

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीति अब सरकार बनाउने र टिकाउने फोहोरी खेलबाट बाहिर निस्कनुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आगामी ५ वर्षको समयलाई ‘परिणामको समय’ बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिक नेतृत्वको सम्पती छानबिनदेखि मध्यम वर्गलाई आर्थिक राहत दिनेसम्मका महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्दै काँग्रेसले अबको निर्वाचनपछि सुशासनको नयाँ मानक स्थापित गर्ने दाबी गर्नुभयो । थापाले विगतका वर्षहरूमा सरकार बनाउने र टिकाउने धन्दामा सबै दलहरू अल्झिएको स्वीकार गर्दै अबको संसदले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

‘३२ सिट हुनेलाई पनि प्रधानमन्त्री चाहिने र थोरै सिट हुनेलाई पनि गृहमन्त्री नै चाहिने प्रवृत्तिले देश विकास हुन सकेन ।’ उहाँले भन्नुभयो, ‘अबको ५ वर्ष हामी एक क्षण पनि खेर नफालिकन सुशासन र विकासका लागि सदुपयोग गर्न चाहन्छौँ ।’
शक्तिशाली सम्पती छानबिन आयोगको प्रश्ताव
सभापति थापाले सुशासनका लागि काँग्रेसको स्पष्ट प्रश्ताव रहेको उल्लेख गर्दै सरकार बनेको पहिलो हप्तामै शक्तिशाली सम्पती छानबिन आयोग बनाउने घोषणा गर्नुभयो । उहाँले यो छानबिनको शुरुवात आफ्नै पार्टीका सभापति र आफैँबाट हुने बताउनु भयो ।
‘छानबिन कहाँबाट शुरु हुन्छ ? पहिलो नम्बरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हुन्छ, दोस्रोमा गगन थापाको हुन्छ । जब हामी आफ्नै नेताहरूको छानबिन गर्छौं, तब मात्र केपी ओली वा प्रचण्डको सम्पती छानबिन गर्ने नैतिक बल पुग्छ ।’
उहाँले राजनीतिक र आर्थिक भ्रष्टाचार गर्ने जोकोहीले पनि दण्ड पाउनुपर्ने र यसका लागि काँग्रेसले कुनै सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभयो ।
आर्थिक क्रान्तिः १० लाखसम्मको आम्दानीमा कर छुट
देशको अर्थतन्त्र सुस्ताएको र बजारमा विश्वास डगमगाएको भन्दै थापाले मध्यम वर्गलाई चलायमान बनाउन नयाँ आर्थिक प्रश्ताव अघि सार्नुभयो । उहाँले वार्षिक १० लाख रुपैयाँसम्म कमाउने नेपालीले एक रुपैयाँ पनि कर तिर्नु नपर्ने व्यवस्था गर्ने संकल्प गर्नुभयो ।
‘जब मध्यम वर्गको खल्तीमा पैसा बच्छ, तब मात्र उसले खर्च गर्ने आँट गर्छ र बजार चलायमान हुन्छ ।’ उहाँले भन्नुभयो ।
बैंकहरूमा पैसा थुप्रिए पनि लगानी हुन नसकेको अवस्थालाई चिर्न यो कदम कोशेढुङ्गा सावित हुने उहाँको विश्वास छ । साथै, उहाँले स्वास्थ्य उपचारका लागि खल्तीबाट पैसा तिर्नु नपर्ने गरी बिमा प्रणालीलाई प्रभावकारी बनाउने योजना पनि सुनाउनु भयो ।
निर्वाचनको अर्थः ‘आमा हार्न दिनुहुन्न’
फागुन २१ को निर्वाचनलाई थापाले भावनात्मक र जिम्मेवारीपूर्ण रूपमा व्याख्या गर्नुभयो । उहाँले भाद्र २३ को घटनामा छोरा गुमाएकी आमाको प्रसङ्ग निकाल्दै यो निर्वाचनले ती आमालाई न्याय दिनुपर्ने बताउनु भयो ।
‘चुनावमा पार्टीहरूले जित्ने वा हार्ने कुरा गौण हो, तर छोरा गुमाएकी त्यो आमा यो चुनावमा हार्नुहुन्न ।’ उहाँले भन्नुभयो ।
युवाहरु जुन कारणले सडकमा आएका थिए, त्यसको सम्बोधन अबको ५ वर्षभित्र हुन सकेन भने लोकतन्त्र र राजनीतिको अर्थ नरहने उहाँको तर्क थियो ।
पुरानो र नयाँको परिभाषाः मूल्य र मान्यताको रक्षा
पछिल्लो समय राजनीतिमा ‘नयाँ’ र ‘पुरानो’ बीच भइरहेको बहसलाई चिर्दै थापाले काँग्रेस पुरानो मूल्य र मान्यता बोकेको तर नयाँ युगको चेतना भएको पार्टी भएको दाबी गर्नुभयो ।
‘प्रत्येक नयाँ आफैँ पुरानो हुन्छ, तर हामी हाम्रा संस्थापक नेताहरूले स्थापना गरेका मूल्य र मान्यतालाई अझ दर्रोसँग बोक्छौँ । उहाँले भन्नुभयो ।
उहाँले उत्तेजना र घृणाको राजनीतिले मुलुकलाई कतै नपु¥याउने भन्दै काठमाडौं सधैँ सत्य र न्यायको पक्षमा उभिने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यकर्ताहरूलाई ‘एक व्यक्ति, १० नयाँ सम्पर्क’ को अभियान चलाउन र कांग्रेसको संकल्प घर–घर पु¥याउन निर्देशन समेत दिनुभयो ।
#गगनथापा #सुशासन #विकास #नेपालराजनीति #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



