आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

Nepal life insurance

१- नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा अघि सारिएका विकास परियोजनाहरू राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण अवरुद्ध भएको बताएका छन् । सोमबार झापा-५ स्थित मतदाताहरुसँग अन्तरक्रिया गर्दै ओलीले महत्त्वपूर्ण योजनाहरू कार्यान्वयनको चरणमा पुग्दा योजनाबद्ध रूपमा सरकार ढाल्ने प्रयास हुने गरेको आरोप लगाउदै देशभक्ति र पूर्वाधार विकासका एजेन्डामा आन्तरिक तथा बाह्य शक्तिहरूको प्रभाव देखिने गरेको बताएका थिए । ओलीले बारम्बारको सरकार परिवर्तनले ठूला पूर्वाधार आयोजनाहरू निरन्तरता पाउन नसकी अलपत्र पर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । उनले रेलमार्ग र पानीजहाज सञ्चालनको अवधारणा आफूले अघि सारेको स्मरण गराउँदै उनले काम अघि बढ्न थालेपछि सरकार नै परिवर्तन हुने प्रवृत्ति दोहोरिएको टिप्पणी गरे । उनले भने- ‘एउटा कार्यकालमा सम्पन्न गर्न सकिने कामका लागि चार पटक प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति बनाइयो ।कामले गति लिन थालेपछि षड्यन्त्रपूर्वक सरकार हटाइन्छ ।’  औद्योगिक क्षेत्र स्थापना र दमक रंगशाला निर्माण जस्ता परियोजनामा पनि अनावश्यक अवरोध सिर्जना गरिएको गुनासो गर्दै ओलीले आवश्यक तयारी र जग्गा व्यवस्थापन भइसकेपछि पनि कार्यान्वयनमा ढिलाई गरिएको बताए । उनले अवरोधका बाबजुद विकासको एजेन्डाबाट पछि नहट्ने र रोकिएका परियोजनालाई पुनः गति दिने प्रतिबद्धता उनले व्यक्त गरे । यस निर्वाचनमा झापा-५ मा ओलीको प्रतिष्पर्धा रास्वपा वरिष्ठ नेता बालेन शाहसँग रहेको छ ।

२- प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही- ३ का जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सोमबार उनले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी त्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् । यादवले कानुनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलो अभियानमा सहभागी भएको उल्लेख गर्दै वर्तमान राष्ट्रिय परिस्थितिमा राजनीतिक स्थायित्वका लागि एमाले प्रमुख शक्ति बन्ने विश्वासका आधारमा आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताएका छन् । उनले भनेका छन्- ‘देश र जनताको हितलाई सर्वोपरि राख्दै आजकै मितिदेखि जसपाको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरी नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु ।’ यादवले आफ्ना समर्थक तथा मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’मा मतदान गर्न आह्वान गरेका छन् । साथै उनले एमाले उम्मेदवार बासुदेव घिमिरेलाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन् । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेसहित जिल्लाका नेताहरूले यादवलाई पार्टीमा स्वागत गरेका थिए । यादवको निर्णयपछि रुपन्देही–३ को चुनावी समीकरणमा प्रभाव पर्ने विश्लेषण गरिएको छ । रुपन्देही-३ मा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार छन् भने काँग्रेसबाट सुशिल गुरुङ, रास्वपाबाट डा. लेख जंग थापा, राप्रपाबाट गौरब बोहोरा र नेकपाबाट फैज अहमद खाँ उम्मेदवार बनेका छन् । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेको समर्थनमा राप्रपाका दिपक बोहोरा विजयी भएका थिए ।

