आचारसंहिता उल्लंघनमा शुन्य सहनशीलता, १८ गते मध्यरातदेखि मौन अवधि शुरु हुनेः निर्वाचन आयोग

 

आचारसंहिता उल्लंघन गर्नेको उमेदवारी खारेजीसम्मको कारवाही हुनसक्छ– रामप्रसाद भण्डारी
आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगले फाल्गुन ३ गते राती १२ बजेदेखि निर्वाचन प्रचार प्रसारको १५ दिने समय सीमा शुरु भएको घोषणा गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार राजनीतिक दल र उमेदवारहरूले फाल्गुन १८ गते राती १२ बजेसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रमहरू गर्न पाउनेछन् । त्यसपछि ‘मौन अवधि’ शुरु हुने र यस समयमा कुनैपनि प्रकारका चुनावी गतिविधि, छलफल वा ‘कानेखुसी’ गर्न समेत निषेध गरिएको छ । राजनीतिक दलहरूले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनु भयो । आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण उमेदवार स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ । स्वेच्छिक आर्थिक सहयोग लिँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिधिभित्र रहनुपर्ने आयोगको स्पष्ट निर्देशन छ ।

भण्डारीकाअनुसार नेपाल सरकार, प्रदेश सरकार र मन्त्रीहरूले निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न पाउने छैनन् । यसको कडा निगरानीका लागि केन्द्रिय र जिल्ला स्तरीय अनुगमन समितिहरू सक्रिय पारिएको उहाँले बताउनु भयो । अधिकांश दलहरूले निर्वाचनका लागि आफ्नो घोषणा पत्र वा प्रतिवद्धता पत्र आयोगमा पेश गरिसकेको बताउनु भयो । आईतवार रातीसम्मको समय सीमा तोकिएको र केही दलहरू अझै प्रक्रियामा रहेको आयोगले जानकारी दिएको बताउनु भयो । मुलुकको सुशासन र विकासका योजनाहरू समेटिएको यो दस्तावेज दलहरूको कानूनी र नैतिक दायित्व रहेको कार्यवाहक आयुक्त भण्डारीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘४ गते देखि १८ गतेसम्म यो निर्वाचन प्रचार प्रसार गर्न पाउने अवधि हो र १८ गते राती १२ बजेबाट मौन अवधि शुरु हुन्छ । १८ गते राती १२ बजेपछि कुनैपनि प्रचार प्रसार गर्न पाइँदैन । काने खुसी, साउती, मस्तिष्क मन्थन पनि गर्न पाइँदैन, त्यो विश्राम गर्ने बेला हो । र विश्राम पूर्वको अवस्था र स्थितिमा आचार संहिता परिपालना गरेर दलहरुले के काम गर्न हुने र नहुने लगायतका विषयवस्तुहरु मैले यहाँहरुलाई पस्कें । अब यहाँहरुको केही जिज्ञासा छ, त्यो जिज्ञासालाई सम्बोधन गरौं । घोषणा पत्र दलहरुले सबै दलहरुले तपाईहरुले तोकेको मितिमा सार्वजनिक गरे त भन्ने एउटा टड्कारो प्रश्न छ । यो प्रश्नको उत्तर मैले कसरी सम्बोधन गरौं, अधिकांश दलहरुले पेश गरिरहनुभएको छ । आज भरे सम्म पेश गर्ने टाइम छ, हामी अलिकति समय अगावै छौं । भरेसम्म पेश हुनसक्छ । र यो सन्दर्भमा चाहिँ के हो भनेदेखि दलहरुले कानूनी दायित्वबाट उन्मुक्ति पाउनुहुन्न भनेर निर्वाचन आयोगले समयमै दलहरुलाई आग्रह गरेको तपाईंले निर्वाचनमा प्रतिष्पर्धा गर्ने जाने प्रयोजनको लागि तपाईंको योजना के छ ? कार्यक्रम के छ ? विकास निर्माण गर्ने लगायतका विषयवस्तुहरु के के छन् ? मुलुकमा अग्रगामी निकास राख्ने सुशासन प्रवाह गर्ने लगायतका विषयवस्तुहरुलाई यहाँहरुले कसरी सम्बोधन गर्नुभएको छ ? तपाईंहरुको घोषणा पत्र मार्फत सम्बोधन कसरी गर्नुभएको छ ? ती विषयवस्तुहरु समेटिएको घोषणा पत्र पेश गर्नुस् भनेर दलहरुलाई आग्रह गरेको हो ।’

आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अधिकार सुरक्षित गर्न कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक र आम मतदातालाई सहयोगको अपिल गरेको छ ।

#निर्वाचनआयोग #आचारसंहिता #मौनअवधि #ElectionNepal #NepalPolitics #PoliticalUpdate #DemocracyNepal #ElectionNews #NepalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages