विगतका कमजोरी सच्याउँदै ‘नयाँ नेपाल’ निर्माण गर्छौंः संयोजक दाहाल

 

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने बताउनुभएको छ ।

Nepal life insurance

मंगलवार पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उहाँले विगतमा राजनीतिक दलहरूबाट भएका कमी–कमजोरीको समीक्षा गर्दै अब ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने बताउनुभएको हो । उहाँले राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्वीकार गर्नुभयो । विभिन्न २६ वटा वामपन्थी र समाजवादी घटकहरू मिलेर बनेको नयाँ शक्तिले २०८४ को सट्टा २०८२ सालमै हुनसक्ने निर्वाचनका लागि आफूलाई तयार पारेको दाहालको भनाइ छ । उहाँले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राज्य निर्माणमा विगतका सरकारहरू उदार पुँजीवादकै वरिपरि अल्झिएको टिप्पणी गर्दै अब ‘नेपाली विशेषताको समाजवाद’ को बाटो तय गरिने स्पष्ट पार्नुभयो ।

प्रतिवद्धता पत्रमा सुशासनलाई मुख्य प्राथमिकता दिँदै सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पती छानबिन गर्न ‘उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग’ र भ्रष्टाचार नियन्त्रणका लागि ‘शक्तिशाली लोकपाल’ गठन गर्ने प्रश्ताव गरिएको छ । साथै प्रशासनलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाउँदै ५ वर्षभित्र २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने लक्ष्य लिइएको बताउनु भयो । जेन–जी आन्दोलनले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्दै संविधान कार्यान्वयनको १० वर्ष पूरा भएको सन्दर्भमा यसको पुनरावलोकन र परिमार्जन गरिने बताउनु भयो । शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आवश्यक सुधार गरी राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मानलाई केन्द्रमा राख्ने पार्टीको मुख्य एजेण्डा रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सबैका राय सल्लाह र सुझावका आधारमा हाम्रो पार्टीले जुन उद्देश्यका साथ अगाडि जान खोजेको छ र यो राष्ट्रलाई एकताबद्ध गर्ने र राष्ट्रको अगाडि देखा परेको चुनौतीको सामना गर्ने अलिकति सुन्दा कतिपय महत्त्वकांक्षी जस्तो पनि लाग्न सक्छ तर हामीले विगतमा भएका कमी कमजोरीको समीक्षा सहित एउटा नयाँ संकल्प र दृढताका साथ नेपाललाई नयाँ बनाएरै छाड्ने संकल्प यो प्रतिबद्धता पत्रमा व्यक्त भएको छ। यसको डिजिटल कपी र प्रिन्टेड कपी पनि छिटै यहाँहरूको हातमा पर्नेछ। र मलाई विश्वास छ यहाँहरूले यसलाई राम्रोसँग जनताको बीचमा पुर्‍याउन मद्दत गर्नुहुनेछ र हाम्रो जो संकल्प गरेका छौँ हामीले। किनकि हामी साच्चै नै जेन्जी आन्दोलन पछि सबैभन्दा पहिला राजनीतिक पहलकदमी लिएर नेपाली कम्युनिस्ट पार्टी बनाउने पुरानो पार्टी भत्काएर नयाँ पार्टी बनाउने पहल गर्ने हामी नै भयौँ। त्यसकारण सबैभन्दा नयाँ पार्टी कुन हो भन्दा मैले भन्ने गर्या छु नेपाली कम्युनिस्ट पार्टी।’

आर्थिक रूपान्तरणका लागि आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने र बहुआयामिक गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्य राखिएको उहाँले बताउनु भया । प्रतिवर्ष १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र १० हजार मेगावाट थप विद्युत उत्पादन गरी अर्थतन्त्रलाई स्वाधीन र आत्मनिर्भर बनाउने संकल्प प्रतिवद्धता पत्रमा समेटिएको उहाँको भनाइ छ ।

#NewNepal #PrachandaStatement #NCPLeadership #PoliticalCommitment #NepalPolitics #DevelopmentVision #ProgressiveNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages

अन्य समाचारहरु