सैनिक दिवसमा विदेशी सेनाको सहभागिता स्वभाविक प्रक्रियाः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सैनिक दिवसका अवसरमा टुँडिखेलमा भएको विदेशी सैनिकहरूको प्रदर्शनलाई विश्वव्यापी परिपाटी र मित्रताको प्रतिकका रूपमा चित्रण गर्नुभएको छ ।

सोमवार निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न देशका सैनिकहरूबीच हुने तालिम आदानप्रदान र मैत्रीपूर्ण प्रदर्शनलाई नकारात्मक रूपमा हेर्न नहुने बताउनु भयो । भण्डारीले सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी, बेलायती र भारतीय सैनिकका टुकडीहरूले आफ्नो कला प्रदर्शन गरेको उल्लेख गर्नुभयो ।

उहाँकाअनुसार यस्ता प्रदर्शनहरू मित्र शक्तिहरूबीचको सम्बन्ध प्रगाढ बनाउन र तालिमको अनुभव साटासाट गर्न विश्वभरि नै हुने गरेका छन् । सामाजिक सञ्जालमा केही व्यक्ति र राजनीतिक दलका नेताहरूले अमेरिकी सैनिकको नाचलाई लिएर सरकारको आलोचना गरेकोप्रति लक्षित गर्दै भण्डारीले यसलाई मानसिकताको उपज भएको बताउनु भयो । विदेशी सेनाको उपस्थितिलाई लिएर ‘खबरदार’ भन्दै गरिएको टिप्पणीहरूतर्फ संकेत गर्दै उहाँले देशका जिम्मेवार व्यक्तिहरूले पनि यस्ता विषयमा नकारात्मक मानसिकता राख्नु दुःखद् भएको बताउनु भयो । उहाँले कुन देशप्रतिको कस्तो दृष्टिकोण छ भन्ने कुराले मात्र यस्ता विषयलाई विवादित बनाइएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले सामाजिक सञ्जालमा पनि आयो, केही व्यक्तित्वहरूबाट त्यो अमेरिकी सैनिक टुँडिखेलमा नाच्यो नि त भन्ने पनि आयो । अनि के अमेरिकी सैनिक टुँडिखेलमा नाच्नु नै अपराध हो त भन्ने पनि कसैको सोच होला । त्यो अमेरिकी सैनिक त्यहाँ टुँडिखेलमा नाचेको कार्यक्रममा म पनि उपस्थित छु । हिजो सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी सैनिक, बेलायती सैनिक, भारतीय सैनिकको टुकडीहरू, त्यो सैनिकहरूको एकआपसमा जुन जुन मित्र शक्तिहरू हुन्छन् र जुन जुन ठाउँमा चाहीँ उनीहरू तालिम आदानप्रदान गर्छन्, ती शक्तिहरूको त्यहाँ आएर यो प्रदर्शन गर्छन् । यो विश्वभरिको परिपाटी र प्रचलन हो । तर तपार्ईं हाम्रो त्यो कुन देशप्रतिको मानसिकताले अहिले ग्रस्त छ, यो सकारात्मक र नकारात्मक सोच छ । म अहिले त्यहाँ सामाजिक सञ्जाल हेर्दै थिएँ एक,दुई वटा । देशका ठूला नेताहरूले पनि खबरदार, यो त यो सरकारले त बद्मासी ग¥यो, त्यो अमेरिकी सैनिक ल्याएर टुँडिखेलमा नचायो । त्यसकारण यो नाच्न पाउने होइन, भन्ने लगायतका ठूला ठूला व्यक्तिहरूले पनि सामाजिक सञ्जालमा लेखिरहनुभएको छ, कमेन्ट गरिरहनुभएको देखेको छु ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सैन्य कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरूलाई बुझेर मात्र धारणा सार्वजनिक गर्न सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।

#सैनिकदिवस #NepalArmyDay #विदेशीसेना #NaturalProcess #ElectionCommissionNepal #NepalPolitics #NationalEvent #DefenseNews #NepalNews #CurrentAffairs #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages