क्यानडामाथि ट्रम्पको ट्यारिफविरुद्ध अमेरिकी तल्लो सदनमा प्रस्ताव पारित

 

काठमाडौँ । क्यानडामाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफको विरोधमा अमेरिकी कांग्रेसको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’मा भएको मतदानमा ट्यारिफ खारेज गर्ने प्रस्ताव पारित भएको छ ।

प्रस्ताव २१९ विरुद्ध २११ मतले पास भएको हो । मतदानका क्रममा दलगत सीमाभन्दा बाहिर गएर समेत केही सांसदहरूले मत दिएका थिए ।

ट्रम्पकै रिपब्लिकन पार्टीका ६ सांसदले प्रस्तावको समर्थनमा मतदान गरेका छन् भने डेमोक्रेटिक पार्टीका एक सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । यसले विषयलाई लिएर दुवै दलभित्र मतभेद रहेको संकेत गरेको छ ।

मतदान अघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत रिपब्लिकन सांसदहरूलाई चेतावनी दिएका थिए । उनले ट्यारिफको विरोधमा मतदान गर्ने जो कोही सांसदले आगामी निर्वाचनमा ‘गम्भीर परिणाम’ भोग्नुपर्ने बताएका थिए । ट्रम्पले क्यानडाले वर्षौंदेखि व्यापारका नाममा अमेरिकाको ‘फाइदा उठाउँदै’ आएको छ, त्यसैले ट्यारिफ आवश्यक कदम हो ।

ट्रम्प प्रशासनले क्यानडामाथि विभिन्न वस्तुमा ट्यारिफ लगाइसकेको छ । हालै क्यानडा र चीनबीच प्रस्तावित व्यापार सम्झौताको सन्दर्भमा ट्रम्पले क्यानडामाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने चेतावनी समेत दिएका छन् । यस कदमले दुई देशबीचको व्यापार सम्बन्धमा थप तनाव सिर्जना गरेको छ ।

अब यो प्रस्ताव अमेरिकी संसदको माथिल्लो सदन ‘सीनेट’मा जानेछ, जहाँ रिपब्लिकन पार्टीको बहुमत रहेको छ । विश्लेषकहरूका अनुसार सीनेटबाट प्रस्ताव पारित भए पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्ने सम्भावना उच्च रहेकाले यसलाई कानुनको रूप दिन कठिन देखिन्छ ।

यस घटनाक्रमले अमेरिका-क्यानडा व्यापार सम्बन्ध र अमेरिकी आन्तरिक राजनीतिमा नयाँ बहस सुरु गराएको छ ।

#USPolitics #TrumpTariff #CanadaUSRelations #TradeNews #InternationalEconomy #WorldUpdate #GlobalPolitics #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages