने देखिन्छ ।
#Kathmandu4 #ElectionNepal #ChunabiGanit #RajanVsSachinVsPukar #NepalPolitics #PoliticalUpdate #NepalElection2025 #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



