

काठमाडौँ । पश्चिम एसियामा जारी युद्ध दिनप्रतिदिन थप भयावह बन्दै गएको छ । अमेरिका र इजरायलका तीव्र आक्रमणबीच इरानले पनि शक्तिशाली प्रत्याक्रमण गरिरहेको छ । क्षेप्यास्त्र र मानवविहीन विमानको गर्जनबीच यो युद्ध आठौँ दिनमा प्रवेश गर्दा सम्पूर्ण क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धारणा र खाडी क्षेत्रका देशहरूमा बढ्दो तनावका कारण विश्व राजनीति थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।
युद्धका क्रममा ईरानमा ठूलो मानवीय क्षति भएको जनाइएको छ । ईरानी रेड क्रिसेन्टका अनुसार अघिल्लो शनिबारदेखि हालसम्म अमेरिका र इस्राइलका आक्रमणमा कम्तीमा एक हजार ३३२ जनाको ज्यान गएको छ।
ईरानको इस्लामिक क्रान्तिकारी गार्डले आक्रमणको तेइसौँ चरण सुरु गरिएको घोषणा गरेको छ । यता इजरायली सेनाले आज मात्रै चार सयभन्दा बढी स्थानमा आक्रमण गरिएको जनाएको छ । ती आक्रमणमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र मानवविहीन विमान भण्डारण स्थलहरू पनि परेको बताइएको छ ।
इजरायलले आफ्नो प्रतिरक्षा प्रणालीले ईरानबाट प्रहार गरिएका धेरै क्षेप्यास्त्र रोक्न सफल भएको दाबी गरेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले ईरानसँग हुने कुनै पनि सम्झौतामा बिना सर्त आत्मसमर्पण हुनुपर्ने बताएका छन् । त्यस्तै अमेरिकी राष्ट्रपतिको कार्यालयकी प्रवक्ता क्यारोलिन लिभिटले अमेरिकाले केही साताभित्र ईरानी आकाशीय क्षेत्र नियन्त्रणमा लिन सक्ने योजना बनाएको जानकारी दिएकी छन् ।
ऊर्जा बजारमा पनि युद्धको असर देखिन थालेको छ। कतारका ऊर्जा मन्त्री साद अल काबीले यो युद्धले विश्व अर्थतन्त्रलाई ठूलो झट्का दिन सक्ने र खाडी क्षेत्रको ऊर्जा उत्पादनसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।
युद्धका कारण मानवीय संकट पनि गहिरिँदै गएको छ। नर्वे शरणार्थी परिषद्का अनुसार पछिल्लो एक सय घण्टामा करिब तीन लाख मानिस लेबनानमा विस्थापित भएका छन् ।
यसैबीच हिज्बुल्लाहले उत्तरी इजरायलका दुई स्थानमा रकेट प्रहार गरेको जनाएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारयता आक्रमणका कारण २१७ जनाको ज्यान गएको छ भने ७९८ जना घाइते भएका छन्।



