अमेरिकासहित भएको रुस-युक्रेन युद्ध अन्त्यको वार्ता निष्कर्षविहीन

 

काठमाडौँ । रूस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्यका लागि भएको त्रिपक्षीय शान्ति वार्ता कुनै ठोस सहमति बिना टुंगिएको छ ।

जेनेभामा भएको वार्ता कठिन रहेको दुवै पक्षले स्वीकार गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ता सहज नभएको बताएका छन् भने रूसी वार्ताकारले छलफललाई ‘कठिन तर औपचारिक’ भएको  बताएका छन् ।

Nepal life insurance

वार्तामा युद्धरेखा र युद्धविराम अनुगमनजस्ता सैन्य विषयमा केही प्रगति भए पनि भूभागको मुद्दामा सहमति हुन नसकेको बताइएको छ । रूसले डोनबास क्षेत्रमाथि पूर्ण नियन्त्रणको माग दोहोर्‍याइरहेको छ, जसलाई युक्रेनले अस्वीकार्य बताएको छ ।

यसैबीच अमेरिकी नेतृत्वमा भएको पहल जारी रहने जनाइएको छ र दुवै पक्षले निकट भविष्यमा फेरि वार्ता हुने संकेत दिएका छन् । चार वर्ष नजिकिएको युद्ध अझै समाधानतर्फ अघि बढ्न नसक्दा क्षेत्रीय सुरक्षा र मानवीय संकट कायमै रहेको छ ।

युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासप्रति डोनाल्ड ट्रम्प प्रशासनले चासो देखाउँदै आएको भए पनि दुवै पक्षबीचको दूरी अझै कायम छ । यसबीच सुरक्षा ग्यारेन्टी, कैदी आदानप्रदान र आणविक ऊर्जा केन्द्रको नियन्त्रणजस्ता विषय पनि वार्ताका जटिल अड्चनका रूपमा देखिएका छन् । लगातार हवाई आक्रमण र मानवीय क्षतिका कारण युद्धको असर युक्रेनी जनजीवनमा अझै गहिरो रूपमा देखिँदै गएको छ।

 

Nepal life insuranceimagesimages