

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले इरानले होर्मुज जलडमरू हुँदै हुने तेल आपूर्ति रोक्ने प्रयास गरे अमेरिका २० गुणा बढी शक्तिका साथ आक्रमण गर्ने बताएका छन् । दुश्मन पूर्ण रूपमा कमजोर नहुन्जेल युद्ध जारी रहने उनको भनाइ छ ।
ट्रम्पका अनुसार युद्ध सुरु भए यता अमेरिका र इजरायलले मिलेर ईरानका पाँच हजारभन्दा बढी सैन्य ठेगानामा आक्रमण गरिसकेका छन् । केही अत्यन्त महत्वपूर्ण स्थानलाई भने आवश्यक परेपछि कारबाही गर्नका लागि अहिले जानाजानी निशाना नबनाइएको उनले बताएका छन् ।


उनले अमेरिका र इजरायलले युद्धमा ठूलो अग्रता हासिल गरिसकेको दाबी गर्दै लडाइँ चाँडै अन्त्य हुन सक्ने संकेत दिएका छन् । तर हालका लागि सैन्य कारबाही भने निरन्तर जारी रहने उनले बताएका छन् ।
ट्रम्पले विश्वमा तेल आपूर्ति रोक्ने प्रयास भए ईरानका ठूला विद्युत् उत्पादन केन्द्रहरूमा पनि आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । त्यस्ता केन्द्रहरूमा आक्रमण भए पुनः निर्माण गर्न ईरानलाई धेरै वर्ष लाग्ने उनले बताएका छन् । यसैबीच ट्रम्पले अली खामेनीको मृत्यु पछि उनका छोरा मुज्तबा खामेनेईलाई नयाँ सर्वोच्च नेता बनाउने निर्णयलाई ठूलो गल्ती भएको बताएका छन् । उनले यस्तो निर्णयले विश्वका लागि थप समस्या सिर्जना गर्न सक्ने टिप्पणी गरेका छन् ।
ट्रम्पले अमेरिकी सेनाले ईरानका करिब ८० प्रतिशत मिसाइल प्रक्षेपण स्थल नष्ट गरिसकेको दाबी पनि गरेका छन् । साथै ड्रोन बनाउने केन्द्रहरूमा गरिएको आक्रमणले ईरानको ड्रोन क्षमता कमजोर भएको उनको भनाइ छ । उनले आक्रमणका क्रममा ईरानको नौसेनालाई पनि ठूलो क्षति पुगेको दाबी गर्दै ४६ वटा जहाज डुबाइएको बताएका छन् ।
तर ईरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले ट्रम्पका दाबी अस्वीकार गरेको छ । सो संगठनका प्रवक्ता अली मोहम्मद नाएनीले युद्ध कहिले अन्त्य हुने भन्ने निर्णय अमेरिका होइन, ईरानले गर्ने बताएका छन् । नाएनीले अमेरिका आफ्नो हार लुकाउन झुटा सैन्य सफलता देखाउने प्रयास गरिरहेको आरोप लगाए । उनका अनुसार अमेरिकाको गोला-बारुद सकिन लागेको छ र त्यसैले युद्धबाट बाहिरिने बाटो खोजिरहेको छ ।
उनले फारसको खाडी क्षेत्रमा अमेरिकाका केही सैन्य आधार नष्ट भएको दाबी गर्दै ईरानको मिसाइल शक्ति अझ बलियो बनेको बताएका छन्। साथै उनले अहिलेको अवस्थामा आक्रमणकारी देश र उनका सहयोगीलाई यस क्षेत्रबाट एक थोपा तेल पनि बाहिर जान नदिने चेतावनी दिएका छन् ।
#Iran #DonaldTrump #OilSupply #MiddleEastCrisis #GlobalPolitics #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



