मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली–उद्धारको लागि ‘पर्ख र हेर’को रणनीतिमा सरकार

परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाखभन्दा बढी नेपाली रहेका जनाएको छ । मन्त्रालयका सहसचिव एवं मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले करिव १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक मध्यपूर्वमा रहेको जानकारी दिनुभयो । मन्त्रालयले आईतवार मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भयो ।

मन्त्रालयले ती देशका लागि ट्राभल एड्भाइजरी जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ । साथै, सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरूसँग समन्वयका लागि ह्वाट्सएप समूह गठन गरिएको उहाँले जानकारी दिनुभयो । जहाँ स्थानीय गतिविधि र नेपालीहरूले भोगेका समस्याबारे नियमित अपडेट भइरहेको छ ।

Nepal life insurance

खड्काले उद्धार तथा नागरिकको अवस्थाबारे तथ्यांक संकलन गर्न कन्सुलर सेवा विभाग मार्फत अनलाइन दर्ता प्लेटफर्म विकासको काम शुरु गरेको जानकारी दिनुभयो । दर्ता प्लेटफम सबै नियोगहरूको वेबसाइटमा उपलब्ध गराइनेछ । उहाँले आईतवार मुख्यसचिव सुमनराज अर्यालको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने गरी आकस्मिक उद्धार टोली गठन गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । सम्भावित युद्धको अवस्था, त्यसको अवधि, छिमेकी मुलुकहरूको कदम र सम्बन्धित देशहरूको तत्परताका आधारमा उद्धार रणनीति तय गरिने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार इरानमा रहेका १० नेपालीमध्ये ४ जना स्वदेश फर्किसकेका छन् भने ६ जना अझै त्यहीं छन् । इजरायलमा करिव ६ हजार ५ सय, इजिप्टमा ५ सय, ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरेबियामा ३ लाख ८४ हजार ८ सय ६५, संयुक्त अरब इमिरेट्समा करिब ७ लाख, लेबनानमा १ हजार ४ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली नागरिक मध्यपूर्वमा रहेका छन् ।

उहाँले भन्नुभयो, ‘खासगरि यतिखेरको अवस्थामा परराष्ट्र मन्त्रालय र नेपाल सरकारको उच्च प्राथमिकतामा मध्य पूर्वमा रहेका नागरिकहरुको सुरक्षा रहेको छ । यसको लागी हामीले विभिन्न प्रक्रियाको थालनी गरेका छौँ । मध्यपूर्वको ईरानमा १० जना नेपाली थिए, त्यसमा ४ जना फर्किसकेका छन्, ६ जना हुनुहुन्छ । ईजरायलमा करिव ६ हजार ५ सय हुनुहुन्छ । इजिप्टमा ५ सय हुनहुन्छ, ईजिप्टमा प्रभाव छैन तर जोर्डन प्रभावित देखिन्छ । ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराईनमा २८ हजार, साउदी अरवमा ३ लाख ८४ हजार ८ सय ६५,  संयुक्त अरव इमिरेटमा लगभग ७ लाख, लेभलानमा १ हजार ४ सय, इराकमा ३० हजार र साईप्रसमा १७ हजार गरि करिव १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक मध्येपूर्वमा रहेका छन् । सरकारले उनीहरुलाई सुरक्षित रहनको लागी ट्राभल एड्भजारी जारी गरेको छ । मन्त्रालय र सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरुको ह्वाट्सएप ग्रुप बनाएका छौँ । त्यहाँका गतिविधिहरु ग्रुपमा अपडेट गर्ने गरिएको छ । नेपालीहरुले भोगेको समस्याको पनि त्यहाँ अपडेट हुने गरेको छ । त्यसैगरि कन्सुलर सेवा विभागलाई नेपाली नागरिकको उद्धार गर्नको लागि र नेपालीहरुको अवस्थाको जानकारीको लागि रजिष्ट्रेसन प्लेटर्फम विकास गर्ने कामको थालनी भएको छ । यो भोलिसम्ममा तयार हुन्छ र सबै नेपाली नियोगहरुको वेवसाईटमा हामी त्यसलाई राख्नेछौँ । त्यसले नेपाली नागरिकलाई आफ्नो डाटा राख्न सजिलो हुन्छ । कन्सुलर सेवा विभागले एपको पनि विकास गरेको छ । संगै आज मुख्यसचिवज्युको नेतृत्वमा सम्पुर्ण सरोकारवालाहरुको उपस्थितिमा बैठक बसेको थियो ।  बैठकले परराष्ट्र मन्त्रालयको सचिवको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहनेगरि आकस्मिक उद्धार टिम गठन गर्ने निर्णय गरिएको छ । उद्धारको सन्दर्भमा युद्धको कस्तो अवस्था रहन्छ, लामो समय जाने अवस्थामा छिमेकी मुलुकहरुले लिने कदम, सम्बन्धितछ मुलुकहरुले देखाउने तत्परताको समयको अवस्थालाई हेरेर उद्धारको रणनीति लिनुपर्ने हुनसक्छ भन्ने मन्त्रालयको बुझाई छ । यो इमरजेन्सी टाकफोर्सको चाँही स्थायी संरचना नै बनाउन आवश्यक छ । किनभने ठुलो संख्यामा नेपालीहरु बाहिर हुनुहुन्छ, । उहाँहरुलाई कुनैपनि समय यो पर्न सक्छ । यसलाई नेपाल सरकारले नै निर्णय गरेर स्थायी पूर्ण अधिकारहितको संरचना बनाउन आवश्यक छ ।’ 

मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले हालसम्म प्राप्त सूचनाअनुसार मध्यपूर्वमा रहेका नेपालीहरू सुरक्षित रहेको बताउनु भयो । उहाँकाअनुसार मध्यपुर्व क्षेत्रमा रहेका १० नेपाली नियोगहरूले स्थानीय सरकार र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रही मन्त्रालयलाई प्रतिवेदन पठाइरहेका छन् । ढकालले मध्यपूर्वमा रहेका नेपालीलाई नआत्तिन, सुरक्षित रहन, आफन्तसँग सम्पर्कमा रहिरहन तथा स्थानीय सरकार र दुतावासबाट जारी आधिकारिक सूचनाको पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले नेपालमा रहेका आफन्तलाई पनि अनाश्यक सूचनाको पछि नलागी नियमित परिवारको सदस्यसंग सम्पर्कमा रहन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म प्राप्त सूचना र जानकारीअनुसार मध्यपूर्वमा रहेका नेपालीहरु सुरक्षित हुनुहुन्छ । मध्यपूर्वमा रहेका विभिन्न मुलुकका १० वटा नेपाली नियोगहरु त्यहाँ रहेका नेपाली समुदायहरुसंग निरन्तर सम्पर्कमा हुनुहुन्छ, उहाँहरुको अवस्था बुझिरहनु भएको छ र मन्त्रालयमा रिर्पोट गरिराख्नुभएको छ । हाम्रा नियोगहरु मध्येपुर्वमा रहेका विभिन्न मुलुकका सरकार र आधिकारिक निकायसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ । मध्यपुर्वमा रहनुभएका नेपालीहरुलाई म निवेदन गर्न चाहन्छु, तपाईहरु नआत्तिनुहोला, आफूलाई सुरक्षित राख्नुहोला । आफन्तहरुसँग निरन्तर सम्पर्कमा रहनुहोला । स्थानिय सरकारहरुद्वारा जारी गरिएका अधिकारिक सूचनाहरु थाहा पाइराख्नुहोला । दुतावास र पराष्ट्रमन्त्रालयसँग निरन्तर सम्पर्कमा रहनुहोला ।’ 

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मध्यपूर्व क्षेत्रमा विकसित घटनालाई नेपाल सरकारले नजिकबाट नियालिरहेको बताउनु भयो । उहाँले सबै पक्षहरुलाई अधिकतम संयमता अपनाउन, तनावलाई थप बढ्न नदिन र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नको लागि नेपाल सरकारले आग्रह गरेको बताउनु भयो ।

नेपालले कुटनीतिक र वार्ताको माध्यमबाट विवाद समाधान गर्न, संयुक्त राष्ट्रसंघको वडापत्र र अन्तर्राष्ट्रिय कानूनका पालन गर्न र सबै राष्ट्रको सार्वभौम अधिकारको सम्मान गर्न पनि आह्वान गरेको छ । – न्युज एजेन्सी नेपाल

#मध्यपूर्व #नेपालीकामदार #उद्धारअभियान #नेपालसरकार #विदेशनीति #NepaliDiaspora #GovernmentStrategy #InternationalNews #BreakingNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimages