आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको संकट समाधानका लागि व्यापक सुधार योजना सार्वजनिक गरेको छ । पार्टीले साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्नेदेखि गैर-बैंकिङ वित्तीय क्षेत्रलाई कडा नियमनमा ल्याउनेसम्मका प्रतिबद्धता अघि सारेको हो । फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनावी वाचा पत्रमा रास्वपाले सहकारी र लघुवित्त संस्थालाई कर्जा सूचना केन्द्रसँग अनिवार्य रूपमा आबद्ध गराई क्षमताका आधारमा मात्र कर्जा प्रवाह सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेको छ । सहकारी सञ्चालक वा व्यवस्थापकप्रति ‘थुनेर होइन, सुनेर’ समाधान खोज्ने नीति अपनाइने उल्लेख गरिएको छ। यदि सञ्चालक पक्ष बचत रकम फिर्ता गर्न तयार भई भरपर्दो योजना प्रस्तुत गर्छ भने मिलापत्रको कानुनी बाटो खुला गरिने र समयसीमासहित रकम फिर्ताको ग्यारेन्टी गरिने जनाइएको छ । साना बचतकर्ताको रकम सुरक्षित गर्न ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरिने र संकटग्रस्त संस्थाका बचतकर्तालाई प्राथमिकताका आधारमा भुक्तानी दिने व्यवस्था गरिने पार्टीको भनाइ छ।

रास्वपाले सञ्चालकलाई कारबाही गर्नु मात्र नभई बचतकर्ताको रकम फिर्ता गराउनु मुख्य उद्देश्य भएको स्पष्ट पारेको छ। ५० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारी र लघुवित्तलाई नेपाल राष्ट्र बैंक को प्रत्यक्ष र कडा निगरानीमा ल्याइने तथा ‘घ’ वर्गका वित्तीय संस्था सरह मापदण्ड लागू गरिने जनाइएको छ। साना संस्थाका लागि उच्चाधिकार सम्पन्न दोस्रो तहको नियामक गठन गर्ने योजना पनि अघि सारिएको छ। ब्याजदरलाई आधार दरसँग जोडेर सीमित प्रिमियम मात्र लिन पाउने स्वचालित प्रणाली लागू गरी चर्को ब्याज र अनुचित शुल्क अन्त्य गर्ने प्रतिबद्धता गरिएको छ । यसैगरी, मिटरब्याज तथा अनुचित लेनदेनलाई आर्थिक अपराधका रूपमा परिभाषित गर्दै पाँच वर्षभित्र यस्तो जालो अन्त्य गर्ने र विगतका अवैध तमसुकहरूको छानबिनका लागि द्रुत न्याय कार्यदल गठन गरिने उल्लेख छ । अर्कोतर्फ, पार्टी सभापति रवि लामिछाने विरुद्ध सहकारी बचत अपचलनसम्बन्धी मुद्दा कास्की जिल्ला अदालत, काठमाडौं जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत, पर्सा जिल्ला अदालत र चितवन जिल्ला अदालतमा विचाराधीन छ भने उनी हाल धरौटीमा रिहा छन् । सहकारी क्षेत्रमा विश्वास पुनर्स्थापित गर्न कानुनी कडाइ र संरचनागत सुधार दुवै आवश्यक रहेको रास्वपाको निष्कर्ष छ । पार्टीले सार्वजनिक गरेको योजना कार्यान्वयनमा गएमा सहकारी क्षेत्रमा देखिएको अन्योल र अविश्वास हट्ने दाबी गरिएको छ ।

२- जारी टी- २० विश्वकप अन्तर्गत समूह चरणको खेलमा जिम्बाबेले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । ब्रायन बेनेटको आक्रामक अर्धशतकको मद्दतमा जिम्बाबेले उत्कृष्ट जित दर्ता गरेको हो । विहिबार कोलम्बोमा सम्पन्न यस विश्वकपको ३८औँ खेलमा श्रीलंकाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । जवाफमा जिम्बाबेले निर्धारित लक्ष्य तीन बल बाँकी रहँदा १८२ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्‍यो । कप्तान सिकन्दर राजाको नेतृत्वमा जिम्बाबेले समूह चरण अपराजित रहँदै समाप्त गरेको छ । चारमध्ये तीन खेलमा जित हासिल गरेको जिम्बाबेको एक खेल नतिजाविहीन बनेको थियो । सात अंकसहित जिम्बाबे समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ । पराजयसँगै घरेलु टोली श्रीलंका दोस्रो स्थानमा झरेको छ । श्रीलंका ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ। समूह ‘बी’ बाट जिम्बाबे र श्रीलंका दुवै टोलीले यसअघि नै सुपर ८ मा स्थान बनाइसकेका छन् । यसै समूहबाट आयरल्यान्ड, अष्ट्रेलिया र ओमानको यात्रा भने समूह चरणमै टुंगिएको छ । समूहको अन्तिम खेल शुक्रबार अष्ट्रेलिया र ओमानबीच हुने तालिका रहेको छ।

