

काठमाडौँ । आकाश बराल र साजन काफ्लेको संयुक्त निर्देशनमा निर्माण हुन लागेको चलचित्र जिरो डिग्रीमा अभिनेत्री सनिशा भट्टराई अनुबन्धित भएकी छन् ।
निर्माण पक्षले उनलाई चलचित्रको प्रमुख महिला पात्रका रूपमा चयन गरेको हो । अभिनय यात्रामा यो सनिशाको तेस्रो चलचित्र हुनेछ । यसअघि उनले एक्सन शैलीका चलचित्र ‘१२ गाउँ’ र ‘नरसिंहा अवतार’मा अभिनय गरिसकेकी छन् ।

सनिशाको प्रवेशसँगै चलचित्रको कलाकार सूची अझ सशक्त बनेको निर्माण पक्षको दाबी छ । यसअघि नै कीर्तिमानी अभिनेता विजय बराल चलचित्रमा आबद्ध भइसकेका छन् । यद्यपि विजय र सनिशाको जोडी देखिने हो वा दुवैको भूमिका फरक-फरक रहने हो भन्ने विषयमा भने निर्माण पक्षले खुलासा गरेको छैन । चलचित्रमा अनुबन्धित भएसँगै सनिशाले अभिनयसम्बन्धी कार्यशाला पनि सुरु गरिसकेकी छन् ।


निर्देशक द्वय आकाश बराल र साजन काफ्ले को लेखन तथा निर्माणमा बन्ने यस चलचित्रको कथा राजन भुसालले लेखेका हुन् । चलचित्रमा राजन भुसालको अभिनय पनि रहनेछ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रका कार्यकारी निर्माता मोती कार्की रहेका छन् भने छायांकन निशाल पौडेल र सम्पादन चानस मगरले गर्नेछन् ।
चलचित्रको कथावस्तु सडक सञ्जालले नछोएको एक दुर्गम गाउँमा आधारित छ । आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नआउँदासम्म शव सुरक्षित राख्न सहरबाट ‘डीप फ्रिज’ बोकेर गाउँ भित्र्याइएपछि सिर्जना हुने अवस्थालाई कथाको केन्द्रमा राखिएको निर्देशक काफ्लेले जानकारी दिए । उनका अनुसार चलचित्रमा एउटा फ्रिज गाउँसम्म पुर्याउने घटनामात्र होइन, हल्का हास्यरस मिसिएको संवेदनशील कथा पनि प्रस्तुत गरिनेछ ।
#ZeroDegree #SanishaBhattarai #NepaliCinema #FilmUpdate #MovieNews #EntertainmentNepal #NepaliActress #FilmIndustry #समसामयिकसमाचार #मुख्यसमाचार #NepalNews #CineNepal #FilmContract #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



