चर्चित निर्वाचन क्षेत्र: इलाम-२ को चुनावी अंकगणित, सुहाङलाई कसले दिदैछ चुनौती ?

 

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक कोशी प्रदेशको इलाम- २ निर्वाचन क्षेत्र चर्चामा रहेको छ । यस क्षेत्रमा नेकपा एमालेबाट युवा नेता सुहाङ नेम्बाङ उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

इलाम- २ निर्वाचन क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको वडा नम्बर १ देखि ९सम्म, वडा नम्बर ११ देखि १२ सम्म र माई नगरपालिकाको वडा नम्बर ६, ७ र ८ समेटिएको छ ।

निर्वाचन आयोगका अनुसार इलाम- २ मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख १९ हजार ४८९ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५२ मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन

तत्कालिन सांसद सुबास नेम्वाङको निधनपछि इलाम- २ मा २०८१ मा उपनिर्वाचन भएको थियो । सुबास नेम्वाङको निधनपछि एमालेले इलाम- २ मा उनकै छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनायो र उनले उपनिर्वाचनमा शानदार जित हासिल गरेका थिए । सुहाङले २७ हजार ७७२ मत प्राप्त गरेका थिए । त्यस्तै नेपाली काँग्रेसका डम्बर बहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले ११ हजार ४५७ र रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा इलाम-२ मा समानुपातिकतर्फ एमालेले २६ हजार ५६२ मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले २२ हजार ३३३ मत प्राप्त गरेको थियो । त्यस्तै तत्कालिन माओवादी केन्द्रले ५ हजार १५३ मत प्राप्त गरेको थियो भने रास्वपाले ४ हजार ६८६ मत पाएको थियो ।

उम्मेदवार- २०८२ 

यस निर्वाचनमा इलाम-२ मा राजनीतिक दल र स्वतन्त्र गरेर १४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । एमालेबाट फेरी एक पटक सुहाङ नेम्वाङ उम्मेदवार बनेका छन् । त्यस्तै काँग्रेसले भने यस पटक यस क्षेत्रमा भेषराज आचार्यलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपाले ओम बहादुर गुरुङलाई उम्मेदवार बनाएको छ भने रास्वपाले गोकुल बहादुर राई लाई उम्मेदवार बनाएको छ । त्यस्तै श्रम संस्कृतिबाट सुदिप राई उम्मेदवार बनेका छन् ।

निष्कर्ष:

इलाम- २ मा २०८१ मा भएको उपनिर्वाचन जितेका सुहाङ यस पटक पनि चुनाव जित्नसक्ने प्रमुख उम्मेदवार हुन् । अहिले परिस्थिति अलिकति बदलिएको भएपनि यस क्षेत्रमा सुहाङको प्रभाव देखिएको छ । छोटो समय भएपनि सांसदको रुपमा उनले गरेका काम, युवा र सालिन व्यक्तित्वका कारण उनी मतदाताबीच लोकप्रिय नै छन् । उनको विपरित भएको अवस्था यस निर्वाचनमा समग्रमा एमालेविरुद्ध भएको जनमत हो । यस क्षेत्रमा उनलाई श्रम संस्कृति पार्टीले धेरै हदसम्म चुनौती दिनसक्ने देखिएको छ । काँग्रेसको आफ्नो निश्चित मत रहेकाले त्यो चुनाव जित्ने तहसम्म हुन्छ हुन्न अहिले नै भन्ने अवस्था छैन ।

तर चुनावी अंक गणितमा श्रम संस्कृतिले एमालेको धेरै मत काटेमा काँग्रेसको अवसर बन्न सक्ने सम्भावनालाई पुरै नकार्न सकिन्न । त्यस्तै रास्वपालाई देशभर उसको पक्षमा देखिएको लहरको फाइदा हुने त देखिन्छ तर चुनाव जित्ने तहसम्म फाइदा हुने कुरा भन्न सकिने अवस्था भने छैन ।

#Ilam2Election #ElectionNepal #ChunabiAankganit #PoliticalNews #NepalPolitics #IlamUpdates #Suhang #Election2026 #NepalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages