

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ ।
राप्रपाले आफ्नो घोषणापत्रमा हिन्दु राष्ट्र, राजसंस्था, प्रदेश संरचना खारेजी, एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई प्रमुख एजेण्डा बनाएको छ ।

राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्च पदस्थ नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने समेत संकल्प गरेको छ ।
त्यसैगरी नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भ्रष्टाचार तथा अनाचार अन्त्य गर्न सार्वजनिक पद धारण गर्ने पदाधिकारीलाई कानुनी दायरामा ल्याउन स्वार्थको द्वन्द्वसम्बन्धी कानुन जारी गरिने, अन्तर्राष्ट्रिय आर्थिक मान्यता एवम् देशको परिस्थिति र आवश्यकतालाई दृष्टिगत गर्दै विद्यमान सम्पत्ति शुद्धीकरण ऐनमा सुधार ल्याइने, राजनैतिक हस्तक्षेपमुक्त संवैधानिक नियुक्तिको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै न्यायपालिकामा देखिएको विकृति र विसंगति अन्त्य गर्न गुमेको विश्वसनीयता पुनर्स्थापित गर्न र पूर्ण न्यायिक बनाउन न्यायपालिकामा पुनर्संरचना-पुनर्नियुक्तिको व्यवस्था गरिने उल्लेख छ ।
राप्रपाले अभिभावकीय संस्थाको रूपमा राजसंस्था, वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधार, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र गैरदलीय स्थानीय तहको एजेण्डा पनि अघि सारेको छ ।
#RastriyaPrajatantraParty #RPP #ElectionManifesto #NepalPolitics #PoliticalNews #Election2026 #NepalUpdates #CleanPolitics #NationalAgenda #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



