

काठमाडौँ । इरानको राजधानी तेहरानसहित विभिन्न सहरमा इजरायलले हवाई आक्रमण गरेको छ । शनिबार बिहान ती क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको र हवाई आक्रमणसम्बन्धी चेतावनी सायरन बजाइएको जनाइएको छ ।
इजरायली रक्षा बलले इरानमाथि गरिएको आक्रमणलाई ‘पूर्वसावधानी स्वरूपको हमला’ भएको जनाएको छ । आक्रमणपछि इरानले देशभरका सबै उडान स्थगित गर्दै आफ्नो आकाश मार्ग खाली गराएको छ । यता इजरायलमा पनि हवाई आक्रमणको चेतावनी सायरन बजाइएपछि संवेदनशील क्षेत्र खाली गराइएको छ भने नागरिकलाई घरभित्रै बस्न आग्रह गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो आक्रमण अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको दाबी गरिएको छ । सो क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको कार्यालय नजिक समेत हमला भएको जनाइएको छ । घटनापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।
इजरायलले इरानविरुद्ध सुरु गरेको नयाँ सैन्य अभियानलाई ‘लायन्स रोर’ नाम दिइएको छ, जसको नामकरण प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गरेका हुन् ।
इरान र अमेरिकाबीच आणविक कार्यक्रमलाई लिएर वार्ता चलिरहेका बेला उक्त आक्रमण भएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कारबाहीको चेतावनी दिएका थिए भने अमेरिकाले आफ्ना नागरिकलाई इजरायल छाड्न समेत आग्रह गरेको थियो ।
#IranAttack #USIsraelConflict #MiddleEastNews #GlobalCrisis #WorldPolitics #BreakingNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



