

काठमाडौँ । सरकारले धादिङ बस दुर्घटना छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना भएपछि सरकारले घटनाको छानबिन प्रक्रिया अघि बढाएको हो ।

सोमबार बिहान करिब १:३० बजे पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशूली नदीको किनारमा खसेको थियो । विवरणअनुसार बसमा सवार ४४ यात्रुमध्ये १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा स्थानीयवासीको समन्वयमा उद्धार कार्य तीव्र रूपमा सञ्चालन गरिएको थियो । नदी किनारबाट मृतकहरूको शव निकालिएको छ भने सनाखत प्रक्रिया जारी रहेको जनाइएको छ। घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।
दुर्घटनाको विषयमा गृह मन्त्रालय मा गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकले विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । बैठकमा गृह सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभाग र सडक विभागका महानिर्देशक, सुरक्षा निकायका प्रमुख तथा यातायात व्यवसायी र मजदुर संघका प्रतिनिधिहरू सहभागी थिए ।

गृह मन्त्रालयले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।