३- अफगानिस्तानले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । सोमबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा अफगानिस्तानले युएईलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो । युएईले दिएको १६१ रनको लक्ष्य पछाएको अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अफगानिस्तानको जितमा इब्राहिम जर्दानले ५३ रन बनाए भने अजमतुल्लाह ओमरजाइले ४०, डरविश रसोलीले ३३ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले सोहैब खानको ६८ र आलिशान शराफुको ४० रनको मद्धतले २० ओभरमा ९ विकेट गुमाउदै १६० रन बनाएको थियो । यस खेलमा अफगानिस्तानका स्तर स्पिनर रशिद खानले एक विकेट लिएसँगै टी-२० क्यारियरमा ७०० विकेट लिने विश्वको पहिलो खेलाडी बनेका छन् । यो अफगानिस्तानको तेस्रो खेलमा पहिलो जित जित हो । यो जितपछि ३ खेलमा २ अंक हासिल गरेको छ । त्यस्तै युएईको पहि ३ खेलमा २ अंक रहेको छ । अब युएईले समुह चरणको अन्तिम खेल बुधबार दक्षिण अफ्रिकासँग खेल्ने छ भने अफगानिस्तानले विहिबार क्यानडासँग खेल्ने तालिका रहेको छ ।

४- शेख हसिना नेतृत्वको सरकार पतनपछि गठन भएको मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको सार्वजनिक विवरणले देखाएको छ । सरकार प्रमुख मोहम्मद युनुसको सम्पत्ति एक वर्षको अवधिमा करिब ११ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्षको तुलनामा उनको सम्पत्तिमा झण्डै ११ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ । अन्तरिम सरकारका शीर्ष चार मन्त्रीमध्ये सबैभन्दा बढी सम्पत्ति वृद्धि युनुसकै भएको बताइएको छ । युनुस नेतृत्वको २१ सदस्यीय मन्त्रिपरिषद्मध्ये १८ मन्त्रीहरूको सम्पत्ति बढेको तथ्य सार्वजनिक भएको छ । यसैबीच, नयाँ प्रधानमन्त्री रहमानले अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा भएको वृद्धिबारे छानबिन गर्न समिति गठन गर्ने तयारी गरेको रिपोर्टमा दाबी गरिएको छ । नोबेल पुरस्कार विजेता युनुस बंगलादेशमा माइक्रो–फाइनान्स क्षेत्रका अगुवा मानिन्छन् । शेख हसिना सरकारको कार्यकालमा उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएको थियो । तर आफ्नै नेतृत्वमा सरकार गठन भएपछि ती मुद्दा फिर्ता लिइएको बताइएको छ । उता, तारिक रहमानको विजयपछि युनुस सरकारमा आईटी मन्त्री रहेका फैज अहमद तैयब नेदरल्यान्ड्स फर्किएका छन् । उनको कार्यकालमा सूचना प्रविधि क्षेत्रमा विदेशी कम्पनीहरूको पक्षमा केही निर्णय गरिएको भन्दै आलोचना भएको थियो । उच्च क्षमताका उपकरण खरिदका लागि केही कम्पनीलाई अनावश्यक रूपमा टेन्डर दिएको आरोप समेत उनीमाथि लागेको छ । युनुस सरकारकी वातावरण मन्त्री सैयदा रिजवाना अनुसार फैज आफ्नो परिवारसहित नेदरल्यान्ड्समै बसोबास गर्दै आएका थिए र अन्तरिम सरकारमा सहभागी हुन बंगलादेश फर्किएका थिए ।

५- चेक बाउन्ससम्बन्धी मुद्दामा तिहाड जेलमा रहेका बलिवुड अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले अन्तरिम जमानत दिएको छ । अदालतले यादवलाई आगामी १८ मार्चसम्मका लागि जमानतमा रिहा गर्ने आदेश दिएको हो । जमानत याचिकामाथि सुनुवाइ गर्दै अदालतले प्रतिवादी कम्पनीको नाममा १ करोड ५० लाख जम्मा गर्न दिउँसो ३ बजेसम्मको समय दिएको थियो। यादवले तोकिएको रकम डिमान्ड ड्राफ्टमार्फत बुझाएपछि न्यायमूर्ति स्वर्णकान्ता शर्माको इजलासले उनलाई अन्तरिम जमानत प्रदान गरेको हो । अदालतमा उनका वकिलले १ करोड ५० लाख बिना शर्त फिक्स्ड डिपोजिट र डिमान्ड ड्राफ्टमार्फत बुझाउन तयार रहेको बताएका थिए । यसअघि २५ लाख र ७५ लाख रुपैयाँका डिमान्ड ड्राफ्ट प्रतिवादीको नाममा बुझाइसकिएको जानकारी पनि अदालतलाई दिइएको थियो । सुनुवाइका क्रममा यादवकी भतिजीको विवाह १९ फेब्रुअरीमा रहेको उल्लेख गर्दै पारिवारिक कारणले जमानत दिन आग्रह गरिएको थियो । अदालतले सोही आधारमा १८ मार्चसम्म उनलाई जेलबाहिर बस्न अनुमति दिएको हो । अब यस मुद्दाको अर्को सुनुवाइ १८ मार्चमा हुनेछ । त्यसबेलासम्म यादव जमानतमा रिहा रहनेछन् ।

६- नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ८.१६ अंकले घटेर २६६२. ९१ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२० मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज बुद्ध भुमि नेपाल हाइड्रो, रिलायन्स स्मिनीङ मिल्स र सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपर साङ्गे हाइड्रोको ८.१८ प्रतिशतले बढेको छ । त्यसैगरी आज खानी खोला हाइड्रोको शेयर सबैभन्दा बढी ९.३८  प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ६५ करोड ३ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ५२ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।

७- परराष्ट्र सचिव अमृतबहादुर राई नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक सह-अध्यक्षता गर्न पोर्चुगल प्रस्थान गर्दैछन् । उक्त बैठक फेब्रुअरी २०, २०२६ मा लिस्बनमा आयोजना हुने कार्यक्रम छ । राईको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू, पोर्चुगलका लागि नेपाली राजदूत तथा दूतावासका अन्य अधिकारीहरू सहभागी रहनेछन् । उनी मंगलबार त्यसतर्फ जाने मन्त्रालयले जानकारी दिएको छ  ।  बैठकमा नेपाल-पोर्चुगलबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गरिनुका साथै साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यका विषयमा छलफल हुने जनाइएको छ । लिस्बन भ्रमणका क्रममा परराष्ट्र सचिव राईले पोर्चुगलको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने, नवस्थापित नेपाली दूतावासको औपचारिक उद्घाटन गर्ने तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । हाल पोर्चुगलमा करिब ४० हजारभन्दा बढी नेपाली विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेको अनुमान गरिएको छ । नेपाल र पोर्चुगलबीच द्विपक्षीय परामर्श संयन्त्र सन् २०१८ मा स्थापना गरिएको थियो। परराष्ट्र सचिव राई फेब्रुअरी २२, २०२६ मा काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

८- नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । कावा मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार फागुन ८ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि बैठक बोलाइएको छ । काँग्रेसले गत माघ २६ गते काँग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहेको केन्द्रीय अनुशासन समिति गठन गरेको थियो ।

९- फागुन २१ मा हुने निर्वाचनमा चितवन-३ मा नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेकी रेणु दाहालले मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत सञ्चारमाध्यमबाट प्रसारित भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । दाहालले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको भन्दै यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन नगर्न सबैमा अनुरोध गरेकी छन् । उनले आफु प्रतिनिधिसभाको उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त रहेको उल्लेख गर्दै यस क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको बताएकी छन् । उनले भरतपुर महानगरपालिका मा ९ वर्षे कार्यकाल सम्पन्न गर्दै गर्दा, आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण आज अपार स्नेह पाउन सकेको अनुभूति गरेको बताएकी छन् । उनले निर्वाचनमा सहभागी भइसकेपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताउदै मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी गराउनेमा उच्च मनोबल राखेको बताएकी छन् ।

१०- परराष्ट्रमन्त्री बालानन्द शर्मा आज बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गर्दै छन् । बंगलादेशको नव निर्वाचित सरकारको शपथग्रहण समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । गत विहिबार सम्पन्न निर्वाचनमा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) ले दुई तिहाई बहुमत हासिल गरेर सरकार बनाउदैछ । बीएनपीका अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्दैछन् । शपथग्रहण समारोहमा बंगलादेशले नेपालसहित सार्क देशलाई निमन्त्रणा गरेको बताइएको छ ।  मन्त्रालयका अनुसार मन्त्री शर्माको यो भ्रमणले नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्न नेपालको प्रतिबद्धता झल्काउने विश्वास गरिएको छ । भ्रमणका क्रममा मन्त्री शर्मासँग परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी रहेका छन् । परराष्ट्रमन्त्री शर्मा फागुन ७ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

११- अफगानिस्तानका स्टार स्पिनर रशिद खानले टी- २० क्रिकेटमा  ऐतिहासिक कीर्तिमान बनाएका छन् । रशिदले टी- २० क्रिकेटमा ७०० विकेट लिने पहिलो बलर बनेका छन् । जारी टी-२० विश्वकपमा युएईविरुद्धको आजको खेलमा एक विकेट लिएसँगै रशिदले आफ्नो क्यारियरमा टी-२० मा ७०० विकेट पुरा गरेका हुन् । रशिदले विश्वकप शुरु हुनु अघि करिब ९–१० वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामै टी-२० मा सबैभन्दा धेरै विकेट लिने खेलाडी बन्ने अवसर आफ्नो लागि सपनाभन्दा ठूलो उपलब्धि भएको उनले बताएका थिए । उनले कहिल्यै आफ्ना विकेट नगनेको बताउदै मिडियाबाटै ४००, ५००, ६०० पुगेको थाहा पाएको बताएका थिए ।  उनले आफू सधैं टोलीका लागि कठिन परिस्थितिमा बलिङ गर्न चाहने र त्यही लक्ष्यले केन्द्रित बनाएको बताएका थिए । रशिदले अफगानिस्तानको राष्ट्रिय टिमबाट खेल्दै १९१ विकेट लिएका छन् भने बाँकी विकेट विश्वभरका फ्रेन्चाइज खेलमा लिएका हुन् ।  उनले आइपिएलमा १५८ विकेट लिएका छन् भने बिग बाश लिगमा ९८ विकेट लिएका छन् । त्यसैगरी पीएसएलमा ४४, हन्ड्रेडमा ३६ र  भिटालिटी बलाष्टमा ३४ विकेट लिएका छन् । उनी विश्वभरका टी-२० लिग खेल्ने गर्दछन । टी-२० क्रिकेटमा रशिदपछि धेरै विकेट लिने खेलाडीमा वेस्ट इण्डिजका डवाने ब्राभोल;ए ६३१, सुनिल नारनले ६१३, पाकिस्तानका इमरान ताहिरले ५७२, वेस्ट इण्डिजका आन्द्रे रासेलले ५०८ विकेट लिएका छन् ।

१२- नेकपा (माओवादी) ले नेपाली सेना दिवसको अवसरमा सैन्य मञ्च टुँडिखेल काठमाडौंमा अमेरिकी सेनाले परेड खेलेको घटनाप्रतिआपत्ति जनाएको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै राजनीतिक दल र नेपाली जनताको सहमति बिना रहस्यमय तरिकाले सैन्य परेड खेलाएको भन्दै आपत्ति जनाएको छन् ।  सैनिक दिवसको अवसरमा आइतबार नेपाली सेनाको विशेष कार्यक्रममा अमेरिका र बेलायतका सैनिकले परेडसहितको प्रस्तुति दिएको विषय विवादमा परेको छ । विप्लवले यो घातक कार्य गर्ने गराउने दुवै तत्वको घोर भर्त्सना गर्दै सरकारको जवाफ माग गरेका छन् । उनले भनेका छन्- ‘२०८२ फागुन ३ गतेका दिन नेपाली सेना दिवसको अवसरमा सैन्य मंच काठमाण्डौंमा अमेरिकी सेनाले परेड खेलेको दृश्यले हाम्रो मात्र होइन सारा नेपाली जनताको ध्यान केन्द्रीत गरेको छ । अमेरिकी हस्तक्षेप बारे अनेकौं विवाद चलिरहेको स्थितिमा नेपालका राजनीतिक दल र नेपाली जनताको जानकारी एवं सहमति बिना यसरी रहस्यमय तरिकाले सैन्य परेड खेल्नु र खेलाउनु राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथिको गंभीर खेलवाड हो । हामी यस्तो घातक कार्य गर्ने गराउने दुवै तत्वको घोर भर्त्सना गर्दछौं ।’ उनले यस घटना बारे राज्यको धारणा यथासिघ्र सार्वजनिक गर्न माग गर्दै देशको स्वाधीनता दिन प्रतिदिन खतरामा पर्दै गएको सन्दर्भमा यस्ता कार्यप्रति सजक रहन र आवश्यकता अनुरुप प्रतिरोधका निम्ति तयार रहन आम नेपाली जनतालाई विशेष आह्वान गरेका छन् ।

१३- चीनले बेलायती र क्यानेडियन नागरिकहरूले भिसा बिना चीन भ्रमण गर्न र त्यहाँ ३० दिनसम्म बस्न सक्ने सुबिधा दिने घोषणा गरेको छ । चीनको विदेश मन्त्रालयले पर्यटन, व्यवसाय र परिवार र साथीभाइलाई भेट्न देशमा भिसा-मुक्त प्रवेश अनुमति दिइने बताएको छ । यो नीति यस बर्षको डिसेम्बर ३१ सम्म लागू रहनेछ । गत महिना बेलायती प्रधानमन्त्री केयर स्टारमरले चीनको भ्रमण गरे र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए, जसको क्रममा यात्रा नियमहरू सहज बनाउन सम्झौता भएको थियो । प्रधानमन्त्री केयर स्टारमरले यो सम्झौताले चीनमा व्यवसाय विस्तार गर्न सजिलो बनाउने बताएका थिए । त्यस्तै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि हालै चीनको भ्रमण गरेर सम्बन्ध सुधारको संकेत गरेका थिए ।  यद्यपि, आलोचकहरूले बेइजिङसँग सम्बन्ध सुधार गर्ने प्रयासमा मानव अधिकार र राष्ट्रिय सुरक्षा सरोकारहरूलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।

१४- होटल फरेस्ट इन लिमिटेडको आईपीओको बाँडफाँड भएको छ ।  कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलका अनुसार होटल फरेस्ट इनको आइपिओ ३ लाख ३२ हजार लगानीकर्ताले १०-१० कित्ता शेयर पाएका छन् ।  माघ २२ गतेदेखि २६ गतेसम्म खुलेको यस आइपिओमा सय रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयरको लागि आवेदन माग गरिएकोमा २६ लाख ६० हजार ४५२ आवेदनकर्ताबाट २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता शेयरको लागि आवेदन परेको छ । जसमा २३ लाख ७१ हजार ३१५ वेदन स्वीकृत भएका थिए । कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत  अर्थात् ४० लाख इकाई शेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो । आईपीओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट, मेरोशेयर र कुमारी क्यापिटल लिमिटेडको वेभसाइटमा हेर्न सकिने छ ।

१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ३ हजारले घटेर तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ५ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२५ रुपैयाँले घटेर तोलाको ४८६० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४९८५ मा कारोबार भएको थियो ।

१६- नेपाली काँग्रेसका सभापति गगन थापाले आफुले किर्तिपुरको डाँडामा बसेर महिनाको २-३ लाख कमाउन सकिन्छ भनेर यत्तिकै नभनेको बताएका छन् । नेपाली काँग्रेसको सूचना प्रविधि क्षेत्रमा आफ्नो धारणा भिडियो सन्देशमार्फत सार्बजनिक गर्द आफुले कीर्तिपुरको एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने अभिव्यक्ति यत्तिकै नदिएको भन्दै सो अभिव्यक्ति आलोचित भएपनि त्यो अभिव्यक्ति आफुहरुको सपना भएको बताएका छन् । सभापति थापाले अघिल्लो सरकारका पालामा अध्यादेशमार्फत गरिएका केही सुधारले सकारात्मक प्रभाव देखाएको उल्लेख गर्दै अब थप संरचनागत र नीतिगत सुधार गरेर सुचना प्रविधि क्षेत्रलाई युवा मैत्री बनाउने बताए । उनले आगामी पाँच वर्षभित्र नेपाललाई ‘डिजिटल हब’ बनाउन सकिने बताउदै सूचना प्रविधि क्षेत्रमा सानो नीतिगत सुधारले पनि ठूलो आर्थिक परिणाम दिन सक्ने दाबि गरेका छन् । सभापति थापाले पाँच वर्षभित्र करिब ४ खर्ब बराबरको सूचना प्रविधि सेवा निर्यात गर्न सकिने दाबी गर्दै उनले २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिने समेत दाबि गरेका छन् । उनले कम्तीमा २०० नेपाली सूचना प्रविधि कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गराउने लक्ष्य समेत काँग्रेसको रहेको बताएका छन् । नेपाल अब स्वतन्त्र रूपमा काम गर्ने सेवा र बाह्य सेवा प्रक्रियामा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन विकास र निर्यातमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । उनले ‘ट्यालेन्ट हब’ बनाएर मात्र प्रविधि क्षेत्रमा अध्ययन गरेकाहरुलाई व्यवस्थित किसिमले रोजगार दिन सकिने अवधारणा प्रस्ताव गरेका छन् । यसका लागि उनले सार्बजनिक निजी साझेदारी गर्ने समेत बताए ।

१७- विदेशमन्त्री अब्बास अराघची नेतृत्वको इरानी प्रतिनिधिमण्डल आइतबार जेनेभा पुगेको छ । मंगलबारबाट सुरु हुने अमेरिका-ईरान अप्रत्यक्ष परमाणु वार्ताको दोस्रो चरणमा उनीहरूले ईरानको टोलीको नेतृत्व गर्नेछन् । इरानी विदेश मन्त्रालयका अनुसार प्रतिनिधिमण्डल कूटनीतिक तथा प्राविधिक टोलीसहित वार्ताका लागि प्रस्थान गरेको हो । वार्तामा ओमान ले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ । यो बैठक यस महिनाको सुरुमा ओमानको मस्कटमा भएको पहिलो चरणपछि हुन लागेको हो, जसले महिनौँदेखि रोकिएको संवाद प्रक्रिया पुनः सुरु भएको संकेत दिएको छ । बढ्दो क्षेत्रीय तनाव र अमेरिकी सैन्य तयारीबीच वार्ता हुन लागेको हो । वार्तामा ईरानको युरेनियम संवर्धनको सीमा, अन्तर्राष्ट्रिय निगरानी संयन्त्र तथा अमेरिकी प्रतिबन्धमा राहतजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ । जेनेभा बसाइका क्रममा अराघचीले स्विस तथा ओमानी अधिकारीसँग भेटघाट गर्नुका साथै अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी का महानिर्देशक राफेल ग्रोसी सँग पनि भेट गर्ने कार्यक्रम छ । ईरानले दुवै पक्षलाई आर्थिक लाभ हुने नयाँ परमाणु सम्झौता चाहेको जनाएको छ । सन् २०२५ को मध्यतिर भएको १२ दिने संघर्ष र गत वर्ष इजरायल सँगको तनावपछि वार्ता रोकिएको थियो । हाल ईरानसँग उच्च स्तरमा संवर्धित युरेनियमको ठूलो भण्डार रहेको भन्दै अन्तर्राष्ट्रिय चिन्ता बढेको छ । तर ईरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । यसैबीच संयुक्त राज्य अमेरिका ले मध्यपूर्वमा सैन्य उपस्थिति बढाउँदै युएसएस अब्राहम लिंकन र युएसएस गेरल्ड आर फोर्ड विमानवाहक पोत तैनाथ गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक इरान सहमतिमा नआएमा बल प्रयोग गर्ने चेतावनी दिदै मध्यपूर्वमा आफ्नो सैन्य शक्ति तैनाथ गरेर दबाब दिदै आएका छन् । सभापति थापाले चुनाव केन्द्रित आफ्ना धारणा सार्बजनिक गर्ने क्रममा विभिन्न क्षेत्रको विकास र त्यसमा पार्टीको धारणा भिडियो सन्देश जारी गर्दै बताउदै आएका छन् ।

