दुई तिहाइको ‘दम्भ’ भत्काउन दुई तिहाइ ! जनताको विश्वासमा दुई तिहाइको बाटोमा लम्कदै रास्पा

 

दुई तिहाइको ‘दम्भ’ भत्काउन दुई तिहाइ ! जनताको विश्वासमा दुई तिहाइको बाटोमा लम्कदै रास्पा

अघिल्लो संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि केपी ओली र शेरबहादुर देउवाले भनेका थिए– दुई तिहाईको सरकार बन्यो, कसैले यो सरकार भत्काउन सक्दैन। संसदको अंकगणितले भत्काउनै नसक्ने ओली नेतृत्वको सरकारलाई भदौ २३ र २४ को जेनजी आन्दोलनले अपदस्थ गरिदियो ।  अवस्था यस्तो रह्यो कि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा बुझाउन शीतलनिवास पुग्न पनि सकेनन् । सेनाले उद्दार गरेर सुपारीटार ब्यारेक पुर्याउनु पर्यो ।
संविधानको धारा–उपधारा देखाएर शक्तिशाली छौं भन्नेहरुको भागाभाग भयो। के त्यो अवस्था त्यसै आएको हो ? पक्कै होइन ।
२०८१ असार १७ गते मध्यराति ७ बुँदे सहमति गरेर सत्तारोहण गरेका ओली र देउवाले सत्तामा रहुन्जेल आफैंले गरेको सहमति कार्यान्वयन गरेनन् । संविधान नै संशोधन गर्नेदेखि सयौं कानुन संशोधन गर्ने उनीहरुको बाचा कागजमै सीमित भयो । देउवाको ‘दरिलो’ साथमा शक्तिशाली सरकारको नेतृत्व गरेका ओली जसरी बालुवाटारबाट लखेटिनु परेको थियो, अहिले उनै ओली त्यसैगरी ‘जनमतबाट लखेटिनुपर्ने’ अवस्था आउँदै छ । झापा ५ मा मतगणना भइरहँदा रास्वपा उम्मेदवार बालेन शाहले लिइरहेको अग्रताले पनि त्यसलाई दर्शाउँछ ।
पछिल्ला ३ चुनावदेखि निरन्तर संसदमा रहिरहेका ओली सम्भवतः आगामी संसदमा देखिनै छैनन् । उनीमात्रै होइन, अघिल्लो संसदमा संख्या र संविधानका धाराहरुको दम्भ गर्ने थुप्रै पार्टीका थुप्रै नेता संसदमा नहुने संकेत देखिएको छ । ओलीका सारथि शेरबहादुर देउवा चुनावी ‘सिन’मै छैनन् । देशमा चुनाव चलिरहँदा देउवा त सिंगापुर पुगे भोटै नहाली । देउवालाई पार्टीबाट अपदस्थ गरेका नयाँ कांग्रेसका सभापति गगनकुमार थापा समेत संसद्मा नहुने सम्भावना बढ्दै गएको छ । २०७९ को चुनावपछि बिरालोले मुसा खेलाए झैं कहिले एमाले त कहिले कांग्रेसलाई खेलाउँदै डेढ वर्ष सत्तामा हालीमुहाली गरेका साविकको माओवादी अध्यक्ष अर्थात हालको नेकपा संयोजक प्रचण्ड संसदमा आउन सक्छन्, तर, यसअघि जस्तो उनको ‘जादु’ चल्ने छैन ।
अघिल्लो संसदका तीन वटै ठूला दल कांग्रेस, एमाले र नेकपालाई यो चुनावबाट एकैसाथ रसातलमा पुर्याइदिएको छ– अघिल्लो चुनावको नयाँ दल रास्वपाले । चुनावको पाँच महिनाअघि वैकल्पिक राजनीतिक दलका रुपमा नयाँ पार्टी बनाएका रवि लामिछानेले यो चुनावमा आफ्नो पार्टीलाई झन् नयाँ बनाइदिए– काठमाडौं महानगरका मेयर बालेन शाह लगायतलाई जोडेर । रास्वपाको क्रेज बढिरहेकै थियो, त्यसैमा थपिए बालेन ।
कांग्रेस र एमाले मिलेर यसअघि दुई तिहाइको दम्भ देखाएका थिए । यो चुनावमा जनताले उनीहरुको त्यो दम्भ चकनाचुर पारिदिए । बदलामा दुई तिहाइको त्यो शक्ति रास्वपालाई दिँदैछन्, रवि र बालेनलाई दिँदैछन् । सरसर्ती हेर्दा लाग्छ– जनताले कांग्रेस र एमालेको दुई तिहाइको दम्भ तोड्न रास्वपालाई दुई तिहाइ दिएका हुन् ।
जनताले रास्वपालाई दिएको यो मत मात्रै होइन, विश्वास हो । रास्वपाले मात्रै आफू, आफ्ना सन्तती र देशको भविष्य सम्हाल्न सक्छ भन्ने जनताको विश्वास हो । यो चानचुने विश्वास होइन, चानचुने जिम्मेवारी होइन । यो विश्वास जोगाउन र जिम्मेवारी निर्वाह गर्न रास्वपालाई सजिलो छैन । संसदीय अंकगणितले त उसलाई ‘जे गर्न पनि’ दिन्छ । यसको अर्थ संविधान संशोधन गर्न, नयाँ कानुन बनाउन, सरकार सन्चालन गर्न कहीँ कतै उसलाई अवरोध हुने छैन । तर, जनताको अपेक्षाअनुसार काम संख्याले मात्रै सम्भव हुँदैन । विधिले हुन्छ, योजनाले हुन्छ । चुनावको अन्तिम नतिजा आउँदै गर्छ, त्यसअगावै विजय उन्माद नराखी आफ्नो योजना बनाउन रास्वपाले ढिला गर्नु हुँदैन ।
#RSP #TwoThirdsBroken #NepalElection #Matadan #NepalPolitics #ElectionUpdate #RastriyaSwatantraParty
#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages