नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप बढ्योः झलनाथ खनाल

 

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप बढेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित भएपछि अमेरिकी टोलीले नेपालको उत्तरी क्षेत्रका उम्मेदवारहरूसँग काठमाडौंको होटल म्यारियटमा भेटघाट गरेको उल्लेख गर्दै यो घटना रहस्यमय रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीसमेत सोही क्षेत्रको भ्रमणमा गएको प्रसंग जोड्दै यस्ता गतिविधिले नेपालको आन्तरिक मामिलामा वाह्य प्रभाव बढेको संकेत गरेको दाबी गर्नुभयो ।

‘एमसीसी पारित भएपछि अमेरिकी सक्रियता र चासो थप बढेको छ । यो वैदेशिक हस्तक्षेपको स्पष्ट उदाहरण हो ।’ खनालले भन्नुभयो । 
उहाँले राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न जनतालाई जागृत हुनुपर्नेमा जोड दिनुभयो । नेता खनालको यो भनाइले नेपालको राजनीतिमा विदेशी शक्तिको प्रभावबारे पुनः बहस सिर्जना गरेको छ । यसअघि पनि एमसीसी सम्झौतालाई लिएर उहाँले पटक–पटक नेपालको स्वाधीनतामाथि असर पर्ने चेतावनी दिँदै आउनुभएको थियो । नेता खनालले देशको विद्यमान संकट समाधानका लागि ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ बाहेक अर्को विकल्प नभएको बताउनु भयो ।
६२/६३ को क्रान्ति र पूँजीवादी संकट
नेता खनालले २०६२/६३ को जनआन्दोलनलाई ‘पूँजीवादी जनवादी क्रान्ति’ को संज्ञा दिँदै यसले देशमा समाजवाद ल्याउन नसकेको टिप्पणी गर्नुभयो । ‘हामीले नयाँ जनवादी क्रान्तिको लक्ष्य राखेका थियौँ, तर पूँजीवादी जनवादी क्रान्तिमा चिप्लियौँ ।’ उहाँले भन्नुभयो ।
‘विगत २० वर्षको इतिहास हेर्दा देश संकटै संकटको भुमरीमा फसेको छ । पूँजीवादी बाटोबाट न शोषणको अन्त्य हुन्छ, न भ्रष्टाचारको ।’
वैदेशिक हस्तक्षेप र राष्ट्रियतामाथि प्रश्न
सम्बोधनका क्रममा खनालले नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप बढेको भन्दै कडा आलोचना गर्नुभयो । एमसीसी पारित भएपछि अमेरिकी टोलीले नेपालको उत्तरी क्षेत्रका उम्मेदवारहरूसँग होटल म्यारियटमा भेटघाट गरेको र प्रधानमन्त्री समेत तिनै क्षेत्रको भ्रमणमा जानु रहस्यमय भएको उहाँको तर्क थियो । उहाँले राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षाका लागि जनता जागृत हुनुपर्ने बताउनु भयो ।
चुनावी मैदानमा तीन शक्ति
वर्तमान राजनीतिक परिदृश्यलाई माक्र्सवादी दृष्टिकोणले विश्लेषण गर्दै खनालले तीन प्रकारका शक्तिहरू सक्रिय रहेको बताउनु भयो । पहिलो पुनरुत्थानवादी शक्तिः राजतन्त्र फर्काउन चाहने राजावादीहरू रहेको र अर्को यथास्थितिवादी शक्तिः पूँजीवादी सुधारको कुरा गर्ने तर आमूल परिवर्तन नचाहने शक्तिहरू रहेको उहाँको भनाइ छ । त्यस्तै समाजवादी क्रान्तिकारी शक्तिः वैज्ञानिक समाजवादको लक्ष्य राख्ने क्रान्तिकारी धार, जसको नेतृत्व आफ्नो पार्टीले गरिरहेको उहाँको दाबी छ ।
कृषि क्रान्ति र भूमिसुधारको खाँचो

देशको आर्थिक समृद्धिका लागि क्रान्तिकारी भूमिसुधार र कृषिको आधुनिकीकरण अनिवार्य रहेको खनालले बताउनु भयो । किसानले मल, बीउ, सिँचाइ, प्राविधिक सेवा, र बजारको सुनिश्चितता खोजिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हामीले कृषिलाई यान्त्रिकीकरण र व्यवसायीकरण गर्न सक्यौँ भने १०–१५ वर्षमै देशलाई स्वर्ग बनाउन सक्छौँ ।’
उहाँले कृषिमा आधारित उद्योगहरूको स्थापना गरी राष्ट्रिय औद्योगिकीकरणमा जोड दिनुपर्ने बताउनु भयो ।

शिक्षा नीति र सांस्कृतिक संकट
वर्तमान शिक्षा प्रणालीको आलोचना गर्दै खनालले ‘जेन–जी’ भनिएको नयाँ पुस्तामा पूर्वीय सभ्यता र संस्कार हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । इन्टरनेट र विदेशी संस्कृतिको प्रभावले नयाँ पुस्तामा आफ्नै बाबु–आमा र अग्रजहरूप्रति घृणा भाव पैदा भइरहेको उहाँको ठहर छ ।
उत्तरी नाका र स्वतन्त्र अर्थतन्त्र
नेपालको अर्थतन्त्रलाई विविधीकरण गर्न उत्तरी नाकाहरू अत्याधुनिक ढंगले खोल्नुपर्ने खनालको प्रश्ताव छ । ‘हामीले दक्षिणी बजारमा मात्र भर परेर पुग्दैन, उत्तरी बजार (चीन) सम्म पहुँच पु¥याउनुपर्छ ।’ उहाँले भन्नुभयो ।
बिजुली चीनलाई बेच्ने र ट्रान्समिसन लाइन जोड्ने कुरामा खुट्टा कमाउन नहुने उहाँको तर्क थियो ।
निर्वाचनः एक कार्यनीतिक अभियान
आसन्न निर्वाचनलाई खनालले समाजवादको आधार तयार पार्ने ‘कार्यनीतिक अवसर’ को रूपमा लिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचनबाट बहुमत प्राप्त गरी क्रान्तिकारी सरकार बनाउनु हाम्रो लक्ष्य हो । यदि बहुमत आएन भने पनि प्रतिपक्षमा बसेर सडक र सदनबाट जनतालाई जागृत गराउनेछौँ ।’

उहाँले प्रतिक्रियावादी शक्तिहरूसँगको साँठगाँठले वर्ग दृष्टिकोण समाप्त हुने भन्दै कार्यकर्तालाई सचेत रहन आग्रह गर्नुभयो । भ्रष्टाचारको अन्त्य, बेरोजगारीको समाधान र मान्छेले मान्छेमाथि गर्ने शोषणको अन्त्यका लागि वैज्ञानिक समाजवाद नै अन्तिम गन्तव्य भएको नेता खनालको निष्कर्ष छ । उहाँले पार्टी संगठन विस्तार र क्रान्तिकारी जनमत निर्माणका लागि चुनावी अभियानलाई अधिकतम उपयोग गर्न आह्वान गर्नुभयो ।

 

Nepal life insuranceimagesimages