१८- भ्रष्टाचार काण्डमा मुछिएका युक्रेनका पूर्वमन्त्री हर्मन हलुश्चेन्कोलाई देश छाड्ने प्रयासका क्रममा पक्राउ गरिएको छ । गत वर्ष भ्रष्टाचार काण्डमा मुछिएपछि सरकारी पदबाट हटाइएका उनी रेलमार्फत सीमा पार गर्ने क्रममा नियन्त्रणमा लिइएको बताइएको छ । उनी कहाँ जाने तयारीमा थिए भन्ने खुलाइएको छैन । गत नोभेम्बर सार्वजनिक भएको करिब १० करोड अमेरिकी डलर बराबरको कथित हिनामिना योजनामा उनीसहित सरकारका केही उच्च पदाधिकारीहरू संलग्न रहेको आरोप लागेको थियो । यस प्रकरणले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशासनमाथि ठूलो दबाब सिर्जना गरेको थियो । राष्ट्रपतिको प्रमुख सल्लाहकार एन्ड्रीय यरमाकको घरमा छापा परेपछि उनले पदबाट राजीनामा दिएका थिए, यद्यपि राष्ट्रपति वा यरमाकमाथि कुनै औपचारिक आरोप भने लगाइएको छैन । युक्रेनको राष्ट्रिय भ्रष्टाचार नियन्त्रण ब्युरो (नाबु) ले जारी विज्ञप्तिमा राज्य सिमाना पार गर्ने क्रममा पूर्व मन्त्री  हलुश्चेन्कोलाई नियन्त्रणमा लिइएको जनाएको छ । यद्यपि विज्ञप्तिमा नाम उल्लेख नगरिए पनि युक्रेनका प्रमुख सञ्चारमाध्यमहरूले उनलाई हलुश्चेन्को नै भएको बताएका छन् । अपरेशन मिडास नाम दिइएको १५ महिनाको अनुसन्धानपछि नाबु र भ्रस्टाचार नियन्त्रण कार्यालयले ऊर्जा क्षेत्रमा, विशेषगरी राष्ट्रिय आणविक कम्पनी इनारगोटाममा ठेक्का सम्झौताबाट १० देखि १५ प्रतिशतसम्म कमिसन असुल्ने योजनाबद्ध जालो सञ्चालन भएको आरोप लगाएका छन् । ठूलो रकम नगदमा संकलन गरी विदेश-रूससम्म-पठाइएको दाबी गरिएको छ । सीमापार भाग्न सक्ने सूचना पाएपछि सुरक्षाकर्मीलाई सतर्क रहन भनिएको र पक्राउपछि उनलाई थप सोधपुछका लागि किभ लैजाँदै गरिएको बताइएको छ। हलुश्चेन्कोले भने आरोपहरूविरुद्ध कानुनी रूपमा प्रतिरक्षा गर्ने बताएका छन् । यसै प्रकरणमा पूर्व उपप्रधानमन्त्री ओलेक्सीय चेर्निशोभ अवैध सम्पत्ति आर्जनको आरोपमा पक्राउ परिसकेका छन् भने व्यवसायी तिमुर मिन्दिच देश छाडेर फरार भएको बताइएको छ । रूसले युक्रेनको ऊर्जा संरचनामाथि आक्रमण तीव्र बनाइरहेको कठोर जाडोको समयमा ऊर्जा क्षेत्रमै भ्रष्टाचार भएको आरोप बाहिरिएपछि देशभित्र व्यापक आक्रोश फैलिएको छ । भ्रष्टाचार नियन्त्रण युक्रेनको युरोपेली संघ सदस्यता प्रक्रियाको प्रमुख शर्तसमेत मानिन्छ ।

१९- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि फागुन १८ गते राति १२ बजेसम्म चुनावी प्रचार प्रसारको समय निर्धारण गरेको छ । आयोगले सरोकारवाला सबै पक्षलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ गते राति १२ बजेदेखि राजनीतिक दल र उम्मेदवारहरूले प्रचार प्रसार सुरु गर्न पाउनेछन् । निर्वाचन आचारसंहिता २०८२ मा दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला लगायतका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरण स्पष्ट उल्लेख गरिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयावधि फागुन ४ देखि १८ गते राति १२ बजेसम्म कायम रहने जानकारी दिएका छन् । आयोगले प्रचारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूलाई आचारसंहिता अक्षरशः पालना गर्न आग्रह गरेको छ । निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै सबै पक्ष जिम्मेवार बन्नुपर्ने आयोगको भनाइ छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि आयोगले विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ । आयोगले उल्लंघनका कारण स्पष्टीकरण सोध्ने वा कानुनी कारबाही गर्नुपर्ने अवस्था नआओस् भन्ने अपेक्षा राखेको पनि जनाएको छ । निर्वाचन आचारसंहिता राजनीतिक दल तथा सरोकारवाला पक्षसँग व्यापक परामर्शपछि उनीहरूको सहमतिमा तयार गरिएको दस्तावेज भएको आयोगले स्पष्ट पारेको छ ।

२०- भारतले पाकिस्तानलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत समुह ए को आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको हो । भारतले दिएको १७६ रनको लक्ष्य पछाएको पाकिस्तान १८ ओभरमा अल आउट हुदै ११४ रन बनाएको हो । पाकिस्तानका लागि उसमान खानले सर्बाधिक ४४ रन बनाए भने शाहिन शाह अफ्रिदीले अविजित २३ रन बनाएका थिए । त्यस्तै शडाब खानले १४ रन बनाए भने फाहिम अशरफले १० रन बनाएका थिए । त्यस्तै भारतीय बलर हार्दिक पाण्डेय, जसप्रित बुमराह, अक्सर पटेल र वरुण चक्रवर्तीले २-२ विकेट लिएका थिए । त्यस्तै कुलदीप यादव र तिलक बर्माले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । भारतका लागि इशान किशनले सर्बाधिक ७७ रन बनाए भने कप्तान सुर्य कुमार यादवले ३२, तिलक बर्माले २५, शिभम दुवेले २७ र रिंकु सिंहले अविजित ११ रन बनाए । त्यस्तै पाकिस्तानका बलर सैम आयुबले ३ विकेट लिए भने सलमान आघा, शाहिन शाह अफ्रिदी र उस्मान तारिकले एक एक विकेट लिए । यो जितपछि भारतले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक हासिल गर्दै सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै पाकिस्तानको भने ३ खेलमा ४ अंक रहेको छ र समुह ए मा तेस्रो स्थानमा झरेको छ । अब समुह चरणको अन्तिम खेलमा पाकिस्तानले बुधबार नामिबियाको सामना गर्ने छ भने भारतले बुधबार नै नेदरल्याण्डसको सामना गर्ने छ ।

#समाचारबुलेटिन #Top20News #NepalNews #DailyUpdate #BreakingNews #CurrentAffairs #NewsHighlights #PoliticalNews #EconomicUpdate #SocialNews #SportsNews #EntertainmentNews #NationalNews #InternationalNews #NewsSummary #TodayHeadlines #NepalToday #NewsNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages