

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ-२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले नेकपा एमालेका उम्मेदवार महासचिव शंकर पोखरेललाई समर्थन गर्ने निर्णय गरेको छ ।

प्रलोपा र एमालेबीच भएको सहमतिअनुसार कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा आपसी सहयोग गर्ने समझदारी बनेको थियो । सोहीअनुसार दाङका तीनै क्षेत्रमा प्रलोपाले प्रत्यक्षतर्फ एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको हो ।

दाङ- २ मा प्रलोपाबाट उम्मेदवार रहेका प्रतिक अधिकारीको उम्मेदवारी निष्क्रिय गर्दै एमाले उम्मेदवारलाई समर्थन गरिएको छ भने दाङ- ३ मा प्रलोपाका घनश्याम डाँगीको उम्मेदवारी यसअघि नै निष्क्रिय गरी एमाले उम्मेदवार घनश्याम पाण्डेलाई सघाउने निर्णय गरिएको थियो । त्यस्तै प्रलोपाले दाङ- १ मा भने उम्मेदवारी दर्ता नै गरेको थिएन ।

दाङ- २ मा नेपाली कांग्रेस का किरणकिशोर घिमिरे, नेपाल कम्युनिस्ट पार्टीका निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य मुख्य प्रतिस्पर्धामा छन् ।
यस क्षेत्रबाट अघिल्लो चुनावमा तत्कालिन माओवादी केन्द्रबाट काँग्रेसको समर्थनमा उम्मेदवार बनेकी रेखा शर्मा विजयी भएकी थिइन् । उनी यस पटक उम्मेदवार बनेकी छैनन् ।
#ARGHAKHANCHICOM



