

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विचार र सिद्धान्तविहीन ‘लोकप्रियतावाद’ले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २६ दलको एकता र नयाँ निर्वाचन चिह्न ‘तारा’ सहित आफ्नो पार्टी राष्ट्रिय सङ्कट सामना गर्न तयार रहेको उद्घोष गर्नुभएको हो ।

दाहालले सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र लोकप्रियतावादको आलोचना गर्नुभयो । उहाँले विचार, राजनीति र इतिहास नभए पनि सामाजिक सञ्जालमा फण्डा गरेकै भरमा लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने कोशिस भइरहेको बताउनु भयो । यो अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेल र साम्राज्यवादले फैलाएको लोकप्रियतावादको नेपाली संस्करण मात्र भएको उहाँको टिप्पणी छ ।


उहाँले गणतन्त्र, सङ्घीयता र उत्पीडित वर्गको अधिकारका लागि लड्ने आफ्नो पार्टी नै सबैभन्दा ‘नयाँ’ विचार बोकेको शक्ति भएको दाबी गर्नुभयो । अध्यक्ष दाहालले ‘जेन–जी’ आन्दोलन र त्यसबाट उत्पन्न विशेष परिस्थितिलाई सम्बोधन गर्न देशमा एक बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औँल्याउनु भयो । सोही आवश्यकता पूर्ति गर्न वामपन्थी, समाजवादी र देशभक्तहरूलाई एकतावद्ध गर्दै २६ वटा साना–ठूला पार्टीहरूको एकताबाट ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्माण गरिएको उहाँको भनाइ छ । उहाँले आजको जटिल राजनीतिक अवस्थामा निर्वाचन नै जनतामा जाने र नयाँ जनअनुमोदित प्रतिनिधि सभाले नै युवाका मागहरू सम्बोधन गर्ने उत्तम माध्यम भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामी निर्वाचनको सङ्घारमा छौँ । यो निर्वाचन कसरी अगाडि बढ्छ भन्ने कुरामा राष्ट्रिय राजनीतिमा निकै धेरै तनाव र बहस भयो । सर्वदलीय सरकारका कुरा उठे, सर्वपक्षीय सरकारका कुरा उठे, संसद पुनस्थापनाका कुराहरू पनि उठे तर हामीले शुरुदेखि नै आजको जटिल राजनीतिक परिस्थितिमा चुनाव नै जनताको बिचमा जाने सबभन्दा राम्रो माध्यम हो र नयाँ जनअनुमोदित भएर आउने प्रतिनिधि सभाले नै जेन्जीका मागहरूलाई पनि सम्बोधन गर्नसक्छ भन्नेकुरामा हामी निरन्तर डटिनै रह्यौँ। यहाँसम्म आउँदा अब सिङ्गै राष्ट्र नै निर्वाचनमय भइ नै सकेको छ र नेपाली कम्युनिस्ट पार्टीको स्थिति पनि दिन प्रतिदिन सुदृढ हुँदै गएको छ । मलाई लाग्छ तपाईँहरू सबैले यो कुरा कहीँ न कहीँ महशुस गरिराख्नुभएकै होला । राष्ट्रिय एकताको शक्तिको रूपमा यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको पहिचान र अधिकारको वाहकको रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वाहकको रूपमा यो पार्टी फेरि एकचोटि जनताको आशा र भरोसाको केन्द्र हुँदै जान थालेको छ। बिचमा धेरै खालका बहसहरू भए। विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत भएपनि नभए पनि सोसल मिडियामा स्टन्ट गरेकै भरमा पपुलिजम एउटा लोकप्रियतावाद जसरी विश्वभरि नै साम्राज्यवादले विभिन्न देशमा लोकप्रियतावादलाई पपुलिजमलाई प्रस्तुत गर्ने र अनि लोकतन्त्रका विरुद्ध समाजवादका विरुद्ध प्रहार गर्ने गरेको छ । नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना इन्टरनेसनल जे फेनोमेना हो त्यसैलाई रिपिट गर्ने र यहाँ लोकतन्त्रमाथि प्रहार गर्ने अहिलेको भूराजनीतिक चलखेल जस्तो छ त्यसबाट यहाँ हस्तक्षेप गर्ने कोसिस भएको छ। त्यसको प्रतिवाद गर्नको लागि पनि हामीलाई एउटा नयाँ सङ्कल्प नयाँ समीक्षासहित फेरि राष्ट्रको निम्ति र जनताको निम्ति समर्पित रूपले लाग्ने तागत चाहिएको छ र हामीले त्यही तागत सृष्टि गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्दै अगाडि बढेका छौँ र मलाई खुसी छ कि अहिले देशैभरि बिस्तारै दिन प्रतिदिन यो पार्टीप्रति यसका नीतिहरू प्रति योजनाहरूप्रति हामीले विकास निर्माणका पक्षमा सुशासनका पक्षमा भ्रष्टाचारका विरुद्ध सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक विकास र समृद्धिको उत्पादन र रोजगारी सृष्टि गर्ने कुरामा हामीले जुन नीति योजना र कार्यक्रम अगाडि सारेका छौँ यो प्रति जनतामा फेरि एकचोटि आशा र भरोसा बढ्दै गएको छ ।’
अध्यक्ष दाहालले पार्टीको नयाँ चुनाव चिह्न ‘तारा’ बारे मतदातालाई स्पष्ट पार्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । सोसल मिडियालाई प्रचारको माध्यम बनाए पनि जनतासँगको प्रत्यक्ष भेटघाट र टोल–टोलको प्रचार नै बढी प्रभावकारी हुने उहाँको तर्क छ ।
#SocialMediaStunt #PopulismThreat #DemocracyNepal #CoordinatorDahal #PoliticalStatement #CurrentAffairs #NepalPolitics #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



