

काठमाडौँ । नासाले पृथ्वी नजिक करिब २५ हजार मध्यम आकारका एस्टेरोयड (क्षुद्रग्रह) परिक्रमा गरिरहेको चेतावनी दिएको छ । तीमध्ये आधाभन्दा बढीको पहिचान र अवस्थाबारे अझै स्पष्ट जानकारी नभएको जनाइएको छ । यस्ता एस्टेरोयडले कुनै क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने क्षमता राख्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

नासाको प्लानेटरी डिफेन्स विभाग प्रमुख केली फास्टले अमेरिकन एसोसियसन फर द एडभान्समेन्ट अफ साइन्सको कार्यक्रममा बोल्दै ‘हामीलाई थाहा नै नभएका एस्टेरोयड नै सबैभन्दा ठूलो चिन्ताको विषय हुन्’ भन्ने बताइन्। उनका अनुसार अत्यन्त साना र अत्यन्त ठूला वस्तुहरू ट्र्याक गर्न सकिए पनि करिब १४० मिटर आकारका ‘सिटी-किलर’ एस्टेरोयड अझै निगरानीबाट बाहिर छन् । यिनले विश्वव्यापी विनाश नगरे पनि क्षेत्रीय तहमा ठूलो तबाही मच्चाउन सक्ने चेतावनी दिइएको छ ।
अनुमानअनुसार यस्ता २५ हजारमध्ये हालसम्म करिब ४० प्रतिशत मात्र पहिचान गरिएको छ ।

यसैबीच जोन होपकिन्स युनिभर्सिटीकी वैज्ञानिक डॉ. नैन्सी चाबोटले पनि जोखिमप्रति चिन्ता व्यक्त गरेकी छन् । उनले सन् २०२२ मा नासाको डार्ट मिसनको नेतृत्व गरेकी थिइन् । उनका अनुसार १४० मिटर आसपासका ५० प्रतिशतभन्दा बढी एस्टेरोयडको अवस्थाबारे अझै जानकारी अपूर्ण छ ।
नासाले हाल अचानक पृथ्वी तर्फ आउने एस्टेरोयडलाई मोड्न वा नष्ट गर्न सक्षम सक्रिय प्रविधि पूर्ण रूपमा तयार नभएको स्वीकार गरेको छ । यस्तो आपतकालीन अवस्थाका लागि पर्याप्त लगानी र तयारीको अभाव रहेको पनि उल्लेख गरिएको छ । तत्काल प्रक्षेपण गर्न मिल्ने वैकल्पिक अन्तरिक्षयान ‘स्ट्यान्डबाइ’ मा नरहेको वैज्ञानिकहरूले स्पष्ट पारेका छन् ।
विशेषज्ञहरूका अनुसार क्षुद्रग्रहहरू सूर्यको परिक्रमा गर्ने खगोलीय पिण्ड हुन् । तिनको निगरानी, पहिचान र प्रतिरक्षा प्रणाली सुदृढ नगरे भविष्यमा पृथ्वीका लागि गम्भीर जोखिम निम्तिन सक्ने चेतावनी दिइएको छ।
#नासा #एस्टेरोयड #अन्तरिक्षसमाचार #पृथ्वीसुरक्षा #अन्तरिक्षअनुसन्धान #वैज्ञानिकअपडेट #विश्वसमाचार #समसामयिकसमाचार #मुख्यसमाचार #SpaceNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



