

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले प्रजातन्त्र स्थापनाका लागि भएका ऐतिहासिक संघर्षमा जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका अग्रज नेतृत्वप्रति सम्मान प्रकट गरेका छन् ।

फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस वि.सं. २००७ सालको क्रान्तिको स्मरणमा मनाइँदै आएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले निरंकुश शासन विरुद्धको बलिदानीपूर्ण संघर्षबाट मानव अधिकार र नागरिक स्वतन्त्रता स्थापना भएको ऐतिहासिक तथ्य स्मरण गरेका छन् । जनताको सार्वभौमसत्ता स्थापित गर्ने आधार त्यही क्रान्ति रहेको उनले बताएका छन् ।
उनले लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा वर्तमान संविधान निर्माणको महत्वपूर्ण जग २००७ सालको आन्दोलन भएको उल्लेख गरेका छन् । प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्वलाई स्थायी बनाउनुका साथै सहिदहरूको योगदान सधैं स्मरण गराउने उनले बताए ।
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र सात दशकभन्दा लामो संघर्षको उपलब्धि भएको उल्लेख गर्दै लोकतन्त्रले सामाजिक न्याय, समानता, सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास व्यक्त गरे । संविधानले न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको स्मरण गराउँदै उनले सुशासनमार्फत विकास र समृद्धि हासिल गर्नु नै वर्तमान व्यवस्थाको प्रमुख उद्देश्य भएको बताए ।

यसै सन्दर्भमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउन सबै नागरिकको साझा दायित्व रहेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । उनले लोकतन्त्र सुदृढीकरण र जनताको अपेक्षा अनुरूप सुशासन सुनिश्चित गर्न निर्वाचनमा सक्रिय सहभागिताको अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि योगदान पुर्याउने सबैप्रति सम्मान व्यक्त गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्तिमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
#राष्ट्रपतिपौडेल #२००७सालकोक्रान्ति #जनताकोसार्वभौमसत्ता #नेपालइतिहास #लोकतन्त्र #राष्ट्रियसमाचार #राजनीतिकअपडेट #मुख्यसमाचार #समसामयिकसमाचार #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



