मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु

 

वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक शुरु भएको छ ।

नेपाल स्की सङ्घको आयोजनामा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सञ्चालन हुने भएको हो । स्की खेलको विकास, प्रवद्र्धन तथा हिमाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल स्की सङ्घले सन् २०१६ देखि राष्ट्रिय स्तरको स्की प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो संस्करण रसुवाको क्यान्जेन भ्यालीमा भएको थियो भने त्यसपछिका संस्करणहरू मुस्ताङको मुक्तिनाथ क्षेत्रमै सम्पन्न हुँदै आएका छन् । यसअघि सन् २०१९, २०२० र २०२२ मा मुक्तिनाथमा सफलतापूर्वक प्रतियोगिता भएका थिए । मौसमको अवस्था हेरेर अन्तिम तालिका तय गरिने बताइएको छ ।

यस पटकको प्रतियोगितामा १४ पुरुष र १० महिला खेलाडी सहभागी हुनेछन् । मुस्ताङबाट नेपाली सेनाका केही खेलाडी पनि सहभागी हुने आयोजकले जनाएका छन् । सिनियर प्रशिक्षक स्वराज श्रेष्ठ, सहायक प्रशिक्षकहरू दिनेश बोहरा, समिप लामिछाने, लक्ष्मी राई, आयुसी महर्जन तथा शारीरिक प्रशिक्षक विमान्थ अधिकारीले खेलाडीहरूलाई तालिम दिनुहुनेछ ।प्रतियोगितामा अल्पाइन स्कीअन्तर्गत स्लालोम र जायन्ट स्लालोम विधा समावेश गरिएको छ । विजेतालाई स्वर्ण, रजत तथा कास्य पदकसहित पुरस्कृत गरिनेछ । सन् २०२२ पछि आयोजना हुन नसकेको यो प्रतियोगिता यस वर्ष मुक्तिनाथ क्षेत्रमा चार पटक हिमपात भएपछि सम्भव भएको हो । नेपालमा कृत्रिम हिउँको अभावमा प्राकृतिक हिउँ परेको मौसममा मात्र स्की प्रतियोगिता सञ्चालन गर्न सकिने सङ्घले जनाएको छ । प्रशिक्षक श्रेष्ठले अहिलेको अभ्यासबाटै ओलम्पिक लगायतका स्की प्रतियोगितामा सहजता आउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई दिनको प्रशिक्षण र एक दिनको प्रतियोगिता भइरहेको छ । जुनियर र सिनियर हुन्छ । बच्चादेखि नै स्की खेल्न सिकायो भने ठूलो भएर ओलम्पिकमा सहज हुन्छ । ब्यालेन्स गर्न सिक्छ । १३ देखि १५ वर्षका बालबालिकालाई सिकाइरहेका छौँ । स्की कण्डिसन मिलाएर खेल्ने खेल हो ।’
त्यस्तै नेपाल स्की संघका सदस्य अर्जुन महर्जनले सडकहरु राम्रो भए स्कीको प्रशिक्षणमा प्रशिक्षार्थीहरु लैजान सहज हुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सडक अलि राम्रो भयो भने एकदिनमै पुगिन्छ । केही सहज हुनेछ । स्की संघले हिउँ बिना स्की गर्न सक्दैन । हिउँ परेको बेलामा तातेर हामी त्यसमै रमाएर गर्ने हो । हिउँ बढी नै प¥यो भने सात, आठ दिन पनि हुन्छ । परेन भने एक दुई दिन ।’

मुक्तिनाथ क्षेत्रमा स्की खेलको रौनक शुरु भएसँगै पर्यटक तथा स्थानीयवासीमा उत्साह छाएको छ । यसले बेमौसम पर्यटन प्रवद्र्धन गरी हिउँदयामको पर्यटन घाटा कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सरोकारवालाहरूले यस्ता शाहसिक खेललाई राज्यबाट उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

#Muktinath #SkiTraining #AdventureNepal #TourismDevelopment #MountainSports #VisitNepal #TravelNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages