

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूसहितको उच्चस्तरीय टोलीले आइतबार बाँके जिल्लाको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा जिल्लाको समग्र सुरक्षा तयारी र व्यवस्थापनप्रति सन्तोष व्यक्त गर्दै गृहमन्त्री अर्यालले स्वच्छ निर्वाचनमार्फत राजनीतिक सुशासन कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । उनले जिल्लाको परिवेशअनुसार सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गराउन र कानुन उल्लङ्घन गर्ने जो-कोहीलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारीबाट प्रस्तुत एकीकृत निर्वाचन सुरक्षा योजना, सुरक्षाकर्मी परिचालन र मतपेटिका ढुवानीलगायतका विषयमा जानकारी लिएपश्चात् गृह सचिवज्यूले सम्पूर्ण सुरक्षा निकायलाई उच्च समन्वय र समूह भावनाका साथ परिचालन भई निर्वाचन सफल बनाउन निर्देशन दिएका थिए । कार्यक्रमपश्चात् सञ्चारकर्मीहरूसँगको संक्षिप्त भेटघाटमा गृहमन्त्री अर्यालले राष्ट्रिय रूपमै निर्वाचनको माहौल अत्यन्त उत्साहजनक रहेको बताउँदै बाँके जिल्लाको मजबुत पूर्व तयारीले त्यसलाई थप पुष्टि गरेको स्पष्ट पारे ।

२- नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । सभापति गगन थापाले काठमाडौँको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित भएको जानकारी गराएका हुन् । कांग्रेस (बीपी) को नेतृत्वमा सुशीलमान शेरचन छन् । पूर्व सभापति शेरबहादुर देउवासँग विवाद बढ्दै गएपछि डडेलधुराका पूर्व सभापति कर्ण मल्लले कांग्रेस छोडेर कांग्रेस (बीपी) मा आबद्ध भएका थिए । डडेलधुरा कांग्रेसले बीपी कांग्रेसलाई पुरानै पार्टीमा फर्कन अपील गरेको थियो । कांग्रेससँग एकता गर्नका लागि मल्ल सहमत भएका थिए । मल्लले २०७९ सालको निर्वाचनमा डडेल्धुरामा देउवाविरुद्ध चुनाव लडेर ७ हजार ५३५ मत प्राप्त गरेका थिए । त्यस्तै काँग्रेस विपीले डडेल्धुराबाट समानुपातिकतर्फ ४५१४ मत ल्याएको थियो ।
३- इरानले गरेको प्रतिआक्रमणका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा ३ जनाको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपाल, पाकिस्तानब र बंगलादेशका एक एक जना रहेको जानकारी दिएको छ । मन्त्रालयले मृतकको नाम भने खुलाएको छैन । मन्त्रालयका अनुसार हवाई प्रतिरक्षा प्रणाली पार गर्दै प्रवेश गरेका इरानी ड्रोन आक्रमणका कारण जमिनमा क्षति हुँदा पाकिस्तान, नेपाल र बंगलादेशका एक-एक नागरिकको मृत्यु भएको हो । घटनामा कम्तीमा ५८ जना सामान्य घाइते भएका छन् । यूएईका अनुसार इरानले कुल १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो, जसमध्ये १५२ वटा हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको र १३ वटा समुद्रमा खसेका थिए । साथै प्रहार गरिएका दुईवटा क्रुज मिसाइल पनि नष्ट गरिएको जनाइएको छ । त्यस्तै, इरानबाट प्रक्षेपण गरिएका ५४१ वटा ड्रोनमध्ये ५०६ वटा अवरोध गरी खसालिएको तथा ३५ वटा ड्रोन यूएईको भूभागभित्र खसेका मन्त्रालयले जनाएको छ । मिसाइल र ड्रोन अवरोध गर्दा खसेका अवशेषका कारण विभिन्न स्थानमा नागरिक संरचनामा सामान्यदेखि मध्यम क्षति पुगेको बताइएको छ ।
४- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरुको प्रतिस्पर्धा नभएको बताएका छन् । सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कुनै दलसँग आफूहरुको प्रतिस्पर्धा नभएको बताउदै अतिवाद संस्थागन हुन नदिने बताएका हुन् । अहिले अतिवाद संस्थागत हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको भन्दै उनले कांग्रेस हरेक परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको र जेनजी आन्दोलनमा नागरिकले गरेको खबरदारीबाट पनि सच्चिएको पार्टी भएको बताए । ’कांग्रेस अधिकारका लागि लामो समयदेखि बलिदान गरेको पार्टी हो,’ उनले भने,‘को पहिले जन्मियो त्यस आधारमा पुरानो हुँदैन । कांग्रेसलाई पहिले जन्मिएर नयाँ ढंगबाट नागरिकको विश्वास जितेर अघि बढेको रुपान्तरित पार्टीका रुपमा बुझ्नुपर्छ ।’ सभामा बोल्दै महामन्त्री पौडेलले देशमा देखिएका समस्यासँग आफूहरुको लडाईं रहेको बताए । ‘हामी अर्कालाई आलोचना गर्न होइन गरिबी, बेरोजगारी, भ्रष्टाचार कुशासन परास्त गर्न चाहन्छौं,’ उनले भने,‘कांग्रेसले अब देशमा समस्याका रुपमा देखिएका यी सबै परास्त गरेर सुशासन र समृद्धिको नेतृत्व गर्न चाहन्छ ।’ नेपाली कांग्रेस कमी कमजोरी स्वीकार गरेर अघि बढेको पार्टी भन्दै उनले नेतृत्व मात्र नयाँ नभै विषयगत रुपमा समेत प्रष्ट बनेर आएकाले यसलाई आम मतदाताले ख्याल गर्नुपर्ने बताए । ‘नेतृत्व मात्र नयाँ आएको विषय सामान्य होला,’ उनले भने,‘तर विचारगत पक्षबाट नयाँ भएको गम्भीर विषय हो । यसलाई मतदाताले ख्याल गर्नुपर्छ ।’
५- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । आइतबार बिहान आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईलाई जिल्ला प्रशासन कार्यलय भक्तपुरले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसका साथै अब चुनाव अघि प्रसाई नछुट्ने भएका छन् । आसन्न निर्वाचन विथोल्न प्रसाईले आजदेखि आमहड्तालको घोषणा पनि गरेका थिए । उनी यसअघि पटक पटक पक्राउ परेपनि सर्वोच्चको आदेशमा छुट्दै आएका छन् ।
६- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री तथा प्रतिनिधिसभाकी पूर्व सदस्य रन्जिता श्रेष्ठ संलग्न रहेको घुस प्रकरणको मुद्दामा विशेष अदालतको धरौटी आदेश बदर गर्न सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । आयोगका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पूर्व मन्त्रीसमेत रहेकी श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना तथा घुस रकम जफतको माग गर्दै २०८२ असोज २२ गते विशेष अदालतमा आरोपपत्र पेश गरिएको थियो । तर विशेष अदालत काठमाडौंले २०८२ फागुन १० गते प्रतिवादी श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्दै मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । अख्तियारले उक्त आदेश कानुनअनुसार नभएको ठहर गर्दै प्रतिवादीलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउन माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको जनाएको छ । अब सर्वोच्च अदालतको निर्णयपछि श्रेष्ठको मुद्दा थुनामा बसेर चल्ने वा धरौटीमै रहने भन्ने विषय टुंगो लाग्नेछ।

७- इजराइलको वायु सेनाले अमेरिकी सेनासँगको संयुक्त हमलामा गत २४ घण्टामा ईरानमा १२ सयभन्दा बढी बम प्रहार गरिएको जानकारी दिएको छ । यस क्रममा ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको मृत्यु भएको छ । खामेनीको कार्यालय कम्प्लेक्समा शनिबार ३० मिसाइलले हमला गरेको थियो । यस हमलामा उनका छोरी, ज्वाई, बुहारी र नातिनीसहित करिब ४० कमाण्डरहरू मारिएको बताइएको छ । हमला हुने बेलामा खामेनीले कमाण्डरहरूसँग बैठकमा रहेको बताइएको छ । इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार राती खामेनेईको मृत्युको जानकारी दिएका थिए । केही समयपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको मृत्यु भएको दावी गरेका थिए । आइतबार बिहान ईरानी सरकारी समाचार एजेन्सी ‘तसनीम’ र ‘फार्स’ ले यसलाई पुष्टि गरेका थिए । खामेनीको मृत्यु पछि ईरानमा ४० दिनको राजकीय शोक र सात दिनको विदा घोषणा गरिएको छ । ईरानी इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी) ले भनेको छ- ‘हामीले एक महान नेता गुमायौं, र सम्पूर्ण देश शोक मनाइरहेको छ ।’ ईरानी सेनाले चेतावनी दिँदै सबैभन्दा खतरनाक अभियान सुरु गर्ने तयारी गरिरहेको जनाएको छ । आगामी केही समयभित्र अमेरिकी ठेगानाहरूलाई निशाना बनाइने छ । यता, इजराइल-अमेरिकी हमलामा ईरानको राजधानी तेहरानसहित १० ठूलो शहरमा प्रहार भएको थियो । अहिलेसम्म आक्रमणमा करिब २०० जनाको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन् । एक विद्यालयमा मिसाइल प्रहार हुँदा १४८ छात्रा मारिएकी छन् र ४५ घाइते भएका छन् । ईरानले पनि आफ्नै पक्षबाट प्रतिकारात्मक हमलाहरू गरेको छ ।
८- नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा जारी सम्बोधनमा देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको बताएका छन् । आज एक भिडियो सन्देश जारी गर्दै उनले सडक र सदन दुवैबाट खबरदारी गर्दा पनि ओली सरकार नसुध्रिएका कारण कुशासनको फल स्वरुप देश अराजकताउन्मुख बनेको बताएका छन् । एकातर्फ जनताको आक्रोश र निराशालाई भड्काएर अराजकता र अनिश्चिय तर्फ धकेल्ने प्रवृत्ति र अर्कोतर्फ दलाल-विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा भएको उनको भनाइ छ। यी दुबै अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्रै भएको उल्लेख गर्दै उनले वाम जनमतलाई एकताबद्ध हुन आह्वान गरेका छन् । अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता रहेको बताए । संयोजक प्रचण्डले हाल नेपाली कम्युनिस्ट पार्टीका रूपमा पुनर्गठनको प्रक्रिया अघि बढाइएको र पच्चीसभन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरू मिलेर नयाँ र देशभक्त शक्ति निर्माण भएको बताए । नेकपा विभाजनबाट एकता, आरोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्किएको उनले बताए । उनले नेपाली कम्युनिष्ट पार्टी बाम आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) समेत अन्ततः वाम आन्दोलनको केन्द्र नेकपामै मिसिनुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको, संविधानको रक्षा तथा संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको उहाँले उल्लेख गरे । आफु र आफ्नो पार्टी लोकतन्त्र कमजोर पार्ने वा व्यवस्था उल्ट्याउने प्रयासविरुद्ध सधैं उभिएको उल्लेख गर्दै उनले समावेशिता, महिला नेतृत्व, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायलाई अधिकारको रक्षा र व्यवहारिक कार्यान्वयनका लागि मतदान गर्न अपील गरे । भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्ने आफ्नो एजेन्डा रहेको उनले बताए ।
९- इरानमा भएको इजरायल-अमेरिकी आक्रमणपछि मध्यपूर्वका देशहरूमा सिर्जित जटिल परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ । युद्धका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूमा पर्न सक्ने जोखिमप्रति आयोगले चिन्ता व्यक्त गरेको छ । आयोगले राज्यले आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यक परेमा उद्धार गर्नु अत्यावश्यक जिम्मेवारी भएको उल्लेख गर्दै युद्धग्रस्त र प्रभावित मुलुकमा रहेका नेपालीहरूको सुरक्षाको लागि सरकारले तथ्याङ्क सङ्कलन गरी जोखिम मूल्याङ्कन गर्न, आवश्यक जानकारी संकलन गर्न र संकटमा परेका नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन तुरुन्त कदम चाल्नुपर्ने आयोगको आग्रह छ । यस कार्यका लागि सरकारले आफ्ना कुटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्नुका साथै त्यहाँका गैरआवासीय नेपाली संघ/संगठनहरूसँग पनि समन्वय र सहकार्य गर्नुपर्ने आयोगले बताएको छ । आयोगले युद्धग्रस्त तथा जोखिमयुक्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारमा तत्काल ध्यान दिन नेपाल सरकार, विदेशस्थित कुटनीतिक नियोगहरू तथा त्यहाँका नेपाली समुदायलाई अनुरोध गरेको छ ।
१०- नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आइतबार नेप्से १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सालपा विकास बैंक र रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी हिमस्टार उर्जाको सेयर ४.१६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी राढ़ी जलविद्युतको ३६ करोड बराबरको कारोबार भएको छ भने अपि पावरको ३३ करोड २१ लाख बराबरको कारोबार भएको छ ।
११- नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ । निर्वाचन सुरक्षा व्यवस्थाका सबै कार्यहरू ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन-२०७४’ तथा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना-२०८२’ अनुसार सञ्चालन भइरहेको उल्लेख गर्दै विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि निर्वाचनको क्रममा मतदान समापन भए पश्चात् स्थापित प्रोटोकल अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरू एवं नेपाली सेना सहितको एकीकृत टोलीले मतगणना स्थलसम्म मतपेटिका ढुवानी गर्ने कार्य गर्ने नेपाली सेनाले जनाएको छ । विस २०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि सम्पन्न सबै निर्वाचनहरूमा नेपाली सेना परिचालन भई मतपत्र छपाई स्थलको सुरक्षा, काठमाडौँबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन समापन भए पश्चात् संयुक्त टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने जिम्मेवारी निर्वाह गर्दै आएको सेनाले स्पष्ट गरेको छ । केहि मिडिया र सामाजिक सञ्जालमा निर्वाचनमा सेनाले हस्तक्षेप लगायतका विषय उल्लेख भएपछि नेपाली सेनाले स्पष्ट गरेको बुझिएको छ ।

१२- इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएपछि पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर भएको प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आइतबार अमेरिकी तथा इजरायली आक्रमणको विरोधमा प्रदर्शन गर्न भेला भएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको जियो न्यूजले उल्लेख गरेको छ । रिपोर्टमा एमटी खान रोड क्षेत्रबाट छ जनाको शव र १० घाइतेलाई कराँचीको सिभिल अस्पताल लगिएको र पछि अस्पतालको ट्रमा केन्द्रले सात शव र १८ घाइते उपचारका लागि ल्याइएको पुष्टि गरेको उल्लेख छ । उपचारकै क्रममा थप एक घाइतेको मृत्यु भएपछि मृतक संख्या नौ पुगेको जनाइएको छ । प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासतर्फ अघि बढ्ने प्रयास गर्दै ढुंगामुढा गरेपछि भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहारसहित बल प्रयोग गरेको थियो । घटनापछि आसपासको क्षेत्रमा सवारी आवागमन समेत प्रभावित भएको थियो। सुल्तानाबाददेखि माई कोलाची जाने सडक बन्द गरिएपछि ठूलो ट्राफिक जाम भएको प्रहरीले जनाएको छ । सिन्ध प्रदेशका गृहमन्त्री जियाउल हसन लञ्जारले घटनाबारे विस्तृत विवरण माग गर्दै कानून हातमा लिन कसैलाई अनुमति नदिइने बताएका छन् । साथै संवेदनशील स्थानहरूको सुरक्षा थप कडा बनाउन निर्देशन दिइएको छ । यसैबीच लाहोरस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर पनि सयौं प्रदर्शनकारी भेला भएका थिए । त्यहाँ सुरक्षा गेटमा क्षति पुर्याउने प्रयास भए पनि प्रहरीले बल प्रयोग नगरी स्थिति नियन्त्रणमा लिएको जनाइएको छ । उता इरान समर्थक प्रदर्शनकारीहरू इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास रहेको ग्रीन जोन बाहिर समेत भेला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
१३- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी पूर्ण रूपमा जिम्मेवार र तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । आइतबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिँदै सम्भावित सुरक्षा चुनौती सामना गर्न प्रभावकारी सुरक्षा रणनीतिसहित परिचालन हुन आग्रह गरे । उनले निर्वाचन आचारसंहिता उल्लङ्घन, आपराधिक गतिविधि तथा सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचनामाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्। साथै मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी तथा अन्य सुरक्षा निकायसँग समन्वय गरेर शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न प्रहरी सक्रिय रहनुपर्ने बताए ।कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारीहरूले समेत जनशक्ति व्यवस्थापन, मतदानस्थल सुरक्षा र निर्वाचन अवधिमा अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे आवश्यक निर्देशन दिएका थिए।
१४- इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु पछि देशको सरकार संचालन गर्न तीन सदस्यीय समुह बनाइएको छ । इरानको सरकारी मिडियाका अनुसार इरानमा अब सर्वोच्च नेताको रूपमा अस्थायी रूपमा काम गर्ने तीन सदस्यीय समूह हुनेछ । यस समूहमा राष्ट्रपति मसूज पजाकियान, न्यायपालिका प्रमुख गोलामहोसेन मोहसेनी एजेई र अभिभावक परिषद्का एक कानुनी विज्ञ समावेश छन् । नयाँ सर्वोच्च नेता निर्वाचित नभएसम्म, यो तीन सदस्यीय टोलीले देशको सरकार र प्रणालीलाई सुचारु रूपमा सञ्चालन गर्न सुनिश्चित गर्न सबै प्रमुख निर्णयहरू गर्ने बताइएको छ ।
१५- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको पुर्व सन्ध्यामा मतदातालाई कित्ता स्पष्ट पार्ने बेला आएको बताएका छन् । आइतबार भिडियो सन्देश जारी गर्दै ओलीले अब राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा वा राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्ष उभिने हो कित्ताकाट गर्ने समय आएको बताएका हुन् । उनले भनेका छन्- ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।’ ओलीले आफु बारे थुप्रै भ्रम फैलाइएको बताउदै मतदाताका आफूप्रतिका गुनासा र प्रश्न भएको र आफ्ना केही कमजोरी पनि रहेको स्वीकारेका छन् । उनले भनेका छन्- मलाई थाहा छ थुप्रै भ्रम फैलाइएको छ । मप्रति तपाइँका गुनासा र प्रश्न छन् र मेरा केहि कमीकमजोरी पनि होलान, तर तपाईंलाई यो पनि थाहा छ, मैले यस देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि ।’ ओलीले एउटा निर्वाचित सरकारलाई अपदस्थ गराउन विध्वंस मच्चाएर प्रतिनिधिसभा विघटन गराइएको उल्लेख गर्दै ठण्डा दिमागले देश हामीले बचाउने कि नबचाउने ? भन्ने प्रश्न आफैलाई सोध्न आग्रह गरेका छन् । ओलीले सन्देशमा आफू बाँच्ने दिन बाँचिसकेका दिनभन्दा बढी भएकाहरूका लागि लडिरहेको बताउदै अब देश पहिला भन्ने समय आएको बताएका छन् । उनले भनेका छन्- ‘अब तपाईंले पनि देश पहिले भन्ने दिन आएको छ । देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । देश पहिले भनेको भूमि र जनता पहिले भनेको हो । र देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । देश पहिले भनेको सार्वजनिक सम्पत्ति पहिले भनेको हो । सिंहदरबार, अदालत, संसद्, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय, यी सबै तपाईंको कर र भरोसाले बनेका हुन् । यी जल्दा तपाईंको भरोसा मात्र होइन तपाईँको सपना पनि जल्छ, जलेको छ। आज हामीलाई अब यी कहिल्यै नजल्ने ग्यारेन्टी चाहिएको छ। त्यस ग्यारेन्टीको लागि आज देश पहिले भन्ने भावना चाहिएको छ ।’ ओलीले अब आफ्नो स्वाभिमान नझुक्ने ग्यारेन्टी र देश कहिल्लै नजल्ने ग्यारेन्टी चाहिएको बताएका छन् ।
१६- प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान हुने दिन फागुन २१ गते सवारीसाधन सञ्चालनलाई व्यवस्थित, प्रभावकारी तथा अत्यावश्यक सेवामैत्री बनाउन निर्वाचन आयोगले विशेष व्यवस्था लागू गरेको छ । आयोगले सवारीसाधन अनुमति सम्बन्धी कार्यविधि २०८२ अनुसार नेपाल सरकारलाई सिफारिस गर्दै केही अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएको छ । तर ती सवारीसाधनले सम्बन्धित सेवा बाहेक अन्य यात्रु बोक्न भने नपाउने स्पष्ट गरिएको छ । पास आवश्यक नपर्ने सवारीसाधनमा दमकल, एम्बुलेन्स र शववाहन समावेश छन् । त्यस्तै खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधन पनि यस व्यवस्थामा पर्नेछन् । दूरसञ्चार, खानेपानी, विद्युत तथा ढल मर्मत कार्यमा प्रयोग हुने सवारीसाधन, अस्पताल सेवा अन्तर्गत चिकित्सक तथा स्वास्थ्यकर्मीको आवतजावतका सवारीसाधनलाई पनि पास नचाहिने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधनले विमानस्थलदेखि घर वा होटलसम्म तथा घर वा होटलदेखि विमानस्थलसम्म आवतजावत गर्दा पनि पास लिनु नपर्ने जनाइएको छ । यसैगरी हिँडडुल गर्न नसक्ने गर्भवती तथा सुत्केरी महिला, शिशु बोकेकी आमा, किरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँड्न असमर्थ ज्येष्ठ नागरिक मतदाता तथा उनीहरूको एक जना सहयोगी बोकेको सवारीसाधनलाई पनि छुट दिइएको छ । नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, निर्वाचन पर्यवेक्षक, राष्ट्रिय मानव अधिकार आयोगका अनुगमन टोली तथा प्रेस पास प्राप्त सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन पनि पासबिनै सञ्चालन गर्न पाइनेछ । यसैबीच निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि सम्मिलित एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरिएको छ । उक्त डेस्कबाट काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका लागि आवश्यक सवारी पास जारी गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको ३ लाख २० हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १४ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४५ रुपैयाँले बढेर तोलाको ५९८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५७४० मा कारोबार भएको थियो ।

१८- अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा त्यसको जवाफमा इरानले गरेको प्रतिकारपछि विश्व तेल बजारमा अस्थिरता बढ्ने चिन्ता देखिएको छ । मध्यपूर्व क्षेत्रबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले यहाँको तनाव बढ्दा विश्वभर तेल अभाव र महँगी बढ्न सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार क्षेत्रीय तनाव चाँडै नियन्त्रणमा नआए बजार खुल्नेबित्तिकै तेलको मूल्य तीव्र रूपमा बढ्न सक्ने सम्भावना रहेको छ । हालै कच्चा तेलको मूल्य प्रतिव्यारेल करिब ७० अमेरिकी डलरसम्म पुगेको थियो, जुन पछिल्ला केही महिनाकै उच्च स्तर मानिएको छ । इरानको प्रमुख तेल निर्यात क्षेत्र खार्ग टापु आसपास पनि विस्फोट भएको खबर आएको छ । यही क्षेत्रबाट इरानको अधिकांश तेल विदेश निर्यात हुने गर्दछ । यद्यपि हालसम्म विश्वका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने तेल बोकेका जहाजहरूमा इरानले सो मार्ग बन्दको घोषणा गरेपनि ठूलो असर नपरेको जनाइएको छ । दैनिक रूपमा लाखौँ व्यारेल तेल यही समुद्री मार्गबाट विश्व बजारमा पुग्ने भएकाले यसको सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिएको छ ।
१९- इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएको छ । इरानका सरकारी मिडियाले अमेरिका र इजरायलको आक्रमणमा खामेनीको मृत्यु भएको जानकारी दिएका हुन् । यद्यपी इरान सरकारले औपचारिक रुपमा यसको जानकारी दिएको छैन । इरानको प्रेस टिभीले खामेनी अमेरिका र इजरायलको आक्रमणमा शहिद भएको उल्लेख गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको दाबी गरेका थिए । त्यस्तै इजरायली अधिकारीहरूले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै भग्नावशेषबाट खामेनीको शव फेला परेको दाबी गरेका थिए ।
२०- बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत भिल्ला रियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लामिन यमलले ह्याट्रिक गरेका थिए । यो यमलको पहिलो ह्याट्रिक हो । त्यस्तै एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए । यो जितपछि बार्सिलोनाको ला लिगामा २६ खेलमा ६४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ४ अंकले अगाडी भएको छ । रियल म्याड्रिडले बार्सिलोनाले भन्दा एक खेल कम खेलेको छ । त्यस्तै भिल्ला रियलको २६ खेलमा ५१ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।



