राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण विकास परियोजना अवरुद्ध भए- ओली

 

झापा । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा अघि सारिएका विकास परियोजनाहरू राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण अवरुद्ध भएको बताएका छन् ।

सोमबार झापा-५ स्थित मतदाताहरुसँग अन्तरक्रिया गर्दै ओलीले महत्त्वपूर्ण योजनाहरू कार्यान्वयनको चरणमा पुग्दा योजनाबद्ध रूपमा सरकार ढाल्ने प्रयास हुने गरेको आरोप लगाउदै देशभक्ति र पूर्वाधार विकासका एजेन्डामा आन्तरिक तथा बाह्य शक्तिहरूको प्रभाव देखिने गरेको बताएका थिए ।

ओलीले बारम्बारको सरकार परिवर्तनले ठूला पूर्वाधार आयोजनाहरू निरन्तरता पाउन नसकी अलपत्र पर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । उनले रेलमार्ग र पानीजहाज सञ्चालनको अवधारणा आफूले अघि सारेको स्मरण गराउँदै उनले काम अघि बढ्न थालेपछि सरकार नै परिवर्तन हुने प्रवृत्ति दोहोरिएको टिप्पणी गरे ।

उनले भने- ‘एउटा कार्यकालमा सम्पन्न गर्न सकिने कामका लागि चार पटक प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति बनाइयो ।कामले गति लिन थालेपछि षड्यन्त्रपूर्वक सरकार हटाइन्छ ।’  औद्योगिक क्षेत्र स्थापना र दमक रंगशाला निर्माण जस्ता परियोजनामा पनि अनावश्यक अवरोध सिर्जना गरिएको गुनासो गर्दै ओलीले आवश्यक तयारी र जग्गा व्यवस्थापन भइसकेपछि पनि कार्यान्वयनमा ढिलाई गरिएको बताए ।

उनले अवरोधका बाबजुद विकासको एजेन्डाबाट पछि नहट्ने र रोकिएका परियोजनालाई पुनः गति दिने प्रतिबद्धता उनले व्यक्त गरे ।

यस निर्वाचनमा झापा-५ मा ओलीको प्रतिष्पर्धा रास्वपा वरिष्ठ नेता बालेन शाहसँग रहेको छ ।

#राजनीतिकअस्थिरता #विकासपरियोजना #KPSharmaOli #NepalPolitics #DevelopmentIssues #PoliticalInterference #EconomicGrowth #NepalNews #CurrentAffairs #LeadershipTalk #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages