

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकमा विथोलिएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

दशौँ निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई निर्धक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल गर्नुभएको हो । गत भदौ २३ र २४ गते भएको ‘जेन–जी विद्रोह’ पछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुन अब १४ दिन मात्र बाँकी छ । यो विशेष परिस्थितिलाई सङ्केत गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आयोगको मूल मन्त्र ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ लाई आत्मसात गर्न सबैलाई आग्रह गर्नुभएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते बालिग मताधिकारका आधारमा आम निर्वाचन शुरु भएको दिनको सम्झनामा आज निर्वाचन दिवस मनाइँदैछ ।
‘विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउन निर्वाचन सफल पारौँ’– कार्यवाहक प्रमुख आयुक्त भण्डारी
‘विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास’
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आगामी फागुन २१ को निर्वाचन आम नागरिकका लागि विशेष र अविस्मरणीय रहेको वताउनु भयो । विशेष राजनीतिक परिस्थिति र विद्रोहपछि हुन लागेको निर्वाचनले मुलुकलाई स्थायित्व दिने विश्वाश व्यक्त गर्नुभयो ।
सन्देशमा भण्डारीले भन्नुभयो , ‘‘स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवं मितव्ययी निर्वाचन शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सबै सरोकार भएकाहरूसँगको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा यही फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास गरेको छु ।’’
‘निर्वाध प्रचारप्रसार र सुरक्षाको प्रत्याभुति’
निर्वाचनको मुखमा राजनीतिक दल र उम्मेदवारलाई प्रचारप्रसारमा कुनै अवरोध हुन नहुनेमा भण्डारीले जोड दिनुभएको छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले उम्मेदवारहरूलाई तथ्य र तर्कका आधारमा प्रतिष्पर्धा गर्न र मतदातालाई स्वतन्त्रतापूर्वक मताधिकार प्रयोग गर्न आह्वान गर्नुभएको छ । आयोगले उम्मेदवार र मतदाताको अधिकार कुण्ठित हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै कार्यवाहक प्रमुख आयुक्त ‘‘राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाध रूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदाताहरूलाई आवश्यक सुरक्षाको प्रत्याभुतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न म सरोकारवाला सबैसँग हार्दिक अपिल गर्दछु ।’’ उहाँले भन्नुभयो ।
सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाध सहभागी हुने अक्षुण्ण अधिकार रहेको संदेश मार्फत स्मरण पनि गराउनु भएको छ ।
‘आवधिक निर्वाचनः लोकतन्त्रको आधारस्तम्भ’
भिडियो सन्देशमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भुमिका अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । २०१५ सालको ऐतिहासिक सन्दर्भ जोड्दै उनले बालिग मताधिकारको प्रयोगले नै शासन व्यवस्थालाई वैधानिकता दिने बताउनु भयो ।
भण्डारीले सन्देशमा भन्नुभयो, ‘‘लोकतान्त्रिक व्यवस्थामा जनताको मनोभावना, अपेक्षा र निर्णयको अभिव्यक्ति आवधिक रूपमा प्रकट भइरहनु अनिवार्य हुन्छ । आम मतदाताले मताधिकारमार्फत प्रकट गर्ने अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो ।’’
उहाँले संविधान र कानूनको अधिनमा रही आयोगले आफ्नो संवैधानिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको समेत स्पष्ट पार्नुभयो ।



