‘आफूलाई बदलौँ, अनि देश बदलिन्छ’: उपसभापति शर्मा

 

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको विद्यमान राजनीतिक र सामाजिक परिस्थितिलाई सम्बोधन गर्न नेपाली काँग्रेस ‘नयाँ अवतार’ मा मधेस आएको उद्घोष गर्नुभएको छ । मधेसको ऐतिहासिक र उर्वर भूमिबाट देशवासीलाई सम्बोधन गर्दै शर्माले आगामी निर्वाचन केवल सत्ता प्राप्तिको माध्यम मात्र नभई संकटमा परेको देशलाई सम्हाल्ने र नागरिकको घाउमा मलम लगाउने महायज्ञ भएको बताउनु भयो ।

स्वर्गीय नेताहरूको योगदानलाई स्मरण गर्दै उपसभापति शर्माले मधेस र देश रूपान्तरणको अधुरो यात्रा पूरा गर्ने प्रतिज्ञा गर्नुभयो । उहाँले मधेसलाई नेपालको ‘अन्न भण्डार’ र ‘पेट भर्ने भूमि’ को रूपमा सम्मान गर्दै किसानको पसिना र अन्नको एक–एक दानाप्रति पार्टीको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभयो ।

पार्टीको ‘एमआरआई’ रिपोर्ट र ८२ को निर्वाचन
उपसभापति शर्माले आगामी २०८२ सालमा हुने भनिएको निर्वाचनको औचित्य पुष्टि गर्दै पार्टीले विशेष महाधिवेशनमार्फत देशको अवस्थाको ‘एक्स–रे’ र ‘एमआरआई’ गरेको खुलासा गर्नुभयो । ‘८४ मा हुनुपर्ने निर्वाचन ८२ मै किन हुँदैछ भन्ने प्रश्नको उत्तर स्पष्ट छ— देश र मधेस दुखिरहेको छ ।’ शर्माले भन्नुभयो, ‘काँग्रेसले विशेष महाधिवेशनबाट पहाडदेखि मधेससम्म, र नागरिकदेखि युवाहरूसम्म कहाँ–कहाँ पीडा छ, को–को किन रिसाएका छन् भन्ने कुराको सुक्ष्म अध्ययन गरेको छ । अब हामी त्यो रिपोर्टका आधारमा समस्या समाधान गर्ने सङ्कल्पसहित आएका छौँ ।’

उहाँले यो बेला कसलाई जिताउने भन्ने गौण प्रश्न भएको भन्दै मुख्य प्रश्न विषम परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ भन्ने रहेको बताउनु भयो । काँग्रेस त्यो जिम्मेवारी लिन तयार रहेको उहाँको भनाइ छ ।

मध्यमार्गी सोचः जेन—जीदेखि अल्फासम्मको चुनौती
पछिल्लो समय विकसित भएका राजनीतिक प्रवृत्तिहरूको आलोचना गर्दै शर्माले काँग्रेस ‘मध्यमार्गी’ सोचका साथ अघि बढ्ने बताउनु भयो । उहाँकाअनुसार एकथरी शक्ति ‘सबै ठिक छ’ भन्ने भ्रममा छन् भने अर्काथरी ‘सबै भ्रष्ट र खराब छन्’ भन्ने चरम नकारात्मकता फैलाइरहेका छन् । यी दुवै सोच गलत रहेको जिकिर गर्दै उहाँले युवाहरूको असन्तोषलाई बेलैमा सम्बोधन नगरे भविष्यमा ठूलो संकट आउने चेतावनी दिनुभयो ।

‘यदि आज हामीले जेन—जी पुस्ताको विद्रोह र भावनालाई बुझ्न सकेनौँ भने, आगामी १० वर्षपछि अल्फा पुस्ताको नेतृत्वमा हुने अझ ठूलो विस्फोट बेहोर्नुपर्नेछ ।’ शर्माले भन्नुभयो, ‘दशक–डेढ दशकपछि फेरि आमाहरूको काख रित्तिने र सिंहदरबार जल्ने दृश्य हेर्न हामी तयार छैनौँ । त्यसैले पुरानाले नबदलिई नयाँ परिणाम दिन सकिँदैन भन्नेमा हामी प्रष्ट छौँ ।’

‘पहिले आफूलाई बदलौँ, अनि देश बदलिन्छ’
मधेसी भाषामा समेत सम्बोधन गर्दै शर्माले रूपान्तरणको शुरुवात आफैँबाट हुनुपर्नेमा जोड दिनुभयो ।
‘यहाँ यदि संसार बदल चाहै छि, देश बदल चाहै छि त सबसे पहिले अहाँ बदलु,’ (यदि तपाईं संसार र देश बदल्न चाहनुहुन्छ भने पहिले आफैँ बदलिनुस्) भन्दै उहाँले काँग्रेस कार्यकर्ताहरूलाई नयाँ सोचका साथ जनताको बीचमा जान निर्देशन दिनुभयो ।

images

उहाँले काँग्रेस ‘पुरानो’ भएकोमा गर्व गर्दै भन्नुभयो, ‘धर्ती पुरानो छ, धर्मग्रन्थहरू पुराना छन् र देश पनि पुरानो छ । पुरानो हुनु भनेको अनुभव र निकासको स्रोत हुनु हो । काँग्रेसले हरेक मोडमा देशलाई निकास दिएको इतिहास छ र भविष्यमा पनि दिनेछ ।’

राष्ट्रिय संवाद र संवैधानिक सुधारको अपिल
उपसभापति शर्माले सबै राजनीतिक दलहरूलाई राष्ट्रिय संवादमा आउन अपिल गर्नुभयो । उहाँले निर्वाचनपछि बन्ने सरकारले संविधानमा केही आधारभूत सुधार गर्नुपर्ने प्रश्ताव अघि सार्नुभयो । जसमा ५ वर्षसम्म स्थिर प्रधानमन्त्री रहने सुनिश्चितता र दक्षिण अफ्रिकाको जस्तै साझा संवैधानिक सिद्धान्त निर्माण गर्ने सोच समावेश छ ।

images

‘हामी सुशासन, समुन्नति र सद्भावको सङ्कल्प लिएर आएका छौँ ।’ शर्माले भन्नुभयो, ‘निर्वाचनको मैदान दुश्मनको अखडा होइन, यो विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो । काँग्रेसले कसैलाई दुश्मन देख्दैन, सबैलाई गाँसेर लैजाने अभिभावकीय भुमिका निर्वाह गर्छ ।’

मधेस र पहाडको एकताः ‘रुख’ र ‘गाछी’ को मनोविज्ञान
नेपाली काँग्रेसको बलियो आधार मधेस र पहाडको एकता भएको उल्लेख गर्नुभयो ।
शर्माले भन्नुभयो, ‘काँग्रेसको दुई हात मधेस र पहाडको साथ हो । हामी मधेसमा टोपीको सम्मान र पहाडमा धोतीको आत्मसम्मान खोज्न उभिएका छौँ ।’ उहाँले आगामी फागुन २१ गतेसम्म पुग्दा सिङ्गो देश ‘रुख’ र ‘गाछी’ (रुखको मधेसी शब्द) को मनोविज्ञानमा गोलबन्द हुने दाबी गर्नुभयो ।

images

उहाँले प्रवासमा रहेका नेपालीहरूको नागरिकता र लगानीको सुरक्षा गर्ने तथा उनीहरूलाई आगामी दिनमा मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिज्ञा पनि दोहो¥याउनु भयो ।
आगामी निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गर्न र ‘भिजन १०’ लाई अनुमोदन गर्न उहाँले उपस्थितलाई आह्वान गर्नुभयो ।

#उपसभापतिशर्मा #आफूलाईबदलौँ #देशबदलिन्छ #सकारात्मकपरिवर्तन #नेपालराजनीति #नेतृत्व #प्रेरणादायीविचार #मुख्यसमाचार #समसामयिकसमाचार #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages

Nepal life insurance