

नेपाली काँग्रेसले देशको विद्यमान राजनीतिक र सामाजिक चुनौतीहरूलाई सम्बोधन गर्दै आगामी पाँच वर्षलाई रूपान्तरणको अवधि बनाउने घोषणा गरेको छ ।
विगतका आन्दोलनहरूबाट प्रेरणा लिँदै र नयाँ पुस्ताको आवाजलाई आत्मसात गर्दै पार्टीले भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य बीमाको सुदृढीकरण र प्रशासनिक खर्च कटौतीलाई मुख्य एजेण्डा बनाएको छ ।
काँग्रेसका सभापति गगन थापाले पार्टीको गौरवमय इतिहासबाट प्रेरणा लिँदै आगामी ५ वर्षलाई नेपालको रूपान्तरणको वर्ष बनाउने उद्घोष गर्नुभएको हो । सिरहामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूहरू पुरानो इतिहासको जगमा उभिएको भएपनि नयाँ सोच र संकल्पका साथ अगाडि आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी २००७, २०१५, २०३६ र २०४६ का घटनाहरूबाट प्रेरणा लिन्छौँ, तर आजको कमजोरीलाई स्वीकार्दै नयाँ पुस्ताको कुरा सुनेर पार्टीलाई बदल्न तयार छौँ ।’
भ्रष्टाचारलाई नेपालको ‘महारोग’ संज्ञा दिँदै थापाले यसको अन्त्य माथिबाटै शुरु हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक जीवनमा बस्ने व्यक्ति मन्दिरको पुजारी जस्तै इमानदार हुनुपर्ने धारणा राख्नुभयो । आफ्नै परिवारको बारेमा मात्र सोच्ने प्रधानमन्त्री वा मन्त्री हुनु अपराध भएको बताउनु भयो ।
‘ढुकुटीको चाबी बोकेर बस्नेले एक रुपैयाँ पनि तलमाथि हुन दिनुहुँदैन । आफ्नै परिवारको बारेमा मात्र सोच्ने प्रधानमन्त्री वा मन्त्री हुनु अपराध हो ।’
आफ्नो स्वास्थ्य मन्त्रीको अनुभव सुनाउँदै उहाँले ‘चटक’ भन्दा पनि ‘सिस्टम’ मा विश्वास गर्ने बताउनु भयो । स्वास्थ्य बीमालाई प्रभावकारी बनाएर कुनैपनि नागरिकले उपचारको लागि घरखेत बेच्नु नपर्ने अवस्था सिर्जना गर्ने उहाँको सपना रहेको छ ।
‘बीमा कार्ड भएपछि नागरिकले उपचारको लागि २० लाख लागोस् कि ५० लाख, ढुक्क भएर अस्पताल जाने वातावरण हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।
मान्छेलाई उचाल्ने कुरा सबैभन्दा बढी सजिलो रहेको तर मिलाउने कुरा सबैभन्दा बढी गाह्रो भएको बताउनु भयो । काँग्रेस मिलाउने र सम्हाल्ने बाटोमा हिँड्न चाहेको पनि बताउनु भयो । कतार र मलेसिया जाने युवाहरूको बाध्यता अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्ने र विदेशबाट फर्केकाहरूलाई शून्यबाट सुरु गर्नु नपर्ने गरी सरकारी नीति बनाउनुपर्ने थापाको तर्क छ । साना व्यापारीहरूले ऋणको ब्याज तिर्नसक्ने गरी आम्दानी गर्ने वातावरण र संकटमा सरकारले हात थाम्ने व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
#CorruptionFreeNepal #GoodGovernance #NepaliCongress #FiveYearPlan #PoliticalCommitment #TransparencyNepal #Accountability #DevelopmentAgenda #CleanPolitics #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



