

काठमाडौँ । कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको छ ।

काठमाडौँ महानगरका अनुसार कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम ३ करोड ५८ लाख ८७ हजार ५२ रुपियाँ हो । यसको लागत अनुमान ४ करोड ६ लाख ८१ हजार ८० रुपियाँ गरिएको थियो । यो रकम भ्याट र पीएससहितको हो । काम २०८१ असोज १९ गतेबाट सुरु भएको हो । गएको मंसिर १५ गते कार्य सम्पन्न हुनु पर्ने मिति थियो । अहिले यसको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको छ ।

कमलपोखरीको निर्माणको महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अनुगमन गर्दै सीसीटिभी क्यामरा जडान गर्न, वातावरण व्यवस्थापन विभागलाई सरसफाइ र स्वच्छता कायम गराउन, उद्यान तथा हरियाली प्रवर्धन आयोजनालाई विरुवा तथा फूल रोपेर सुन्दर बनाउन निर्देशन दिएकी छन् ।

सो अवसरमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई र इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले ड्रइङ् डिजाइनमा उल्लेख भएका विषय र कार्यान्वयन अवस्थाको प्राविधिक पक्षका बारेमा जानकारी गराएका थिए । दोस्रो चरणको कामअन्तर्गत साविकमा प्रहरी बिट रहेको करिब ५ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । सिमाना पर्खालबाहिर टयाक्टिकल अर्वनिजमअन्तर्गत फल्चा शैलीमा परम्परागत बस बिसौनी बनाउने, पैदल यात्रीका लागि बसेर पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ बनाउने, विरुवा रोप्ने, फूल रोप्ने, सानो पार्क बनाउने काम भएको छ ।

कमलपोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । परम्परागत, सांस्कृतिक र पर्यटकीय पोखरीका रुपमा विकास गर्ने गुरुयोजना अनुरुप कमलपोखरी पुनःनिर्माण गरिएको हो । गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएको छ ।

कमल पोखरीको वरिपरि पैदल मार्ग छ । चिल्ड्रेन पार्क, मकराकृतिका ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, खुला व्यायामशाला, उद्यान कमलपोखरीका विशेषता हुन् ।

पोखरीका चार ओटा हरेक कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप छन् । पूर्वतिर मुलढोकासँगै एउटा ठुलोसहित पोखरी वरिपरि ५ वटा मण्डप छन् । पोखरी छिर्ने गेटलाई परम्परागत नेपाली शैलीको छ । पोखरी निर्माण गर्दा नेपाली इट्टा र दर्शन ढुङ्गा प्रयोग गरिएको छ ।
#KamalPokhari #ReconstructionProject #UrbanDevelopment #KathmanduUpdates #HeritageRestoration #NepalNews #CityDevelopment #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



