आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- कर्णाली प्रदेशका  पूर्व मुख्यमन्त्री राजकुमार शर्मा कर्णाली प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन् ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शर्मालाई कारवाही गर्दै कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालयले शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको सूचना प्रदेश सभा सचिवालयले टाँस गर्दै उनी प्रदेश सांसद पदबाट मुक्त भएको जानकारी दिएको हो । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम गरिएको निष्कासन सम्बन्धी पत्र सचिवालयमा दर्ता भई सोही ऐनको दफा ३४ को उपदफा (२) अनुसार माननीय सभामुखसमक्ष पेश गरिएको जनाइएको छ । उक्त ऐनको दफा ३५ को उपदफा (१) अनुसार सभामुखले सूचना दर्ता भएको मितिले १५ दिनभित्र सभालाई जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ । तर हाल कर्णाली प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित रहेकाले दफा ३५ को उपदफा (२) अनुसार सम्बन्धित सूचना सचिवालयको सूचना पाटीमा टाँस गरिएको बताइएको छ । सभामुखको निर्देशनअनुसार कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम २ को खण्ड (म) को उपखण्ड (८) बमोजिम सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जनाएका छन् । शर्मा जनार्दन शर्मा पक्षमा लागेपछि नेकपाले कारवाही गरेको थियो ।

२- प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन र सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रम बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनका सम्भावित चुनौती सामना गर्न उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सबै सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताएका थिए । उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सूचना संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राख्दै सुरक्षा रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा संवेदनशीलता अनुसार समन्वयात्मक ढंगले कार्य गर्नुपर्ने बताए । सामाजिक सञ्जालमार्फत हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा परिचालन भइरहेको जानकारी पनि उनले दिए । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन अवधिमा देखिन सक्ने जोखिमको सूक्ष्म विश्लेषण गर्दै आवश्यक स्रोतसाधन उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । कार्यक्रममा निर्वाचन सुरक्षा तयारी, जनशक्ति तथा स्रोतसाधन व्यवस्थापनबारे प्रस्तुतीकरण समेत गरिएको थियो ।

३- बंगलादेश क्रिकेट बोर्डले शाकिब अल हसनसँग सम्बन्धित कानुनी मुद्दाका कागजात सरकारसमक्ष पेश गरेपछि उनको स्वदेश फिर्तीको सम्भावना बढेको छ । पूर्व अवामी लिग सांसद समेत रहेका ३८ वर्षीय अलराउन्डर शाकिब सन् २०२४ अगस्टमा शेख हसिनाको सरकार हटेपछि बंगलादेश फर्किएका छैनन् । शाकिबले घरेलु मैदानमा अन्तिम पटक एकदिवसीय द्विपक्षीय सिरिज खेल्ने इच्छा व्यक्त गर्दै आएका छन् । उनले सन् २०२४ को अन्त्यतिर भारतविरुद्ध कानपुरमा भएको टेस्ट खेलमा अन्तिम पटक राष्ट्रिय टोलीबाट खेलेका थिए । त्यसयता उनी विश्वका विभिन्न फ्रेन्चाइज लिगमा सक्रिय रहे पनि करिब डेढ वर्षदेखि राष्ट्रिय टोलीबाट टाढा छन् । युनुस नेतृत्वको सरकारको कार्यकालमा शाकिबविरुद्ध हत्या अभियोगसहित विभिन्न कानुनी मुद्दा दर्ता भएका थिए, जसलाई धेरैले राजनीतिक प्रतिशोधको परिणामका रूपमा हेरेका छन् । बंगलादेश क्रिकेट बोर्डले पाकिस्तानविरुद्ध हुने घरेलु सिरिजका लागि शाकिबलाई टोलीमा फर्काउने इच्छा व्यक्त गरेको छ । युवा तथा खेलकुद राज्यमन्त्री अमिनुल हकले शाकिब र पूर्व कप्तान मशरफे मोर्तजाविरुद्धका कानुनी मुद्दा समाधान गरी उनीहरूलाई क्रिकेटमा फर्काउने वातावरण बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । बंगलादेशका ब्याटिङ प्रशिक्षक मोहम्मद अशरफुलले शाकिब सन् २०२७ को विश्वकपसम्म खेल्न सक्ने बताए । यसबीच एकदिवसीय टोलीका कप्तान मेहिदी हसनले पनि शाकिबसँग पुनः सँगै खेल्ने अपेक्षा व्यक्त गरेका छन् ।

Nepal life insurance

४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्लाही पुगेर काँग्रेस सभापति गगन थापाप्रति कटाक्ष गर्दै डा. अमरेश कुमार सिंहलाई जिताउन आग्रह गरेका छन् । सभापति लामिछानेले सर्लाही-४ मा अमरेश कुमार सिंहले जित्ने बताउदै काठमाडौँबाट आएर मधेसको बेटा हुँ भन्दै ठाउ लिने प्रयास भएको आरोप लगाए  । उनले भने- ‘मलाई थाहा छ अमरेशजीले जित्नुहुन्छ । यदि अमरेशजी नभएको भए पनि त्यो ठाउँमा एउटा मधेसको मान्छेले जित्थ्यो, मधेसले जित्थ्यो । तर कोही काठमाडौंबाट यहाँ आएर म मधेसको बेटा हुँ भन्दै छ, एउटा ठाउँ लिने प्रयास गर्दै छ । यस पटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईँको ।’

५-  अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्माता सरोज न्यौपानेका अनुसार ‘जेरी अन टप; फेब्रुअरी २७ शुक्रबारदेखि भारतमा रिलिज हुने भएको हो । नेपालमा शानदार कमाई गरेको फिल्म अब भारतमा प्रदर्शनमा आउन लागेको हो । फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, नयाँ दिल्ली, मुम्बई कालिम्पोङ, सिलिगुडी र कोलकातासहित विभिन्न ठाउँका हलमा फिल्म लाग्ने बताइएको छ । फिल्म इनोक्स, पिभिआर लगायतका सिनेमा चेनसहित सय भन्दा बढी स्क्रीनमा रिलिज हुने बताइएको छ । फिल्मको टिकट बुक माई शो लगायतका एपबाट समेत लिन सकिने छ । फिल्ममा अनमोल र जसिता गुरुङको प्रमुख भूमिका रहेको छ । प्रेमको कथावस्तुमा निर्माण भएको फिल्म सगरमाथा आरोहणको साहसिक कथामा बनेको छ ।

६-  विश्वप्रसिद्ध उद्योगपति तथा परोपकारी बिल गेट्सले यौन अपराध अभियोगमा दोषी ठहरिएका जेफ्री एपस्टाइनसँगको आफ्नो सम्बन्धलाई ‘ठूलो गल्ती’ भएको स्वीकार गरेका छन् । गेट्स फाउन्डेशनमा आयोजित एक आन्तरिक बैठकमा कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले एपस्टाइनसँग भेटघाट गर्नु गलत निर्णय भएको बताएका हुन् । गेट्सले कर्मचारीहरूलाई एपस्टाइनसँग समय बिताउनु र फाउन्डेशनका अधिकारीहरूलाई समेत ती भेटमा सहभागी गराउनु अनुचित भएको स्वीकार गरेका थिए । उनले भनेका छन्- ‘मेरो निर्णयका कारण यस विषयमा तानिएका सबैसँग म माफी चाहन्छु ।’ अमेरिकी न्याय विभागले सार्वजनिक गरेको कागजातअनुसार एपस्टाइनले सजाय भोगिसकेपछि पनि गेट्स र एपस्टीनबीच पटक-पटक भेटघाट भएको उल्लेख छ। ती भेटमा गेट्सका परोपकारी पहल विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ । रिपोर्टमा गेट्सले दुई रुसी महिलासँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको स्वीकार गरेको पनि उल्लेख छ, जसबारे एपस्टाइनलाई जानकारी भएको बताइएको छ । तर उनले ती सम्बन्ध एपस्टाइनका पीडितहरूसँग सम्बन्धित नभएको स्पष्ट पारेका छन् । गेट्सले कर्मचारीहरूलाई आफूले कुनै अवैध कार्य नगरेको र त्यस्तो कुनै गतिविधि नदेखेको दाबी गरेका छन् । न्याय विभागका कागजातमा केही तस्बिरहरू पनि समावेश छन्, जसमा गेट्स महिलाहरूसँग देखिएका छन् । ती तस्बिर एपस्टाइनको आग्रहमा बैठकपछि खिचिएको गेट्सले बताएका छन् । उनले आफूले कहिल्यै पनि एपस्टाइनका पीडितहरूसँग समय नबिताएको दाबी गरेका छन् । बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनका प्रवक्ताले उक्त बैठक पूर्वनिर्धारित रहेको र गेट्सले विभिन्न विषयमा उठेका प्रश्नहरूको जवाफ दिएको बताएका छन् । फाउन्डेशनले यस विषयमा यही नै आधिकारिक धारणा भएको जनाउँदै थप टिप्पणी नगर्ने स्पष्ट पारेको छ । यसअघि पनि फाउन्डेशनले एपस्टाइनलाई कुनै आर्थिक सहयोग नगरेको र कुनै पदमा नियुक्ति नदिएको स्पष्ट पारेको थियो । गेट्स फाउन्डेशन सन् २००० मा स्थापना भएको विश्वकै ठूलो परोपकारी संस्थामध्ये एक हो । सन् २०२४ मा मेलिन्डा गेट्सले सहअध्यक्ष पदबाट राजीनामा दिएपछि संस्थाको नेतृत्व गेट्सले सम्हाल्दै आएका छन् । गेट्सले सन् २०४५ को डिसेम्बर ३१ मा संस्था स्थायी रूपमा बन्द गर्ने घोषणा गरिसकेका छन् । उनले सन् २०२६ का लागि करिब ९ अर्ब डलर र आगामी २० वर्षका लागि २०० अर्ब डलर बराबरको परोपकारी बजेट तय गरेको बताएका छन् । साथै आगामी दिनमा कर्मचारी संख्या घटाउँदै क्षतिपूर्ति उपलब्ध गराउने योजना पनि सार्वजनिक गरेका छन्।

७- परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल-चीन द्विपक्षीय सम्बन्ध र सहकार्यसँग सम्बन्धित विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीचको सहयोगलाई थप सुदृढ र विस्तार गर्ने विषयमा समेत विचार आदान-प्रदान भएको बताइएको छ ।

८-  ब्राजिलको दक्षिण- पूर्वी राज्य मिनास गेरैसमा लगातारको भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। सोमबार साँझदेखि सुरु भएको तीव्र वर्षापछि जुइज दे फोरा र उबा शहरमा सबैभन्दा बढी क्षति पुगेको जनाइएको छ । अधिकारीहरूका अनुसार जुइज दे फोरामा १८ र उबामा ७ जनाको ज्यान गएको छ । बाढी र पहिरोका कारण धेरै घर तथा भवनहरू भत्किएका छन् भने दर्जनौं व्यक्ति अझै बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको बताइएको छ । राष्ट्रपति लूला दा सिल्वाले जुइज दे फोरामा विपद् अवस्था घोषणा गर्दै मानवीय सहायता र पुनर्निर्माणका लागि संघीय सरकारको पूर्ण सहयोग रहने आश्वासन दिएका छन् । जुइज दे फोरामा मात्र करिब ४४० जना विस्थापित भएका छन् । स्थानीय प्रशासनले अस्थायी आश्रयस्थल स्थापना गरी राहत सामग्री उपलब्ध गराउन अपिल गरेको छ। नगर प्रमुखले तीन दिनको शोक घोषणा गरेका छन् । स्थानीय अधिकारीहरूका अनुसार यस वर्षको फेब्रुअरी महिनामा परेको वर्षा शहरको इतिहासमै सबैभन्दा बढी रहेको छ । राष्ट्रिय मौसम विभागले मिनास गेरैस र रियो दे जेनेरियोसहितका विभिन्न राज्यमा भारी वर्षाको चेतावनी जारी गरेको छ । गत वर्ष रियो ग्रान्दे दो सुल राज्यमा यस्तै विपद्मा करिब २०० जनाको ज्यान गएको थियो ।

९- नेप्से १०.३० अंकले बढेको छ । बुधबार नेप्से १०.३० अंकले बढेर २६४८. ९० विन्दुमा पुगेर रोकिएको छ । आज ३३३ कम्पनिका एक करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर ४ अर्ब ४५  करोड ११ लाख ४९ हजार ८० मा कारोबार भएको थियो । आज फाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सालपा विकास बैंक र रिलायन्स स्पिनिंग मिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै वीन नेपाल लघुवित्तको शेयर ९.६६ प्रतिशतले बढेको छ ।  त्यसैगरी आज हिमालयन पावर पार्टनरको सेयर ५.९८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २६ करोड ६९ लाख बराबरको कारोबार भएको छ भने को एनगाडीको २५ करोड ४७ लाख बराबरको कारोबार भएको छ ।

१०-  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको रुपन्देहीका सीमा नाकाहरु बन्द हुने भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरु ७२ घण्टाका लागि बन्द हुने जानकारी दिएको छ । सूचना अनुसार, फागुन १८ (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीवार) राति १२ बजेसम्म सीमा नाकाहरु बन्द हुने छन् ।  सो अवधिमा सीमाबाट पैदलयात्री, माल तथा यात्रुवाहक सावरी साधनहरु आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ । निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल-भारत दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।  साथै फागुन २० गते (बुधवार) राति १२ बजेदेखि फागुन २१ (बिहीवार) मतदान कार्य सम्पन्न नभएसम्म एम्बुलेन्स, दुग्धका ट्यांकर, दकमल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

११- बालबालिकाका लागि खोप सिफारिशमा संघीय सरकारले गरेको बदलावका कारण अमेरिकी ट्रम्प प्रशासन दबाबमा परेको छ । १० भन्दा बढी अमेरिकी राज्यहरूले संघीय सरकारविरुद्ध मुद्दा दायर गर्दै नयाँ दिशानिर्देशले सार्वजनिक सुरक्षा खतरामा पार्ने बताएका छन् । राज्यहरूको तर्क अनुसार सेंटर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले गत महिनामा घोषणा गर्दै सबै बालबालिकालाई फ्लू, रोटावायरस, हेपाटाइटिस ए, हेपाटाइटिस बी, केही प्रकारका मेनिन्जाइटिस र आरएसभीबाट बचाउने खोप लगाउने सिफारिश बन्द गर्ने निर्णयले बालबालिकाको स्वास्थ्य जोखिममा पारेको छ । एरिजोना र क्यालिफोर्नियासहितका दर्जनौं राज्यहरूले नयाँ खोप सिफारिश पुरानो चिकित्सकीय मार्गदर्शनको विपरीत रहेको र यसले रोग रोकथामका लागि राज्यहरूको खर्च बढाउने बताएका छन् ।  तर, संघीय स्वास्थ्य विभागकी प्रवक्ता एमिली जी हिलियार्डले यो मुद्दालाई प्रचारका लागि गरिएको प्रयास मात्र भन्दै अस्वीकार गरेकी छन् । स्वास्थ्य मन्त्री रॉबर्ट एफ कैनेडी जुनियर खोपका समर्थक नहुने भएकाले ट्रम्प प्रशासन र विपक्षी डेमोक्रेटिक पार्टीबीच तनाव जारी रहेको छ । ट्रम्प प्रशासनले पहिले नै संघीय स्वास्थ्य संस्थाका हजारौं कर्मचारीलाई पदमुक्त गरिसकेको छ भने वैज्ञानिक अनुसन्धान र अनुदानमा पनि कटौती गरिएको छ । क्यालिफोर्निया, वाशिंगटन र ओरेगनका डेमोक्रेटिक राज्य प्रमुखहरूले खोप सिफारिशमा आफ्नो अधिकार सुनिश्चित गर्न गठबन्धन गठन गरेको केही महिनापछि यो मुद्दा दायर गरिएको हो । उनीहरूले संघीय सरकारको निर्णयले रोग नियन्त्रण निकायलाई राजनीतिकरण गर्दै जनस्वास्थ्य जोखिममा पारिरहेको बताएका छन् । विशेषज्ञहरूका अनुसार स्कूली बालबालिकालाई खोप अनिवार्य गर्ने अधिकार राज्यसँग मात्र छ, संघीय सरकारसँग छैन। तर, डिजिज कन्ट्रोल एजेन्सीले राज्यका स्वास्थ्य नियमहरूमा अप्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।

१२- पोखरा महानगरले आव २०८३/०८४ मा सञ्चालन हुने ‘न्यूनतम रोजगार कार्यक्रम’ अन्तर्गत संलग्न हुन इच्छुक बेरोजगारहरूको लागि आवेदन मागेको छ । यस कार्यक्रमअन्तर्गत १८ वर्ष पुरा गरी ५९ वर्ष ननाघेका विपन्न, न्यून आय भएका वा स्वरोजगारमा संलग्न नभएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । आवेदन पेश गर्ने अन्तिम मिति फागुन मसान्त २०८२ तोकिएको छ । अघिल्लो आर्थिक वर्षमा सूचीमा सूचीकृत भएका बेरोजगारहरूले पनि यस वर्षका लागि आफ्नो आवेदन नवीकरण गर्नुपर्ने जनाइएको छ । आवेदन स्थायी बसोबास भएको सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित पेश गर्न सकिनेछ । आवेदनका लागि आवश्यक कागजातमा वडा अध्यक्षबाट प्रमाणित आवेदन फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति हालै खिचिएको पासपोर्ट साइज फोटो, बसाइसराइ प्रमाणपत्र (यदि स्थानान्तरण भएको हो भने), कुनै सीपमूलक तालिम लिएको भए सोको प्रमाणपत्र, र परिवारका सदस्यहरूको नागरिकता प्रमाणपत्र वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि समावेश छन् । महानगरपालिकाले आवेदन फारमका लागि कार्यालयमा उपलब्ध गराउनेछ र न्यूनतम रोजगार कार्यक्रम बाहेक अन्य रोजगार तालिम वा रोजगारी खोजी सम्बन्धी सेवा प्राप्त गर्न इच्छुकहरूले सम्बन्धित विभागमार्फत दर्ता गर्न सक्ने जनाइएको छ ।  महानगरपालिकाले सबै इच्छुक नागरिकहरूलाई तोकिएको म्यादभित्र आवेदन दिन आग्रह गरेको छ ।

१३-  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च हिमाली क्षेत्रमा भएको नकली उद्धार (फेक रेस्क्यू) मामिलामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार ट्रेकिङ तथा उड्डयन क्षेत्रका कम्पनीहरूले स्वास्थ्य समस्या परेको विदेशी पर्यटक उद्धार गरेको देखाई बीमा रकम दावी गरी गैरकानुनी आर्थिक लाभ उठाएको पाइएको छ । यसमा माउन्टेन रेस्क्यू सेवा प्रालि, एभरेस्ट एक्सपीरियन्स एण्ड एसिस्टेन्स प्रालि, नेपाल चार्टर सेवा प्रालि लगायतका कम्पनीहरूले सरकारी अभिलेखमा हेरफेर गरी रेस्क्यू सेवाको बिल र चिकित्सकीय विवरण तयार गरी बीमा रकम दावी गरेको खुलासा भएको छ । नक्कली उद्धारको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित भएपछि यस विषयमा मुलुकी अपराध संहिता, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अनुसार कानुनी कारबाही अघि बढाइएको छ । हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमा एजेन्ट र हेलिकप्टर कम्पनीका शेयरधनीसहित नौ जनालाई पक्राउ गरी अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ । पक्राउ परेकामा रोयल हलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनी प्रालि, ठमेलका २८ बर्षिय सन्दिप तिवारी, विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्र बहादुर सिंह रहेका छन् । ब्यूरोले यस विषयमा थप अनुसन्धान भईरहेको छ र आवश्यक कारबाही अघि बढाइने बताएको छ ।

१४-  नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सोहि मुल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३० रुपैयाँले बढेर तोलाको ५७१५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५५८५ मा कारोबार भएको थियो ।

१५- जापानले ताइवान नजिकको आफ्नै पश्चिमी टापु योनागुनीमा २०३१ मार्चसम्म सतह-देखि-आकाश मिसाइल तैनाथ गर्ने योजना बनाएको छ ।  जापानी रक्षामन्त्री शिनजिरो कोइजुमीका अनुसार यो घोषणा २०२२ मा उक्त मिसाइल तैनाथ गर्ने निर्णय सार्वजनिक भएयता पहिलो पटक समयसीमा तोकिएको हो । चीनले आत्म-शासित ताइवानलाई आफ्नो भूभागको रूपमा दाबी गर्छ र यससँग पुनः एकीकरणका लागि बल प्रयोग गर्न सक्ने संकेत दिइसकेको छ । योनागुनी टापु स्पष्ट दिनमा ताइवानको तटबाट देख्न सकिने दूरीमा रहेको छ, करिब ११० किलोमिटर (६८ माइल) टाढा रहेको छ । जापान र चीनबीचको तनाव नोभेम्बरदेखि उच्च रहँदै आएको छ, जब जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमाथि आक्रमण भएमा जापानको आत्म-रक्षा बल सक्रिय गर्न सक्ने संकेत दिएकी थिइन् । यसले अमेरिकी सहयोगीसँगको सम्बन्धमा पनि चिन्ता बढाएको छ, किनभने ताइवानमाथि आक्रमणले सिधा सैन्य द्वन्द्व उत्पन्न गर्न सक्ने जोखिम छ । जापानका रक्षामन्त्री कोइजुमीले मिसाइल तैनाथीको समयसीमा घोषणा गर्दै योनागुनी युनिटमा मध्यम दूरीको सतह-देखि-आकाश मिसाइल राखिने र आउँदै गरेको विमान र मिसाइललाई लक्ष्य गर्न सक्षम हुने बताएका छन् । करिब ५० किलोमिटरको दूरीमा मिसाइलले ३६० डिग्रीमा लक्ष्य ट्र्याक गर्न सक्छ र एकैपटक १२ वटा लक्ष्यमा प्रहार गर्न सकिन्छ । यो घोषणा चीनले अझै औपचारिक प्रतिक्रिया दिएको छैन, तर नोभेम्बरमा कोइजुमी योनागुनी भ्रमण गर्दा चीनले ‘क्षेत्रीय तनाव सिर्जना र सैन्य द्वन्द्व उत्पन्न गर्ने प्रयास’ भएको भन्दै आलोचना गरेको थियो । त्यसपछि चीनले टापु नजिक ड्रोन उडाएर आफ्नो गम्भीरता देखाएको थियो । योनागुनी टापुमा मिसाइल तैनाथी मात्र सैन्य समायोजन नभएर जापानको आक्रामक रक्षा नीति लागू गर्ने पहिलो चरण जस्तो देखिन्छ । पछिल्लो दशकमा जापानले योनागुनीलाई समुद्री निगरानी गर्ने सैन्य पोस्टमा रूपान्तरण गरेको छ, जहाँ करिब १६० जना आत्म-रक्षा बलको सदस्य कार्यरत छन् । आगामी आर्थिक वर्ष २०२६ मा इलेक्ट्रोनिक युद्ध युनिट स्थापना गरिने योजना छ । कोइजुमीका अनुसार मिसाइल युनिट तैनाथीको समयसीमा भविष्यमा पूर्वाधार सुधारको प्रगतिको आधारमा परिवर्तन हुन सक्छ, तर वर्तमान योजना अनुसार आर्थिक वर्ष २०३० मा सम्पन्न हुने देखाइएको छ ।

१६- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सिंहदरबार जलाउनेहरू आन्दोलनको स्टेकहोल्टर दाबी गर्दै अहिले भोट माग्न आएका त छैनन् भन्दै टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै  झाँक्रीले विगतमा नवयुवालाई मानव ढालका रूपमा प्रयोग गरी हिंसामा उक्साइएको घटनालाई आफूहरूले नबिर्सिएको, नबिर्सने र माफी नदिने उल्लेख गरेकी छन् । उनले भनेकी छन्- हाम्रा नवयुवालाई मानव ढालको रूपमा प्रयोग गरेर हत्या गर्न उक्साएको हामीले नविर्सेका छौं, न विर्सने छौं, न माफ गर्नेछौं । र, जलाएको सिंहदरवार, जलाएको सर्वोच्च अदालत, खरानी बनाएको संसद भवन, जलाएको राष्ट्रपति भवनः हामी विर्सेका छैनौ । बिर्सने छैनौ ।’ उनले सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन तथा राष्ट्रपति भवन जलाइएका घटनाको स्मरण गराउँदै ती घटनाबाट सयौँ युवाका सपना उजाडिएको दाबी गरिन् । झाँक्रीले आम नागरिकलाई एकपटक सोच्न आग्रह गर्दै ती विध्वंसकारी गतिविधिमा संलग्नहरू अहिले कहाँ छन् भन्ने प्रश्न उठाएकी छन् ।  उनले राष्ट्रका धरोहरमा आगजनी गर्नेहरूबाट सतर्क रहन समेत आग्रह गरेकी छन् ।

१७- नेपाली राष्ट्रिय फुटबल टिमले आगामी चैत १२ गते (मार्च २६) मा हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मैत्रीपूर्ण खेल काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।  एन्फाले नेपाली समर्थकलाई रंगशालामा उपस्थित भई राष्ट्रिय टोलीलाई हौसला प्रदान गर्न आह्वान समेत गरेको छ ।

१८- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारमा अवरोध पुर्‍याउने कुनै पनि व्यक्ति वा समूहविरुद्ध निर्वाचन आयोगले कडा कारबाही गर्ने चेतावनी दिएको छ । आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार कुनै पनि दल, उम्मेदवार वा भातृ संगठनले आयोजना गरेको जुलुस, बैठक, कोणसभा वा अन्य कार्यक्रममा बाधा पुर्‍याउन नहुनेछ। उल्लंघन भएमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ । निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सरोकारवाला र आम नागरिकलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा प्रचारप्रसार गर्ने वातावरण बनाउन सचेत रहन आग्रह गरेको छ ।

१९-  एटलेटिको म्याड्रिडसहित चार क्लब युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा पुगेका छन् । गएराती सम्पन्न प्लेअफका खेलमा जित हासिल गर्दै एटलेटिको म्याड्रिडले क्लब ब्रुगेलाई समग्रमा ७-४ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा पुगेको छ । त्यस्तै बायर लुभरकुसनले ओलाम्पियाकोसलाई समग्रमा २-० गोल अन्तरले पराजित गरेको छ र राउण्ड १६ मा पुगेको छ भने नर्वेजियन क्लब बोडेले इन्टर मिलनलाई ५-२ गोल अन्तरले स्तब्ध बनाउदै राउण्ड १६ मा स्थान बनाएको छ । त्यस्तै न्यूक्यासल युनाइटेडले क्वाराबाग एफकेलाई समग्रमा ९-३ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको राउण्ड १६ मा पुगेको छ । च्याम्पियन्स लिगको राउण्ड १६ मा यस अघि ८ क्लब बार्सिलोना, चेल्सी, लिभरपुल, टोटनह्याम, स्पोर्टिंग सिपी, म्यानचेस्टर सिटी,आर्सनल र बायर्न म्युनिखले सिधै स्थान बनाएका थिए ।

images

२०-  सामाजिक सञ्जाल माध्यम ‘इन्स्टाग्राम’ मा किशोर सुरक्षासम्बन्धी चकित पार्ने तथ्य सार्वजनिक भएको छ । अमेरिकाको क्यालिफोर्नियामा चलिरहेको सङ्घीय मुद्दाका क्रममा अदालतमा पेश कागजातअनुसार १३ देखि १५ वर्ष उमेर समूहका करिब १९ प्रतिशत प्रयोगकर्ताले आफूले नचाहेका ‘आपत्तिजनक वा यौन तस्बिर’ देखेको बताएका छन् । ती कागजातमा सन् २०२५ मार्चमा ‘इन्स्टाग्राम’ प्रमुख एडम मोसेरीले दिएको बयानका अंशसमेत समावेश छन् । कम्पनीका प्रवक्ता एन्डी स्टोनका अनुसार यो तथ्याङ्क सन् २०२१ मा गरिएको प्रयोगकर्ता सर्वेक्षणमा आधारित हो । सर्वेक्षणमा करिब ८ प्रतिशत किशोरले ‘इन्स्टाग्राम’मा कसैले आफूलाई हानि पुर्‍याइरहेको वा त्यस्तो धम्की दिएको सामग्री देखेको उल्लेख गरेका छन् । अदालतमा पेश अन्य कागजातले कम्पनीका अनुसन्धानकर्ताले किशोर प्रयोगकर्तालाई सबैभन्दा महत्वपूर्ण समूहका रूपमा लिएको देखाउछन् । सन् २०२१ जनवरीको एक स्मरणपत्रमा किशोरमार्फत परिवारका अन्य सदस्यसम्म पुग्न सकिने रणनीति अपनाउन सुझाव दिइएको थियो । ‘फेसबुक’ र ‘इन्स्टाग्राम’को स्वामित्वमा रहेको ‘मेटा प्लेटफर्म्स’माथि विश्वभर किशोरहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको आरोप लाग्दै आएका छन् । अमेरिकामा मात्रै हजारौं मुद्दा दर्ता भएका छन्, जसमा कम्पनीले जानाजानी लत लाग्ने किसिमले माध्यम विकास गरेको दाबी गरिएको छ । यता कम्पनीले भने अधिकांश आपत्तिजनक सामग्री व्यक्तिगत सन्देशमार्फत पठाइने गरेको दाबी गर्दै गोपनीयताको कारण सबै सन्देश निगरानी गर्न नसकिने जनाएको छ । बढ्दो दबाबबीच सन् २०२५ अन्त्यतिर कम्पनीले कृत्रिम बुद्धिमत्तामार्फत तयार गरिएका आपत्तिजनक वा यौन सामग्री हटाउने नीतिमा कडाइ गर्ने घोषणा गरेको छ ।यसबीच अष्ट्रेलिया, फ्रान्स, डेनमार्क, स्पेन, मलेसिया, ग्रीस, स्लोभेनिया र नर्वे लगायत देशहरूले किशोरहरूको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्ने वा प्रतिबन्ध लगाउने पहल अघि बढाएका छन् । भारतले पनि आर्थिक सर्वेक्षण २०२६-२७ मा बालबालिका र किशोरमा बढ्दो सामाजिक सञ्जाल लतप्रति चिन्ता व्यक्त गर्दै कडा मापदण्ड सिफारिस गरेको छ ।

#Top20News #DailyBulletin #MainNews #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #अन्तर्राष्ट्रियसमाचार #NepalNews #BreakingNews #NewsUpdate #PoliticalNews #EconomicNews #SocialNews #SportsNews #EntertainmentNews #NepalUpdate #TodayNews #DailyUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages