‘बदर मत घटाउन टोल–टोलमा स्वयंसेवक: सुशासन र प्रविधिको फ्युजन’

 

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा सुशासन प्रवाह गर्न निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।

Nepal life insurance

विगतका निर्वाचनमा धेरै चासो नदेखाउने र आफ्नै काममा व्यस्त रहने नागरिकहरू समेत यसपटक निर्वाचनप्रति निकै सचेत देखिएको उहाँको विश्लेषण छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पहिलेको तुलनामा मतदाताहरूको मनोविज्ञानमा ठूलो परिवर्तन आएको दाबी गर्नुभयो । नागरिकहरू अहिले निर्वाचनको महत्व बुझेर स्वयंस्फूर्त रूपमा तयारीमा लागेको उहाँको भनाइ छ । युवाहरूले निर्वाचनलाई केवल मतदानको प्रक्रिया मात्र नभई सुशासनको कडीका रूपमा बुझेको भण्डारीको तर्क छ ।

गाउँगाउँ र टोलटोलमा मतदाता शिक्षा
मतदाता नामावलीमा नाम समावेश गर्नेदेखि लिएर गाउँगाउँ र घरघरमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने कार्यमा युवाहरू अगाडि सरेकोमा आयोगले खुशी व्यक्त गरेको छ । ‘अहिले गाउँगाउँ, टोलटोल र घरघरमा उहाँहरूले मतदाता शिक्षा प्रदान गरिरहनुभएको छ ।’ भण्डारीले उल्लेख गर्नुभयो । यो सक्रियताले निर्वाचन आयोगको बोझ कम मात्र गरेको छैन, बरु लोकतन्त्रको जरालाई अझ मजबुत बनाएको छ ।

मतदान प्रतिशत बढ्ने र बदर मत घट्ने आयोगको विश्वास
बढ्दो जनचेतना र सक्रियताका आधारमा यसपटक मतदानको प्रतिशत उल्लेख्य रूपमा बढ्ने र बदर मतको संख्या घट्ने आयोगको अपेक्षा छ ।
कार्यवाहक प्रमुख आयुक्तले भन्नुभयो, ‘मतदानको प्रक्रियामा पहिलाको भन्दा थुप्रै प्रतिशत मतदान पनि बढ्छ र मत बदर हुने क्रम पनि अथवा प्रतिशत पनि घट्छ । सबै मत सदर भएर मतदान हुन्छ भन्ने आयोगले विश्वास गर्छ ।’
यस दाबीलाई पुष्टि गर्ने थुप्रै आधारहरू रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

बदर मत घटाउने लक्ष्य
विगतका निर्वाचनको तुलनामा यस पटक मतदानको प्रतिशत बढ्ने र बदर मतको संख्या घट्नेमा आयोग विश्वस्त रहेको छ । स्वयंसेवकहरू घर–दैलोमा पुगेर मतदान प्रक्रिया सिकाउन सक्रिय रहेको र आयोगले दैनिक रूपमा मतदाता शिक्षा प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

डिजिटल मिडिया र निर्वाचन प्रचारको बदलिँदो स्वरूप
प्रमुख आयुक्त भण्डारीले परम्परागत सञ्चार माध्यमको तुलनामा अहिले सामाजिक सञ्जालको प्रभाव निकै बढेको बताउनु भयो ।
‘फेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता प्लेटफर्महरू निर्वाचन प्रचारका मुख्य माध्यम बनेका छन् ।’ उहाँले भन्नुभयो, ‘अहिले मतदाताको रुचि र व्यवहार विश्लेषण गरेर ‘माइक्रो टार्गेटिङ’ मार्फत प्रचार गर्ने क्रम बढेको छ । यस्तो बेला गलत सूचना र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग हुन सक्नेतर्फ हामी सजग हुनुपर्छ ।’

मौन अवधिको गरिमा र मतदाताको विवेक
निर्वाचन हुनु ४८ घण्टा अगाडिदेखि शुरु हुने ‘मौन अवधि’ (प्रचारप्रसार निषेध गरिएको समय) को विशेष महत्व रहेको बताउनु भयो । उहाँले यसलाई मतदाताले आफ्नो अन्तरात्माको आवाज सुन्ने समयका रूपमा व्याख्या गर्नुभयो । ‘दलहरूको दबाब, भीडको चिच्याहट र सामाजिक सञ्जालको प्रदुषणबाट मुक्त भई मतदाताले स्वतन्त्र निर्णय गर्न पाउनुपर्छ ।’ भण्डारीले भन्नुभयो, ‘निर्वाचन केवल जित्ने साधन मात्र होइन, यो जनताको मन जित्ने संस्कारयुक्त प्रक्रिया पनि हो ।’

images

प्रेस स्वतन्त्रता र आयोगको अडान
पछिल्लो समय आयोग र सञ्चार जगतबीच केही विषयमा देखिएको असमझदारीलाई स्पष्ट पार्दै उहाँले आयोग प्रेस स्वतन्त्रताको कट्टर हिमायती रहेको बताउनु भयो । यद्यपि, मतदान हुनुअघि नै गरिने ‘मत सर्वेक्षण’ र हारजितको अनुमानले प्रतिष्पर्धाको वातावरण बिगार्ने भन्दै त्यस्ता कार्य नगर्न उहाँले अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘स्वतन्त्रताको नाममा निर्वाचनको मर्यादा र मतदाताको गोप्य रूपमा मत दिन पाउने अधिकारको रक्षा गर्नु हामी सबैको साझा संवैधानिक कर्तव्य हो ।’

‘०८४ अगाडिको विद्रोह’ र २१ गतेको निर्वाचनको महत्व
कतिपयले निर्वाचन अगाडि नै ल्याइएको भन्ने जिज्ञासाको उत्तर दिँदै उहाँले मुलुकको भड्किएको अनुशासनलाई लयमा ल्याउने एक मात्र प्रक्रिया निर्वाचन भएको दाबी गर्नुभयो । भदौ २३ र २४ गतेको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, ‘मुलुकको शान्ति र अमनचयन भड्कियो भने त्यसलाई लयमा ल्याउने माध्यम निर्वाचन मात्र हो । २१ गतेको निर्वाचन सफल पार्नु हामी सबैको दायित्व हो ।’

images

युवा र ‘जेन—जी’ को उत्साहजनक सहभागिता
यस पटकको निर्वाचनमा युवा वर्ग, विशेषगरी ‘जेन—जी’ को उपस्थिति र चासो निकै बढेकोमा आयोगले खुशी व्यक्त गरेको छ । भण्डारीकाअनुसार करिव ८ देखि १० लाख नयाँ मतदाता नामावलीमा थपिएका छन् । युवाहरूले मुलुकमा सुशासनका लागि निर्वाचनको महत्व बुझेर गाउँ–गाउँमा मतदाता शिक्षामा सहयोग गरिरहेको उहाँले बताउनु भयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन सञ्चार जगत र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको भुमिका अपरिहार्य रहेको बताउनु भयो । आगामी निर्वाचनको सन्दर्भमा आयोगद्वारा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले डिजिटल प्रविधिको युगमा सही सूचना संप्रेषण गर्नु नै अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्नुभएको हो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले कलाकारहरूलाई ‘राष्ट्रका गहना’ को संज्ञा दिँदै समाजलाई सही मार्गनिर्देशन गर्न र तथ्यपरक सूचना प्रवाहमा नेतृत्व लिन आग्रह गर्नुभयो ।

images

#BadarMat #Election2026 #GoodGovernance #TechnologyFusion #NepalElections #VolunteerCampaign #DigitalNepal #ElectionAwareness #SmartGovernance #CurrentAffairs #NepalNews #PoliticalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages