

काठमाडौँ । न्यूजील्याण्डसँग पराजित भएपछि श्रीलंका जारी टी-२० विश्वकपबाट बाहिरिएको छ ।
बुधबार सम्पन्न सुपर आठ अन्तर्गतको खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको १६९ रनको लक्ष्य पाएको श्रीलंका २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाएपछि खेल ६१ रनले हारेको थियो ।
श्रीलंकाका लागि कमिन्दु मेन्डिसले सर्बाधिक ३१ रन बनाए भने दुनिथ वेल्लालागेले २९ रन बनाएका थिए । श्रीलंकाको ब्याटिंग लाइन ध्वस्त पार्न न्यूजील्याण्डका बलर रचिन रविन्द्रले ४ विकेट लिएका थिए भने माट हेनरीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो । न्यूजील्याण्डका लागि कप्तान मिचेल सान्टनरले ४७ रन, कोल म्याककोनचीएले ३१ रन, रचिन रविन्द्रले ३२ र फिन एलेनले २३ रन बनाएका थिए ।

यो जितपछि न्यूजील्याण्डको २ खेलमा ३ अंक हासिल गरेको छ र सुपर आठको समुह २ मा दोस्रो स्थानमा रहेको छ । यस समुहबाट दुवै खेल जितेर इङल्याण्ड विश्वकपको सेमिफाइनलमा पुगिसकेको छ । अब न्यूजील्याण्डको पनि सम्भावना बलियो रहेको छ ।
अब आयोजक मध्ये एक रहेको श्रीलंका विश्वकपबाट बाहिरिएको छ ।
अब श्रीलंकाले अब आफ्नो अन्तिम खेल शनिबार पाकिस्तानसँग खेल्ने छ । त्यस्तै न्यूजील्याण्डले आफ्नो सुपर आठको अन्तिम खेल इङल्याण्डसँग खेल्ने छ ।



