`


काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलका मुख्य नेता र विशिष्ट व्यक्तिहरुले कुन कुन स्थानबाट मतदान गर्दैछन भन्ने चासो रहेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने छिन् । त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका- १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् ।

पूर्वराष्ट्रपति रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित विपी कोइराला मावि मतदान केन्द्रमा मतदान गर्ने नाम रहेको छ भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-२ भङ्गाल मतदान केन्द्रमा मतदानको नाम रहेको छ ।
त्यस्तै सर्लाही-४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेस सभापति गगनकुमार थापाले भने काठमाडौँको मैतीदेवी मयुर कुण्ड मतदान केन्द्रमा नाम रहेको छ । त्यस्तै चितवन-२ बाट उम्मेदवार बनेका रास्वपाका सभापति रवि लामिछाने मतदान गर्ने नाम भने काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रमा रहेको छ । त्यस्तै झापा-५ बाट उम्मेदवार बनेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको मतदान गर्ने नाम काठमाडौँ महानगरपालिका- ९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रमा रहेको छ ।

त्यस्तै हाल सिंगापुरमा रहेको नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको मतदान केन्द्र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलामा रहेको छ । देउवा यस निर्वाचनमा उम्मेदवार बनेका छैनन् ।
त्यस्तै झापा- ५ बाट उम्मेदवार बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदान गर्ने नाम भने भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा रहेको छ । यस्तै रुकुम पुर्वबाट उम्मेदवार बनेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको मतदान गर्ने नाम भने चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा रहेको छ । त्यस्तै नेकपाका सहसंयोजक माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रमा नाम रहेको छ । नेपाल रौतहट-१ बाट उम्मेदवार पनि रहेका छन् । त्यस्तै नेकपा वरिष्ठ नेता झलनाथ खनालको इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रको मतदानस्थलमा नामावली रहेको छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा-२ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा नाम रहेको छ । डा. भट्टराईले यस क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराएपनि पछि फिर्ता लिएका थिए । त्यसैगरी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँको पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् ।
त्यस्तै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्रमा मतदान गर्ने भएका छन् भने निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि परेवाडाँडा र आयुक्त सगुन शम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुली धपासी निमावी मतदान केन्द्रबाट मतदान गर्ने भयेअका छन् । त्यस्तै मुख्यसचिव सुमनराज अर्यालले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ लर्डलाइट एकेडेमी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् ।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा मतदान गर्ने छन् । यादव सप्तरी-३ बाट उम्मेदवार रहेका छन् । त्यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गर्ने छन् । उनी झापा-३ बाट उम्मेदवार रहेका छन् ।

त्यस्तै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ महानगरपालिका–६ महाँकालस्थित जनकल्याण मावि मतदान केन्द्रबाट मतदान गर्ने छन् । उनी काठमाडौँ-३ बाट उम्मेदवार रहेका छन् । त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरीको धरान उपमहानगरपालिका–१८ कार्मेल विद्यालय बुद्धचोक मतदान केन्द्रबाट मतदान गर्ने छन् । उनी सुनसरी-१ बाट उम्मेदवार बनेका छन् ।
त्यस्तै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गर्ने छन् । शर्मा यस निर्वाचनमा उम्मेदवार बनेका छैनन् । त्यस्तै एमाले वरिष्ठ नेता ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्ने छन् । उनी काठमाडौँ-५ बाट उम्मेदवार बनेका छन् ।
#प्रधानमन्त्री #शिर्ष_नेता #मतदान_केन्द्र #निर्वाचन२०८२ #VoteUpdate #NepalElection #PoliticalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



