प्रधानमन्त्री रहमानको पहिलो सम्बोधन: शान्ति सुरक्षा र भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता

 

काठमाडौँ । तारिक रहमानले  बंगलादेशको प्रधानमन्त्री पद सम्हालेपछि राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै कानून व्यवस्था स्थिर बनाउने र भ्रष्टाचारमाथि कडाइ गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको घोषणा गरेका छन् ।

Nepal life insurance

मंगलबार शपथग्रहणपछि बुधबार राति ११ मिनेट लामो सम्बोधनमा उनले देश अघिल्लो शासनको भ्रष्टाचार, कुशासन र कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा नयाँ सरकारले जिम्मेवारी सम्हालेको बताए ।

बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का अध्यक्षसमेत रहेका रहमानले विधिको शासन नै राज्य सञ्चालनको मूल आधार हुने स्पष्ट पारे । उनले भने- ‘हामी प्रत्येक नागरिकका लागि सुरक्षित, आत्मनिर्भर, मानवीय र लोकतान्त्रिक बंगलादेश निर्माण गर्न चाहन्छौं ।’

उनले पार्टी, धर्म, जाति वा भौगोलिक अवस्थाको आधारमा कसैप्रति विभेद नहुने उल्लेख गर्दै सरकार सबै नागरिकको साझा सरकार हुने बताए । उनले भने- ‘तपाईंले बिएनपीलाई मत दिनुभएको होस् वा नदिनुभएको होस्, यो सरकारमा सबैको समान अधिकार छ ।’

हालै सम्पन्न निर्वाचनमा बीएनपीको भारी बहुमतपछि रहमानसहित ४९ सदस्यीय मन्त्रिपरिषद्ले मंगलबार शपथ लिएको थियो । उनले बुधबार सचिवालयमा पहिलो मन्त्रिपरिषद् बैठकसमेत अध्यक्षता गरेका थिए ।

प्रधानमन्त्री रहमानले जुवा र लागुऔषधको फैलावट कानून व्यवस्था बिग्रिनुको प्रमुख कारण भएको उल्लेख गर्दै नियन्त्रणका लागि कडा कदम चालिएको जानकारी दिए । साथै रमजान महिनाको अवसरमा व्यापारीलाई कृत्रिम अभाव सिर्जना गरी नाफाखोरी नगर्न आग्रह गरे ।

उनले इफ्तार, सहरी र तरावीह नमाजका समयमा ग्यास, पानी र बिजुली आपूर्ति अवरुद्ध नहुने सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए । आवश्यक उपभोग्य वस्तुको मूल्य सर्वसाधारणको पहुँचभित्र राख्न व्यवसायीलाई सचेत रहन आग्रह गर्दै उनले सबै प्रकारका सिन्डिकेट र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

ढाकासहित प्रमुख सहरमा बढ्दो ट्राफिक जाम गम्भीर समस्या बनेको उल्लेख गर्दै राजधानीमा जनसंख्या चाप घटाउन वैकल्पिक उपाय आवश्यक भएको उनले बताए । देशभर रेल सेवा सुदृढ गरी नागरिकलाई आफ्नै जिल्लाबाट काम, अदालत वा व्यापारिक गतिविधि गर्न सहज बनाउने योजना अघि बढाइएको जानकारी दिए । रेल, जलमार्ग, सडक र पुल मन्त्रालयबीच समन्वय र पुनर्संरचना थालिएको उनले बताए ।

प्रधानमन्त्रीले ठूलो जनसंख्यालाई सीपयुक्त जनशक्तिमा रूपान्तरण गर्न सके त्यो नै राष्ट्रको शक्ति बन्ने उल्लेख गरे । युवा तथा विद्यार्थीलाई सीप, ज्ञान र प्रविधिमा दक्ष बनाउन सरकार पूर्ण सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

सरकारी स्रोतको दुरुपयोग रोक्न सबैलाई मितव्ययी बन्न आह्वान गर्दै रहमानले उदाहरणका रूपमा बिएनपीका सांसदहरूले कर छुटसहित गाडी आयात नगर्ने र सरकारी सुविधा प्रयोग गरी जग्गा नलिने निर्णय गरेको जानकारी दिए ।

करिब १८ वर्ष विदेश बसाइपछि गत डिसेम्बर २५ मा स्वदेश फर्किएका रहमानले चुनावअघि सार्वजनिक गरेका योजनाहरू कार्यान्वयन सुरु भइसकेको दाबी गरे । उनले भने- ;जनताले दिएको विश्वासलाई अवसरका रूपमा लिएर सबै प्रतिबद्धता पूरा गर्नेछौं ।’

प्रधानमन्त्रीले आगामी दिनमा पनि जनताको निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।

#प्रधानमन्त्रीरहमान #पहिलासम्बोधन #शान्तिसुरक्षा #भ्रष्टाचारनियन्त्रण #सरकारकोप्राथमिकता #नेपालराजनीति #राष्ट्रियसमाचार #मुख्यसमाचार #समसामयिकअपडेट #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages