

काठमाडौँ । अमेरिकामा प्रविधि कम्पनी गुगलको नयाँ तथ्याङ्क केन्द्र सञ्चालनका लागि ठूलो क्षमताको ऊर्जा सञ्चय प्रणाली स्थापना गर्ने भएको छ । परियोजनाअन्तर्गत विश्वकै सबैभन्दा ठूलो मानिएको ब्याट्री प्रणाली जडान गर्ने तयारी गरिएको हो ।

यो ऊर्जा सञ्चय प्रणाली ३०० मेगावाट क्षमता र ३० गिगावाट-घण्टा ऊर्जा भण्डारण क्षमताको हुने जनाइएको छ । उक्त प्रणाली फर्म इनर्जी कम्पनीले विकास गरिरहेको छ भने अमेरिकाको मिनेसोटा राज्यको पाइन आइल्याण्ड क्षेत्रमा स्थापना गरिनेछ ।
परियोजना कार्यान्वयनको जिम्मा ऊर्जा सेवा प्रदायक एक्ससेल इनर्जीले लिएको छ । गुगलसँगको सहकार्यमा स्थानीय विद्युत् सञ्जालमा १.४ गिगावाट पवन ऊर्जा र २०० मेगावाट सौर्य ऊर्जा थप गरी तथ्याङ्क केन्द्रलाई आवश्यक विद्युत् आपूर्ति गरिने योजना रहेको छ ।
फलाम-हावा प्रविधिमा आधारित यस ब्याट्री प्रणालीले करिब १०० घण्टासम्म निरन्तर ऊर्जा आपूर्ति गर्न सक्ने बताइएको छ । ऊर्जा भण्डारण क्षमताका आधारमा हालसम्म घोषणा गरिएका परियोजनामध्ये यो सबैभन्दा ठूलो हुन सक्ने दाबी गरिएको छ ।
नवीकरणीय स्रोतबाट स्थिर रूपमा विद्युत् उपलब्ध गराउने चुनौती समाधान गर्न लामो समयसम्म ऊर्जा सञ्चय गर्न सक्ने प्रविधिलाई महत्वपूर्ण विकल्पका रूपमा हेरिएको छ । फर्म इनर्जीले विकास गरेको प्रविधिमा फलाम र हावाबीच हुने रासायनिक प्रक्रियामार्फत ऊर्जा उत्पादन तथा पुनः सञ्चय गरिने जनाइएको छ ।
#EnergyStorage #RenewableEnergy #TechNews #GoogleDataCenter #CleanEnergy #Innovation #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