३- केहि दिन अगाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका  केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणा नेपाली कांग्रेस प्रवेश गरेका छन् । विहिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन् । राणा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र -५ बाट रास्वपाका उम्मेदवार बन्ने तयारीमा थिए । राणा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट काठमाडौँ- ५ को उम्मेदवार बनेर ५ हजार ४७७ मत प्राप्त गर्दै तेस्रो भएका थिए । रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्धति मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए । त्यस्तै काठमाडौंको क्षेत्र नम्बर ३ मा बलियो प्रभाव रहेका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेस प्रवेश गरेका छन् ।

४- न्यूयोर्कका मेयर जोहरान ममदानीले राज्यका नेताहरूले धनी व्यक्ति र ठूला कम्पनीमाथि थप कर लगाउने प्रस्ताव स्वीकृत नगरे न्यूयोर्कमा सम्पत्ति कर बढाउन बाध्य हुनुपर्ने चेतावनी दिएका छन् । न्यूयोर्क सहरको आम्दानीको प्रमुख स्रोतका रूपमा सम्पत्ति कर रहेको छ । उक्त कर वृद्धि भएमा सरकारलाई थप राजस्व प्राप्त हुने र बजेट घाटा घटाउन सहयोग पुग्ने ममदानीको भनाइ छ । तर यसले महँगीमा समेत असर पार्न सक्ने उनले स्वीकार गरेका छन् । ममदानीले सहर गम्भीर आर्थिक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै घाटा पूर्ति गर्न दुई विकल्प अघि सारेका छन् । पहिलो, धनी नागरिक र ठूला कम्पनीमाथि कर दर बढाउने, दोस्रो, सम्पत्ति कर बढाएर आरक्षित कोषबाट रकम निकाल्ने । उनका अनुसार दोस्रो विकल्प कठिन र दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ । उनले न्यूयोर्क सहरले राज्यलाई अपेक्षाकृत धेरै सेवा प्रदान गरे पनि त्यसअनुसार वित्तीय सहयोग नपाइरहेको गुनासो गरे । राज्यका कानुन निर्माता निकायले आवश्यक कदम नचाले सहरसँग वैकल्पिक उपाय अपनाउनु बाहेक अन्य विकल्प नरहने उनको चेतावनी छ । उनले सम्पत्ति कर करिब ९.६ प्रतिशतसम्म बढ्न सक्ने संकेत दिएका छन् । यदि यस्तो निर्णय कार्यान्वयन भए, पछिल्ला दुई दशकयताकै सबैभन्दा ठूलो कर वृद्धि हुने बताइएको छ ।

Nepal life insurance

५- नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा आफुलाई पटक पटक सोधिने ‘प्रमाण खोई’ भन्ने प्रश्नको जवाफ दिएका छन् । काँग्रेसको प्रतिज्ञाका विषयमा आम मानिसका प्रश्नको जावफ दिन आयोजित गरिएको कार्यक्रममा बोल्दै सभापति थापाले ‘प्रमाण खोई ?’ भन्ने प्रश्नको जवाफ दिदै रवि लामिछानेको सहकारी ठगीमा संलग्नता पुष्टि सर्वोच्च अदालतको आदेशले नै गरेको भन्दै आफुलाई प्रश्न गर्न भन्दा पनि सर्वोच्चको आदेश प्पढ्न आग्रह गरेका हुन् । उनले सो अवसरमा भने- ‘साथीहरूले कमेन्टमा प्रमाण खोइ भन्नुहुन्छ, म आज यहाँ प्रमाणसहित उपस्थित भएको छु । यो मैले बनाएको आरोप होइन, नेपालको सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्यहरू हुन्।’सभापति थापाले जिल्ला अदालतका मिसिलहरूलाई पढेर सुनाउदै लामिछानेको नाममा करोडौं रुपैयाँ ऋण प्रवाह भएको उल्लेख गरे । सभापति थापाले सर्वोच्च अदालतको वेबसाइटमा रहेको फैसलाको बुँदा उल्लेख गर्दै लामिछानेले निःशुल्क सेयर पाएको दाबी गरे पनि उक्त सेयर लगानी गर्न सहकारीकै रकम प्रयोग भएको देखिएको सर्वोच्चले नै ठहर गरेको बताएका हुन् ।

६- जावलाखेल युथ क्लब २५औँ आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । विहिबार सम्पन्न दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लबले उज्बेकिस्तानको एभिए फुटबल क्लबलाई १- ० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । जावलाखेलको जितमा खेलको ५२औं मिनेटमा एभिएका खुसान जानीजानोभले गरेको आत्मघाती गोल खेलको निर्णायक गोल बनेको थियो ।  दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि एभिए क्लबले बराबरी गोल फर्काउन सकेन । यस जितसँगै जावलाखेलले उपाधि नजिक पुगेको छ। अब उपाधिका लागि जावलाखेलले सहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल यही शनिबार फागुन ९ गते (२१ फेब्रुअरी) आयोजना हुने आयोजकले जनाएको छ ।

७-  बेलायतका राजा चार्ल्स तृतीयका भाइ एन्ड्र्यु माउन्टबेटन- विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ । बिहीबार बिहान इङ्ग्ल्यान्डको नोरफोकस्थित स्यान्ड्रिङ्घम एस्टेटबाट एन्ड्र्युलाई पक्राउ गरिएको बिबिसीले उल्लेख गरेको छ । पूर्व राजकुमारले दोषी यौन अपराधी जेफ्री एपस्टाइनसँग गोप्य सूचना आदानप्रदान गरेको भनाइसम्बन्धी उजुरीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । एन्ड्र्युले आफूले कुनै पनि गैरकानुनी काम नगरेको दाबी गर्दै आएका छन्। उनले यसअघि नै ‘प्रिन्स’ उपाधि गुमाइसकेका छन् भने विन्डसरस्थित आफ्नो निवास रोयल लज पनि छाड्नुपरेको छ । पूर्व राजकुमार एन्ड्र्यु यसअघि पनि जेफ्री एपस्टाइनसँगको सम्बन्धलाई लिएर विवादमा परेका थिए । यद्यपि उनले सधैं कुनै पनि प्रकारको गलत कार्यमा संलग्नता अस्वीकार गर्दै आएका छन् ।

८- पाकिस्तानको कराचीस्थित सोल्जर बजारमा भएको सिलिन्डर विस्फोटमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । मृत्यु हुनेमा चार बालबालिका र छ महिला रहेको जियो न्यूजले उल्लेख गरेको छ । घटनामा १४ जना घाइते भएका छन् । तीन तले आवासीय भवनको पहिलो तलामा विस्फोट हुँदा भवनको एक भाग भत्किएको थियो ।  डाक्टर फर्रुख लान्जारले प्रारम्भिक जानकारीअनुसार ग्यास चुहावटका कारण विस्फोट भएको देखिएको बताएका छन् । उनका अनुसार भग्नावशेषभित्र अझै एक जनाको शव फसेको आशंका गरिएको थियो र उद्धार कार्य निरन्तर जारी राखिएको थियो ।उनले रासायनिक परीक्षणपछि मात्र विस्फोटको वास्तविक कारण पुष्टि हुने र घटनाबारे विस्तृत अनुसन्धान गरिने जानकारी दिए । साथै भवन कानुनी रूपमा निर्माण भएको वा नभएको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्ने र दोषी पाइए कारबाही गरिने उनले बताए । उद्धार टोलीले भग्नावशेषबाट धेरैलाई जीवितै बाहिर निकालेको थियो । मृत्यु हुनेमा १० वर्षीया नाजिया र ६० वर्षीय मोहम्मद रियाज पनि रहेका छन् । उद्धार अधिकारीहरूका अनुसार १७ वर्षीया किशोरी, १९ वर्षीया युवती र १८ वर्षीया महिलाको शव भग्नावशेषबाट निकालिएको छ । थप एक महिलाको शव फेला परेको छ भने अर्की एक मृतकको पहिचान प्रक्रिया जारी रहेको जनाइएको छ । घाइतेमध्ये १४ वर्षीया बालिका जीवितै उद्धार गरिएको छ ।

९- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम मतदातालाई ६ प्रश्न गरेका छन् । एमालेको चुनावी घोषणा पत्रमा अध्यक्ष ओलीले सिङ्गो समाज प्रश्नप्रश्नको घेरामा रहेको उल्लेख गर्दै जसरी आममतदाताको स्थापित राजनीतिक दल र नेताहरूप्रति प्रश्न छ, त्यसैगरी आफ्ना पनि प्रश्नहरू रहेको बताउदै पाँच प्रश्न सोधेका छन् । ओलीले प्रश्नहरू निर्वाचनमा आफ्ना आन्तरिक कमजोरी लुकाउन अघि सारिएको देशी/विदेशी षड्यन्त्रको सिद्धान्त (कन्सिप्रेसी थ्योरी) होइन भन्दै संविधान, व्यवस्था र हाम्रो सार्वभौमसत्ताको रक्षा गर्न हामीले माथि प्रश्नहरूको जवाफ खोज्नै पर्ने बताए । ओलीले सोधेका ६ प्रश्न: १- भदौ २३ गते अघि देश बनिरहेको थियो कि बिग्रेको थियो ? या देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर समाजमा आक्रोश विस्तार गरिँदै थियो ? २- भदौ २३ गतेको जेनजी प्रदर्शनमा कसले घुसपैठ गयो ? आयोजकहरूका घोषित कार्यक्रम अनुसार शान्तिपूर्ण प्रदर्शन सकियो भन्दै घर फर्कन लागेका युवाहरूलाई निषेधित क्षेत्रतर्फ जान बाध्य कसले गर्यो ? ३- भदौ २३ को घटना स्वतःस्फूर्त थियो कि तयारीसहितको षडयन्त्र ? या भदौ २४ को विध्वंशको लागि आधार तयार पार्न घुसपैठियाहरूले भड्काएको हिंसा ? ४- जेनजी प्रदर्शनकारीका सरकार, संविधान तथा व्यवस्थाका सन्दर्भमा कुनै माग थिएनन् । हुँदै नभएको माग पुरा गरेझैं प्रणालीमाथि नै धावा बोल्ने गरी प्रतिनिधिसभाको विघटन किन गरियो ? ५- त्यो आफूअनुकुल सरकार बनाउने वा चुनाव गराउने योजना मात्रै थियो भने व्यावसायिक प्रतिष्ठानहरू किन जलाइयो ? विचार मात्रै बोकेको कारण एकैसाथ पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका साधारण पार्टी समर्थक समेतको निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी किन गरियो ? ६- यदि त्यो राजनीतिक प्रतिशोध थियो भने आफ्नो कर्तव्य पालना गरिरहेका राज्यका सुरक्षाकर्मीमाथि आक्रमण किन गरियो ?

१०-  नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ को चुनावपछि काँग्रेसको बहुमतको सरकार बन्ने दाबि गरेका छन् । बिहीबार काँग्रेसको प्रतिज्ञाका विषयमा आम मानिसका प्रश्नको जावफ दिन आयोजित गरिएको कार्यक्रममा बोल्दै सभापति थापाले चैत्रको पहिलो साता काँग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै बैशाख १ गते नेपालको नाममा सम्बोधन गर्दै ५ वर्षको प्रतिज्ञा सार्वजनिक गर्ने बताए । उनले एउटा कुनै व्यक्तिले मात्र नेपालमा चमत्कार गर्न नसक्ने बताउदै कांग्रेसले टिम नेपाल बनाएर आफ्ना प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषयलाई कार्यान्वयन गर्ने बताए ।  उनले केन्द्रमा १६, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोक्ने उल्लेख गर्दै सांसदको संख्या समेत घटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति थापाले भ्रष्टाचार अन्त्य गर्न र सरकारलाई जवाफदेही बनाउन आयोग बनाएर २०४८ सालेदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताए । कार्यक्रममा बोल्दै आफुहरुले कुन कुन कानुन संशोधन गरेर आफुहरुले प्रतिज्ञा गरेका विषय कार्यान्वयन गर्न सकिन्छ भन्ने तयारी गरेको बताए ।

११- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ को महाविनाश अप्रत्याशित घटना नभएको बताएका छन् । एमालेको चुनावी घोषणा पत्र सार्बजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भदौ २४ को घटना अप्रत्याशित नभएको दाबि गर्दै यो लोकतन्त्रविरुद्धको लामो समयदेखिको योजनाबद्ध आक्रमण भएको दाबी गरेका हुन् ।  उनले विचारहीन र दिशाहीन स्टन्टबाट एमाले टाढा रहेको बताउदै आफुहरुको गन्तव्य विकास र समृद्धि भएको बताएका छन् । उनले सिंहदरबार, सर्वोच्च अदालतलगायतका जलाइएका संरचना पुनर्निर्माण गर्ने र निजी क्षेत्रको टुटेको विश्वासलाई जोड्ने जिम्मेवारी एमालेको काधमा आएको बताए । पुस्तान्तरणको भ्रम फैलाइएको भन्दै ओलीले देश पुस्ताको द्वन्दले नबन्ने स्पष्ट गरे । ओलीले युवा भनेको आगो र अनुभव उज्यालो भएको भन्दै आगो र उज्यालो एकसाथ आएर देश बनाउनु पर्ने बताए । उनले यो निर्वाचन देश भत्काउने र बनाउने बीचको लडाई भएको भन्दै एमाले देश बनाउने पार्टी भएको बताए । एमालेले जिम्मेवारी पाएको समयमा काम गरेर देखाएको भन्दै सबै मतदातालाई संबिधानको रक्षा गर्न र लोकतन्त्रलाई बचाउन मतदान गर्न आव्हान समेत गरेका छन् ।

१२-  वेस्ट इण्डिजले इटालीलाई ४२ रनले पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको १६६ रनको लक्ष्य पछाएको इटालीले १८ ओभरमा १२३ रन मात्र बनाएर अलआउट भएपछि खेल ४२ रनले हारेको हो । यसअघि आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सीको खेलमा वेस्ट इण्डिजले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । योसँगै वेस्ट इण्डिजले समुह सी मा समुह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको छ । त्यसैगरी इटालीले ४ खेलमा एक जित र ३ हार बेहोरेर प्रतियोगिताको अन्त्य गरेको छ ।

१३- दक्षिण कोरियाको पूर्व राष्ट्रपति युन सुक येओललाई विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गर्दै आजीवन काराबासको सजाय दिएको छ । मुख्य न्यायाधीश जी कुई योनले युनले सेना र प्रहरी बल परिचालन गरी राष्ट्रिय सभामाथि अवैध कब्जा गर्ने, राजनीतिक नेताहरूलाई पक्राउ गर्ने तथा निरंकुश शासन स्थापना गर्ने प्रयास गरेको ठहर गर्दै आजीवन काराबासको सजाय सुनाएका हुन् । अदालतको फैसलाविरुद्ध युनले माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । विशेष सरकारी वकिलले युनका लागि मृत्युदण्डको माग गरेका थिए। उनीहरूले उक्त कदमले देशको लोकतान्त्रिक प्रणालीमा गम्भीर खतरा उत्पन्न गरेको दाबी गर्दै कडा सजाय आवश्यक रहेको बताएका थिए । तर अधिकांश विश्लेषकहरूले यसलाई सत्ता कब्जाको प्रयासका रूपमा व्याख्या गर्दै मानवीय क्षति नभएकाले आजीवन कारावास पर्याप्त हुने धारणा राखेका थिए । दक्षिण कोरियामा सन् १९९७ यता मृत्युदण्ड कार्यान्वयन गरिएको छैन । अदालतले मार्शल ल लागू गर्ने प्रक्रियामा संलग्न पूर्व सैनिक तथा प्रहरी अधिकारीहरूलाई पनि दोषी ठहर गरेको छ। पूर्व रक्षामन्त्री किम योंग ह्यून लाई ३० वर्ष कैद सजाय सुनाइएको छ । उनीमाथि मार्शल ल लागू गर्ने योजना बनाउने र सेनालाई सक्रिय गराउने मुख्य भूमिका खेलेको आरोप थियो । पूर्व राष्ट्रपतिलाई अदालत उपस्थित गराउँदा उनका समर्थकहरूले अदालत परिसर बाहिर प्रदर्शन गरेका थिए। सुरक्षा व्यवस्थापनका लागि सयौं प्रहरी परिचालन गरिएको थियो । युनले सन् २०२४ डिसेम्बरमा राष्ट्रविरोधी शक्तिहरूलाई नियन्त्रण गर्न आवश्यक भएको दाबी गर्दै मार्शल ल घोषणा गरेका थिए । उक्त आदेश करिब छ घण्टासम्म मात्र लागू भएको थियो । त्यसपछि सांसदहरूले सैनिक घेराबन्दी तोड्दै सदन प्रवेश गरी सर्वसम्मत रूपमा आदेश खारेज गरेका थिए । डिसेम्बर १४, २०२४ मा संसदले महाभियोग प्रस्ताव पारित गरेपछि युन पदमुक्त भएका थिए । अप्रिल २०२५ मा कोरियाको संवैधानिक अदालत ले उनलाई औपचारिक रूपमा पदबाट हटाएको थियो । त्यसयता उनी विभिन्न आपराधिक मुद्दामा पक्राउ परेर हिरासतमा रहेका छन् । गत महिना पनि अदालतले गिरफ्तारीको विरोध, मार्शल ल घोषणामा अनियमितता तथा अनिवार्य पूर्ण मन्त्रिपरिषद् बैठक नबोलाई आदेश जारी गरेको अभियोगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । यसैबीच, सियोल केन्द्रीय जिल्ला अदालत ले तत्कालीन मन्त्रिपरिषद्का दुई अन्य सदस्यलाई पनि अलग-अलग मुद्दामा दोषी ठहर गरेको छ । पूर्व प्रधानमन्त्री हान डक सु लाई २३ वर्ष कैद सजाय सुनाइएको छ । उनीमाथि मन्त्रिपरिषद् बैठकमार्फत आदेशलाई वैधता दिने प्रयास, अभिलेख हेरफेर तथा शपथअन्तर्गत झुटो बयान दिएको आरोप थियो । हानले उक्त फैसलाविरुद्ध पुनरावेदन गरेका छन् ।

१४- नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौँमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा एमालेले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको छ । सरकारमा हुदा गरेका र गर्ने कामको विवरण प्रस्तुत गरिएको छ । एमालेले १८ देखि २८ बर्षसम्मका युवाहरुलाई १० जीबी डाटा नि: शुल्क दिने, युवा र उधमीलाई डलर कार्ड १० हजारसम्मको दिने, विदेशबाट रेमिटेन्स पठाउने हरेकको खातामा ५ हजार नगद दिने, विद्यार्थीलाई बिना ब्याज २० लाख ऋण प्रदान गर्ने, १० कक्षासम्म किशोरीलाई नि: शुल्क प्याड र १० कक्षासम्म दिवा खाजा, मजदुरको न्युनतम पारिश्रमिक २५ हजार, स्वयंसेविकालाई २० हजार भत्ता, सुत्केरीलाई प्रति जन्म २० हजार सुत्केरी भत्ता, २५ हजारसम्मको ऋण मिनाह, शिक्षकको मर्यादाक्रम र सामाजिक सुरक्षा र सुरक्षाकर्मीको सम्मान र कल्याणको योजना अगाडी सारेको छ ।

१५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि बढिरहेको छ । पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले प्रदेश उपसभापति पदसहित साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका छन् । हुमागाईं २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे- २ बाट उम्मेदवार बनेका थिए । उनले बिहीबार सार्वजनिक गरेको राजीनामापत्रमा पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको तथा आर्थिक अपारदर्शिता बढेको आरोप लगाएका छन् । राजीनामाको कारण खुलाउँदै उनले नेतृत्व तहमा नैतिक विचलन देखिएको उल्लेख गरेका छन् । उनले पार्टीभित्र सुधारको सम्भावना कमजोर बन्दै गएको अनुभूति भएपछि छोड्ने निर्णय लिएको बताएका छन् । यस अघि बुधबार रास्वपाकी मधेश प्रदेशकी संस्थापक एवं प्रदेश सभापति ममता शर्माले पनि पार्टी छोडेर काँग्रेसमा प्रवेश गरेकी छन् ।

१६- उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले सैन्य शक्ति प्रदर्शनका क्रममा ५० वटा नयाँ रकेट प्रक्षेपक तैनाथ गरेका छन् । ती प्रक्षेपकहरू छोटो दूरीका क्षेप्यास्त्र प्रहार गर्न सक्षम रहेको र तीमध्ये केही परमाणु अस्त्र बोक्न सक्ने क्षमतायुक्त मानिएको अन्तर्राष्ट्रिय विश्लेषणमा उल्लेख छ । यसलाई दक्षिण कोरियाका लागि गम्भीर सुरक्षा चुनौतीका रूपमा हेरिएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नयाँ प्रक्षेपकहरूलाई एक विशेष समारोहमार्फत सार्वजनिक रूपमा प्रदर्शन गरिएको थियो । सत्तारूढ दलको आगामी महाधिवेशनअघि यो कदम चालिएको हो । सो महाधिवेशनमा किमले सैन्य क्षमतालाई थप सुदृढ गर्ने नयाँ योजनाहरू घोषणा गर्न सक्ने अनुमान गरिएको छ । यी प्रक्षेपकहरू ६०० मिलिमिटर बहु–रकेट प्रणालीसँग सम्बन्धित छन् । आधुनिक निर्देशन प्रविधि र कृत्रिम बुद्धिमत्ता आधारित प्रणाली जडान गरिएको दाबी गरिएको छ । विज्ञहरूका अनुसार यो प्रणाली पारम्परिक तोपखाना र ब्यालिस्टिक क्षेप्यास्त्रबीचको प्रविधिसँग मिल्दोजुल्दो प्रकृतिको छ । विशेषज्ञहरूले दक्षिण कोरियाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने उद्देश्यले यस्ता प्रणाली विकास गरिएको हुन सक्ने बताएका छन् । यसैबीच किम जोंग उनकी बहिनी किम यो जोंगले दक्षिण कोरियाका एक मन्त्रीले कथित मानवरहित हवाई उपकरण प्रवेशबारे माफी मागेको दाबी गरेकी छन् । उनले उत्तर कोरियाले सीमा सुरक्षा अझ कडा बनाउने चेतावनी दिँदै पुनः यस्ता गतिविधि दोहोरिए बल प्रयोग गरी जवाफ दिने बताएकी छन् । सन् २०१९ मा अमेरिका र उत्तर कोरियाबीचको परमाणु वार्ता असफल भएपछि दुई कोरियाबीचको सम्बन्ध निरन्तर तनावपूर्ण बन्दै गएको छ । पछिल्ला वर्षहरूमा किम जोंग उनले ‘शान्तिपूर्ण एकीकरण’को नीति परित्याग गर्दै दक्षिण कोरियालाई औपचारिक रूपमा शत्रु राष्ट्र घोषणा गरेका छन् । विश्लेषकहरूका अनुसार पछिल्लो सैन्य प्रदर्शनले कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्ता अझ गहिरो बनाएको छ ।

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको ४३ सयले बढेर तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले बढेर तोलाको ५०६० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो ।

images

१८- प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएकी छन् । सम्बोधनमा प्रधानमन्त्री कार्कीले जहानियाँ राणा शासनको अन्त्य गर्दै जनअधिकार, स्वतन्त्रता, सुशासन र समतामूलक विकाससहितको प्रजातन्त्र स्थापना गर्न विभिन्न कालखण्डका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले वि.सं. २००७ सालको क्रान्ति केवल शासन परिवर्तन नभई नेपाली जनताको आत्मसम्मान र अधिकारको उद्घोष भएको बताइन् । फागुन ७ गतेलाई रैतीबाट नागरिकमा रूपान्तरण भएको ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार त्यही राजनीतिक परिवर्तन रहेको उल्लेख गरिन् । प्रजातन्त्र दिवसको अवसरमा आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले २००७ सालको उपलब्धि २०१७ मा गुम्नु, त्यसपछि २०३६, २०४६, २०६२/६३ र २०८२ सम्म पनि जनतालाई सडकमा उत्रिनुपर्ने अवस्था आउनुका कारणबारे प्रश्न उठाइन् । जेनजी युवाहरू समेत आन्दोलनमा उत्रिनु लोकतान्त्रिक अभ्यास कमजोर भएको संकेत भएको उनको भनाइ थियो । उनले भनिन् – ‘हामीले संविधानमा लोकतन्त्र लेख्यौँ, तर व्यवहारमा त्यसलाई संस्थागत गर्न सकेनौँ । सिद्धान्तमा समानता स्वीकार्य भयो, तर संरचनागत असमानता कायम रह्यो ।’ उनले सीमित वर्गको सत्तामा प्रभुत्व, स्रोत-साधनमा एकाधिकार र राज्य संयन्त्रमा प्रभाव कायम रहँदा जनविश्वास कमजोर भएको बताइन् । बजेट वितरण, समानुपातिक प्रणाली, छात्रवृत्ति र रोजगारीमा देखिएका असन्तुलनले असन्तोष बढाएको उनको टिप्पणी थियो । भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलनलाई उनले राज्य संरचनाप्रतिको प्रश्नका रूपमा व्याख्या गरिन् । उक्त आन्दोलनले भ्रष्टाचार, नातावाद र विभेदको अन्त्य तथा सुशासनको माग उठाएको उल्लेख गर्दै सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएको जानकारी दिइन् । उनले भनिन्- ‘सबल लोकतन्त्रले असन्तोषलाई दमन गर्दैन, सुधारको अवसरका रूपमा ग्रहण गर्छ ।’ प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई केवल राजनीतिक प्रणाली नभई जीवनशैलीका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै नागरिकको दैनिक जीवन-रोजगारी, शिक्षा, स्वास्थ्य र महँगीसँग लोकतन्त्रको औचित्य जोडिनुपर्ने धारणा व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ साल फागुन ७ गतेदेखि नेपालमा पहिलो प्रजातान्त्रिक निर्वाचन सुरु भएको ऐतिहासिक तथ्य स्मरण गर्दै आजको दिन निर्वाचन दिवसका रूपमा पनि महत्वपूर्ण रहेको बताइन् । यस वर्ष फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुन गइरहेको जानकारी दिँदै उनले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। तोकिएकै मितिमा विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चितता गरिएको उनको दाबी थियो । उनले भनिन्- ‘लोकतन्त्र भनेको प्रक्रिया मात्र होइन, यसले नतिजा दिनुपर्छ । विधिको शासन आवश्यक छ, तर प्रक्रियाको नाममा नागरिकलाई दुःख दिनु लोकतन्त्र होइन ।’ प्रधानमन्त्री कार्कीले युवालाई तिरस्कार गरेर राष्ट्र अघि बढ्न नसक्ने उल्लेख गर्दै युवामा ऊर्जा, नैतिक चेतना र परिवर्तनको आकांक्षा रहेको बताइन्। अन्याय, विभेद र अपमान सहन नसक्ने युवाको आवाजलाई सम्बोधन गर्नुपर्ने उनको धारणा थियो । सम्बोधनको अन्त्यमा उनले लोकतन्त्र, सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, जेनजी युवा तथा आम नागरिकलाई एकजुट हुन आह्वान गरिन्। साथै लोकतन्त्रका लागि जीवन अर्पण गर्ने शहीदहरूप्रति पुनः श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।

१९- आज नेपालमा १०औं निर्वाचन दिवस मनाइदैछ । वि.सं. २०१५ साल फागुन ७ गते सुरु भई २०१६ साल वैशाख २१ गते सम्पन्न भएको पहिलो आमनिर्वाचनको स्मरणमा यो दिवस मनाइँदै आएको हो । उक्त निर्वाचन नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न पहिलो ऐतिहासिक निर्वाचन थियो । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदान मिति नजिकिँदै गर्दा दिवसको विशेष महत्व रहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । उनले निर्वाचन आयोगको मूल मन्त्र ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी एवं मितव्ययी निर्वाचन’ लाई आत्मसात् गर्दै सबै सरोकारवालाको समन्वय र सहकार्यमा शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन आवधिक निर्वाचन अनिवार्य प्रक्रिया भएको उल्लेख गर्दै मताधिकार प्रयोगमार्फत नागरिकले शासन प्रणालीलाई पुनर्ताजगी दिने बताए । विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार भएको उनले स्पष्ट पारे । संविधानको व्यवस्था अनुसार निर्वाचन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद, प्रदेश सभा तथा स्थानीय तहको निर्वाचन सञ्चालन, रेखदेख र नियन्त्रण गर्दै आएको छ । आयोगले सबै दल, उम्मेदवार र मतदातालाई कानूनबमोजिम स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । निर्वाचन दिवसको अवसरमा आयोगले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सहयोग गर्न राजनीतिक दल, उम्मेदवार, कर्मचारी, पर्यवेक्षक र आम मतदातासँग हार्दिक अपिल गरेको छ ।

images

२०- अमेरिका र ईरान बीचको तनाव तीव्र रूपमा बढ्दै गएको छ । पछिल्ला घटनाक्रमले आगामी केही दिन वा हप्ताभित्र ठूलो सैन्य टकराव हुन सक्ने संकेत देखाएका छन् । रिपोर्टअनुसार, यदि अमेरिकाले सैन्य कारबाही गरेमा त्यो सानो वा प्रतीकात्मक नभई हप्तौँसम्म चल्ने व्यापक अपरेशन हुन सक्छ । एक ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा सम्भावित हमलाको सम्भावना ९० प्रतिशतसम्म रहेको दाबी गरिएको छ । सम्भावित कारबाही इजराइलसँगको सहकार्यमा ईरानको आणविक तथा मिसाइल संरचनालाई लक्षित गर्न सक्ने जनाइएको छ । अमेरिकाभित्र पनि आक्रमणको उद्देश्य र उपलब्धिबारे स्पष्टता नभएको चर्चा चलिरहेको छ, तर राष्ट्रपति डोनाल्ड ट्रम्प कडा अडानमा देखिएका छन् । उनले ‘सबै विकल्प खुला छन्’ भन्ने अभिव्यक्ति दिँदै सैन्य तयारीको संकेत गरेका छन् । यसैबीच, जेनेभामा ट्रम्पका सल्लाहकारहरूले ईरानी विदेशमन्त्री अब्बास अराघचीसँग तीन घण्टा लामो वार्ता गरेका छन् । दुवै पक्षले केही प्रगति भएको बताएका भए पनि मुख्य विषयमा सहमति जुट्न बाँकी रहेको जनाइएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि वार्तामा केही सकारात्मक संकेत देखिए पनि ‘रेड लाइन’ का विषयमा मतभेद कायम रहेको बताएका छन् । रिपोर्टअनुसार, अमेरिकाले मध्यपूर्व क्षेत्रमा दुई विमानवाहक पोत, करिब एक दर्जन युद्धपोत, सयौँ लडाकु विमान र हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरिसकेको छ । एफ-३५, एफ-२२ र एफ-१६ जस्ता लडाकु विमानसमेत क्षेत्रमा पठाइएको छ । १५० भन्दा बढी कार्गो उडानमार्फत हतियार र गोला-बारुद पुर्‍याइएको जनाइएको छ। इजराइलका अधिकारीहरूले पनि देश केही दिनमै युद्धस्थितिका लागि तयारी अवस्थामा रहेको बताएका छन्। यसैबीच तनाव बढिरहेका बेला रूस र ईरानले ओमान सागर र उत्तरी हिन्द महासागर क्षेत्रमा संयुक्त नौसैनिक अभ्यास गर्ने घोषणा गरेका छन्। ईरानको रिभोल्युशनरी गार्ड्सले हर्मुज जलडमरूमध्य नजिक सैन्य अभ्यास गर्दै केही समयका लागि आवागमन आंशिक रूपमा रोकेको थियो । हर्मुज जलडमरूमध्य विश्व तेल आपूर्तिको करिब २० प्रतिशत पारगमन हुने अत्यन्तै संवेदनशील समुद्री मार्ग हो । यो फारसको खाडीलाई ओमानको खाडी हुँदै विश्व बजारसँग जोड्छ । साउदी अरब, कुवैत, इराक, कतार, बहराइन, यूएई र ईरानको अधिकांश तेल-ग्यास यही मार्गबाट निर्यात हुन्छ । अमेरिका-ईरान आणविक वार्तामा बैलिस्टिक मिसाइल कार्यक्रम सबैभन्दा ठूलो विवाद बनेको छ । अमेरिकाले ईरानलाई मिसाइल कार्यक्रम सीमित गर्न र हिज्बुल्लाह तथा हूती जस्ता समूहलाई समर्थन बन्द गर्न दबाब दिँदै आएको छ । तर ईरानले आफ्नो मिसाइल कार्यक्रम राष्ट्रिय सुरक्षासँग जोडिएको ‘रेड लाइन’ भएको बताउँदै कुनै सम्झौता नगर्ने अडान दोहोर्‍याएको छ । तनाव उत्कर्षमा पुगेका बेला कूटनीति र सैन्य तयारी दुवै समानान्तर रूपमा अघि बढिरहेका छन्। अबको केही हप्ता मध्यपूर्वको सुरक्षाका लागि निर्णायक बन्न सक्ने विश्लेषण गरिएको छ ।

#मुख्यसमाचार #समाचारबुलेटिन #आजकासमाचार #राष्ट्रियसमाचार #ताजाअपडेट #नेपालसमाचार #समसामयिकघटना #राजनीतिकअपडेट #आर्थिकसमाचार #सामाजिकसमाचार #स्थानीयसमाचार #NepalNews #BreakingNews #Top20News #DailyBulletin #NewsUpdate #NepalToday #NationalNews #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages