प्रलोपाको प्रतिवद्धतापत्रः पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र ‘राइट टु रिकल’ को व्यवस्था

 

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले राज्यको शासकीय स्वरूपदेखि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने प्रश्ताव अगाडी सारेको छ ।

आगामी निर्वाचनलाई लक्षित गरि पार्टीले आईतवार सार्वजानिक गरेको प्रतिवद्धतापत्रमा शासकीय स्वरूपमा आमूल परिवर्तन गर्नुपर्ने प्रश्ताव अगाडी सारेको हो । प्रलोपाले संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रदेशमा निर्वाचित मुख्यमन्त्री, पूर्ण समानुपातिक संसद र ‘राइट टु रिकल’को व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । ‘एक व्यक्ति, एक पद, दुई कार्यकाल’ को कानूनी व्यवस्था गरिने तथा सांसदको भूमिका कानून निर्माणमा सीमित गरिने प्रलोपाको प्रतिवद्धता पत्रमा उल्लेख छ । प्रदेशहरूको पुनर्संरचना र राष्ट्रिय महत्वका विषयमा जनमत संग्रहको अधिकार सुनिश्चित गर्ने प्रलोपाले उल्लेख गरेको छ । निर्वाचन प्रणालीलाई सुधार गरेर कानूनमै ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ को व्यवस्था गर्ने प्रश्ताव पनि प्रलोपाले अगाडी सारेको छ । विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदानको अधिकार, विद्युतीय मतदान प्रणाली, दललाई राज्यबाट आर्थिक अनुदान तथा प्राथमिक निर्वाचन प्रणाली लागू गर्ने उल्लेख छ । यस्तै संसदमा महिलाको ५० प्रतिशत सहभागिता, दलित तथा सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व, भूमिहीनलाई जमिन र आवास, आमाको नामबाट नागरिकता सहज बनाउने तथा नागरिकता विहीनता अन्त्य गर्ने प्रतिवद्धता जनाइएको छ । जातीय, क्षेत्रीय र लैंगिक विभेदको समूल अन्त्य गर्ने दाबी पार्टीको छ ।

सुशासन र भ्रष्टाचार नियन्त्रणमा कडाइ
पार्टीले गणतन्त्र स्थापनापछि सार्वजनिक पदाधिकारी र दलका नेताहरूको सम्पती छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने घोषणा गरेको छ । भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता नीति, डिजिटल तथा ब्लकचेन गर्भनेन्स, संवैधानिक निकायमा दलीय भागबण्डा अन्त्य, निजामति सेवा र राष्ट्रिय योजना आयोग पुनर्संरचना जस्ता प्रस्ताव अघि सारिएका छन् । दलिय ट्रेड युनियन खारेज गर्ने एजेण्डा पनि समावेश छ ।

आर्थिक रूपान्तरण र दोहोरो अंकको वृद्धिदर
प्रलोपाले १० वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । कृषि, उद्योग, पर्यटन र स्टार्टअप प्रवद्र्धन, साना तथा मझौला उद्यमलाई सहुलियत ऋण, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । पाँच वर्षमा स्थिर पुँजी निर्माण गरि कुल गार्हस्थ उत्पादन (जिडिपी) को ३५ प्रतिशत, १० वर्षमा ४० प्रतिशत र त्यसपछि ४५ प्रतिशत पु¥याउने योजना सार्वजनिक गरिएको छ ।

ठूला राजमार्ग स्तरोन्नति, उत्तर–दक्षिण करिडोर विस्तार, रेलमार्ग निर्माण, मेट्रो सम्भाव्यता अध्ययन, अन्तर्राष्ट्रिय विमानस्थल आधुनिकीकरण र पिपिपि मोडलमार्फत ठूला आयोजना अघि बढाउने योजना समेटिएको छ । काठमाडौं–तराई फास्टट्रयाक, पूर्व–पश्चिम लोकमार्ग स्तरोन्नति, उत्तर–दक्षिण करिडोर, रेलमार्ग, मेट्रो, अन्तर्राष्ट्रिय विमानस्थल आधुनिकीकरण लगायतका आयोजना पिपिपि मोडलबाट अघि बढाउने प्रलोपाको लक्ष्य छ । प्रधानमन्त्री मातहत ‘राष्ट्रिय विकास प्राधिकरण’ गठन गरी ५, १० र २५ वर्षे दीर्घकालीन योजना कार्यान्वयन गरिने उल्लेख छ ।

प्रलोपाले तीन चरणमा मुलुकुको विकास गर्ने जनाएको छ । पहिलो चरणमा पूर्ण गरिबी अन्त्य गर्दै विकासशील राष्ट्रको स्तरमा पुग्ने, दोस्रो चरणमा मध्यम आय राष्ट्र र तेस्रो चरणमा उच्च आय भएको विकसित राष्ट्रको स्तरमा पु¥याउने लक्ष्य सार्वजनिक गरिएको छ । पार्टीले नेपालको सम्प्रभुतामाथि कुनै हस्तक्षेप असह्य हुने स्पष्ट पारेको छ । सन्तुलित परराष्ट्र नीतिमार्फत विश्व मञ्चमा नेपालको प्रभावकारी भूमिका बढाउने र अन्तर्राष्ट्रिय पुँजी तथा प्रविधि भित्र्याएर राष्ट्रिय औद्योगिक विकास गर्ने योजना अघि सारिएको छ । गैर–आवासीय नेपालीलाई तीन पुस्तासम्म नागरिकताको निरन्तरता दिन पहल गरिने उल्लेख छ ।

समाजवादको आधारः नेपाली मौलिक मार्ग
पार्टीले समाजवादलाई सुदूर भविष्यको लक्ष्य नभई आजको यथार्थ बनाउने प्रतिवद्धता जनाएको छ । आयातित मोडेलभन्दा फरक, नेपाली मौलिक समाजवादको विकास गर्दै स्वदेशी ज्ञान, संस्था र उत्पादन प्रणालीको संरक्षण र प्रवद्र्धन गर्ने योजना प्रलोपाले अगाडी सारेको छ । अन्तर्राष्ट्रिय पुँजी, जनशक्ति र प्रविधिको उपयोगमार्फत बलियो राष्ट्रिय औद्योगिक आधार तयार गर्ने, ऐतिहासिक विभेदको अन्त्य गर्ने तथा उत्पादन–वितरणमा सामाजिक न्याय सुनिश्चित गर्ने प्रलोपाको लक्ष्य छ ।

कृषि, शिक्षा र स्वास्थ्यमा प्राथमिकता
कृषिमा मल, बीउ, सिंचाइ र आधुनिक प्रविधि पहुँच, न्यूनतम समर्थन मूल्य सुनिश्चितता तथा १० वर्षमा उत्पादकत्व दोब्बर बनाउने लक्ष्य राखिएको छ । शिक्षामा दलीयकरण अन्त्य, निःशुल्क गुणस्तरीय शिक्षा, एआई साक्षरता विकास र प्राविधिक शिक्षा विस्तार गर्ने योजना अघि सारिएको छ । स्वास्थ्य क्षेत्रमा आधारभूत निःशुल्क सेवा, प्रभावकारी बीमा र ग्रामीण स्वास्थ्य संरचना विस्तारलाई प्राथमिकता दिइएको छ । पार्टीले ‘देशभित्र उत्पादन, देशभित्रै रोजगारी’ नारालाई प्राथमिकता दिएको छ ।

#प्रलोपा #प्रतिबद्धतापत्र #ElectionNepal #NepalPolitics #RightToRecall #ProportionalRepresentation #DirectElection #DemocracyNepal #PoliticalUpdate #NepalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages