मोरङ ३ मा विकासको क्रान्तिः ३० वर्षमा नभएको काम ३० महिनामा सम्पन्न गरेको डा. सुनिल शर्माको दाबी

 

मोरङ निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसका उम्मेदवार डा. सुनिल शर्माले आफूले ३० महिनाको छोटो अवधिमा मोरङमा ऐतिहासिक विकास निर्माणका कामहरू सम्पन्न गरेको दाबी गर्नुभएको छ ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले विपक्षी दलहरूले विगत ३० वर्षमा गर्न नसकेका ठूला आयोजनाहरू आफूले ३० महिनामा सम्पन्न गरेर देखाएको बताउनुभएको हो । कार्यक्रममा बोल्दै डा. शर्माले काँग्रेस पार्टीको नेतृत्व अहिले पूर्णतः युवाहरूको हातमा पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ब्यानर हेर्नुस्, गगन थापा, विश्वप्रकाश शर्मा र गुरु घिमिरे जस्ता युवाहरू आज नेतृत्वमा हुनुहुन्छ । काँग्रेस बदलिएको छ, नयाँ मिसन र भिजनका साथ गाउँ छिरेको छ ।’ 

उहाँले नयाँ दलको नाममा भ्रम छर्नेहरूलाई काँग्रेसको युवा नेतृत्व र नयाँ विचार नै वास्तविक विकल्प भएको बताउनु भयो ।

३० महिनाका ६ ठूला उपलब्धि
डा. शर्माले आफ्नो कार्यकालका ६ वटा प्रमुख कामहरूलाई विपक्षीका लागि चुनौतीका रूपमा प्रश्तुत गर्नुभयो । पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेजः विगत ३० वर्षदेखि रोकिएको र स्थापनाको कार्य आफू निर्वाचित भएपछि ३० महिनामै सम्पन्न भएको बताउनु भयो ।  कानेपोखरी र पथरी शनिश्चरेका हजारौँ सुकुम्बासीहरूलाई निस्सा वितरण र धनीपुर्जा वितरणको प्रक्रिया ऐतिहासिक रूपमा अघि बढेको, लालभित्ती, बेलबारी, बेतना, सिमसार र पथरी बजारका मुख्य बाटाहरू प्राथमिकताका साथ पिच गरिएको बताउनु भयो । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको समयमा समेत हुन नसकेको पथरी–डाइन्या सडकको कालोपत्रे अहिले तिब्र गतिमा भइरहेको र चिसाङ, लोहन्द्रा, डाँस र बक्रा खोलामा बहुवर्षीय आयोजना अन्तर्गत तटबन्धनको काम शुरु भएको बताउनु भयो । उहाँले क्षेत्रभर ५ वटा ठूला खानेपानी आयोजनाका लागि ७० करोड बजेट सुनिश्चित गरी डिपिआर तयार भइरहेको जानकारी दिनुभयो ।

निःशुल्क स्वास्थ्य र शिक्षामा योगदान
डा. शर्माले आफ्नो व्यक्तिगत लगानीमा यस क्षेत्रका १ हजार २० जना गरिब तथा निमुखा बालबालिकाहरूलाई नर्स, डाक्टर र प्राविधिक शिक्षा अध्ययन गराएको जानकारी दिनु भयो । ‘हामीले अस्पताल देखाएर भोट मागेको होइन, बिरामीको सेवा गरेर मन जितेका हौँ ।’ उहाँले भन्नुभयो ।
उहाँले आफूले सरकारी तलब, भत्ता वा कुनै पनि किसिमको घुस नखाई जनताको सेवामा समर्पित भएको दाबी गर्नुभयो ।

अन्तिम अपिलः सेवा गर्ने कि जलाउने ?
सम्बोधनको अन्त्यमा डा. शर्माले आगामी फागुन २१ गतेको निर्वाचनलाई ‘सेवा गर्नेहरू र सरकारी संरचना जलाउनेहरू’ बीचको छनोटको रूपमा परिभाषित गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले घुस खाएको छैन, तलब खाएको छैन । यदि काम गरेको छु भने मलाई फेरि सेवा गर्ने मौका दिनुहोस् ।’ 
उहाँले मतदाताहरूलाई आफ्नो विवेक प्रयोग गरेर लोकतन्त्रको रक्षा र विकासका लागि काँग्रेसलाई बहुमत दिन आग्रह गर्नुभयो ।

 

Nepal life insuranceimagesimages