अभिनेता सुनिल थापाको निधन, नेपाली चलचित्र उद्योग शोकमा

 

वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ ।

Single Image

हृदयाघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाकाअनुसार स्वास्थ्यमा समस्या देखिएपछि थापालाई नर्भिक अस्पताल लगिएको थियो । शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आउनुर्भको थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय हुनुहुन्थ्यो । उहाँ हाल नेपाली चलचित्र राम नाम सत्यको छायाँकनमा व्यस्त हुनुहुन्थ्यो । नेपाली चलचित्रमा ‘खलनायक’ भुमिकालाई नायक सरहको चर्चा र सम्मान दिलाउन सफल उहाँ ‘राते काइँला’ नामले विशेष रूपमा परिचित हुनुहुन्थ्यो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापा मिलनसार, अनुशासित र सबैलाई सम्मान गर्ने स्थापित कलाकार भएको बताउनु भयो ।

नेपालको चलचित्र क्षेत्रमा उहाँको योगदान उल्लेखनीय रहेको अध्यक्ष निरौलाले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँ मिलनसार, सबैलाई ईज्जत गर्ने र अनुशासनमा बस्ने कलाकार हुनुहुन्थ्यो । एउटा असल व्यक्तित्व हुुनुहुन्थ्यो, नेपालका लागी स्थापित कलाकार ।’ 
निर्देशक तथा अभिनेता प्रशान्त ताम्राकारले थापाको निधनले नेपाली चलचित्र उद्योगलाई ठूलो क्षति पुगेको बताउनु भयो । उहाँले आफ्नो चलचित्र यात्रामा सुनिल थापाको ठूलो सहयोग र योगदान रहेको बताउनु भयो । उहाँले शुक्रवार मात्रै थापासँगै आफूले रामनाम सत्य नामक चलचित्रको छायाँकन गरेको बताउनु भयो । उक्त चलचित्रको बाँकी कामको लागि दैलेख जाने योजना भएपनि अब अधरो रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो चलचित्र उद्योगमा हुनु नै सुनिल दाईको ठुलो देन छ । उहाँको सहयोग नभएको भए म यो उद्योगमा हुने नै थिईन होला ।’ 

निर्माता दीपक कोईरालाले थापालाई आफ्ना अभिभावकसरह व्यक्तित्वका रूपमा स्मरण गर्नुहुँदै उहाँको निधनले आफूलाई गहिरो पीडा पुगेको बताउनु भयो । स्वर्गिय थापाले आफूलाई धेरै सहयोग र मार्गनिर्देशन गर्ने गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘मेरो त उहाँ अभिभावन नै हो ।’ 

थापाका परिवारका सदस्यहरू भारतको मुम्बईमा बसोवास गर्दै आएका छन् । थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । परिवारका सदस्य काठमाडौं आएपछि अन्तिम संस्कार गर्ने जनाईएको छ । हाल नर्भिक अस्पतालमा कलाकारहरुको बाक्लो उपस्थिति रहेको छ । बरिष्ठ कलाकार नीर शाह, निर्माता तुलसी घिमिरे, कलाकार विल्सनविक्रम राई लगायतका कलाकारहरु थापाको निधनको खबरपछि नर्भिक अस्पताल पुग्नुभएको हो ।

#SunilThapa #NepaliCinema #FilmIndustry #Tribute #RIPSunilThapa #NepalEntertainment #CinemaNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages