

बन्यजन्तु समस्या समाधान गर्ने मुस्कानको प्रतिबद्धता: विष्णु प्रसाद खनाल (मुस्कान), उम्मेदवार नेपाली कांग्रेस अर्घाखाँची
-अर्घाखाची डटकम सम्बाददाता।
अर्घाखाँची – ७ फागुन । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री तथा अर्घाखाँचीमा नेपाली कांग्रेसबाट उम्मेदवार विष्णु प्रसाद खनाल (मुस्कान)ले जिल्लामा बढ्दो बन्यजन्तु समस्याको दीर्घकालीन समाधानका लागि आफूले विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।


अर्घाखाँचीका विभिन्न गाउँबस्तीमा बादर, बदेल, दुम्सी लगायतका बन्यजन्तुको आतंकका कारण खेतीयोग्य जमिन बाँझिँदै गएको र ग्रामीण बस्ती रित्तिँदै गएको उल्लेख गर्दै उनले संरक्षण र व्यवस्थापन दुवै पक्षलाई सन्तुलनमा राखेर नीति निर्माण गर्नुपर्ने बताएका हुन् ।

मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै खनालले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए ।

उनले बन्यजन्तुले बालीनाली नष्ट गर्ने, पशुचौपायामा आक्रमण गर्ने तथा सर्वसाधारणको ज्यानै जोखिममा पार्ने समस्या गम्भीर बन्दै गएको बताए। “गाउँमा रातदिन त्रास छ, खेतबारी जोगाउन नसक्दा मानिसहरू बसाइँ सर्दैछन्,” उनले भने, “यस समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर प्रभावकारी कार्यक्रम ल्याउनेछु।”


खनालले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै सर्वसाधारणका लागि आधारभूत सेवा निःशुल्क बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै उनले आर्थिक अभावकै कारण कोही पनि उपचार र पढाइबाट वञ्चित हुन नपर्ने वातावरण निर्माण गर्ने बताए । अर्घाखाँचीका मोटरबाटो तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने उनले स्पष्ट पारे। ग्रामीण सडक स्तरोन्नति, पुलपुलेसा निर्माण तथा खानेपानी र सिंचाइ जस्ता आधारभूत संरचनामा लगानी बढाउनुपर्ने उनको भनाइ छ ।


कृषि, पशुपालन र पर्यटनलाई अर्घाखाँचीको आर्थिक मेरुदण्डका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

युवालाई सीप, प्रविधि र सहुलियतपूर्ण ऋणमार्फत स्वरोजगारतर्फ उन्मुख गराउने योजना अघि सार्दै उनले रोजगारीका अवसर सिर्जना भए बसाइँसराइ स्वतः रोकिने दाबी गरे । “विदेशिने बाध्यता हटाएर आफ्नै गाउँमा रोजगारी सिर्जना गर्नु हाम्रो लक्ष्य हो,” उनको भनाई छ ।

चुनावी प्रचारप्रसारका क्रममा स्थानीय बासिन्दाले बन्यजन्तु नियन्त्रण, कृषि सुरक्षा, सडक सुधार तथा स्वास्थ्य सेवामा सहज पहुँचको माग राखेका थिए । उम्मेदवार खनालले ती सबै मागलाई आफ्नो प्राथमिक कार्यसूचीमा समेट्ने आश्वासन दिएका छन् ।




