आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । 

१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपाल-भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन र रास्वपाका सभापति रवि लामिछानेसँग टेलिफोन संवाद गरी बधाई ज्ञापन गरेको फेसबुकमार्फत गराएको जानकारीमा बालेनले मंगलबार कमेन्ट गर्दै प्रतिक्रिया दिएका हुन् । साथै बालेनले भारतले लगातार दुई पटक टी-२० विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई बधाई ज्ञापन समेत गरेका छन् । बालेनले भनेका छन्- ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री नरेन्द्र मोदीज्यु । नेपाल-भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु । साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’ यस अघि सोमबार मोदीले फेसबुकमा बालेन शाह र रवि लामिछानेसँग टेलिफोन संवाद भएको जानकारी निर्वाचनमा पाएको सफलताका लागि बधाई दिएको उल्लेख गरेका थिए । साथै उनले नयाँ बन्ने सरकारका लागि शुभकामना दिँदै भारतीय सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि प्रतिबद्धता पनि जनाएका थिए ।

Nepal life insurance

२- कोरियन भाषा परीक्षाको उत्पादनमुलक तर्फको परीक्षाको नतिजा प्रकाशित भएको छ । यस परिक्षामा १०.८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत मंसिर १ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी भएका ५६ हजार २८३ परीक्षार्थीमध्ये नेपालस्थित ईपिएस कोरिया शाखाले मंगलबार प्रकाशित गरेको नतिजा अनुसार ६ हजार ७१ जना उत्तीर्ण भएका हुन् ।  परीक्षामा आवेदन दिएका ६७ हजार २९७ जनामध्ये ८३.६ प्रतिशत सहभागी भएका थिए । यसपटक ९७.५ प्रतिशत अंक ल्याउने मात्र उत्तीर्ण भएका छन् । इपिएस कोरीय शाखाका अनुसार यसपटक उत्तीर्ण हुनका लागि ४० वटा प्रश्नमध्ये ३९ वटाभन्दा बढी उत्तर मिलाउने उत्तीर्ण भएका छन्  । पहिलो चरणमा उत्तीर्ण भएका परीक्षार्थीहरू दोस्रो चरणमा सञ्चालन हुने स्किल टेस्टमा सहभागी हुने र स्किल टेस्टमा सफल भएमा मात्र बाँकी प्रक्रिया अघि बढ्ने व्यवस्था रहेको छ ।

३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रोतका अनुसार, मुक्त नारायण श्रेष्ठले आफ्नो पदोन्नतिका लागि पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको उजुरी आएको थियो। आयोगको अनुसन्धानले देखाएको छ कि उनले नेपाल प्रहरी सेवामा प्रहरी सहायक निरीक्षकको पदमा बढुवा पाउन दिल्ली, भारतस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी प्रमाणपत्रहरू झूट्टा र नक्कली पेश गरेका थिए । यसरी पद प्राप्त गरी नेपाल सरकारबाट निवृत्त भरणसहितको हैसियत, लाभ र सुविधा लिइसकेको हुनाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

४- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको बताएका छन् । उनले स्वास्थ्य मन्त्री हैम क्याट्जसँगै नेशनल हेल्थ कमाण्ड सेन्टरको भ्रमण गर्दै सेन्टरको कार्यप्रणाली अवलोकन गरेका थिए । नेतन्याहूले भने- ‘हामीले उठाएका कदमहरूले ईरानी शासनको रीढ तोड्ने काम गरेका छन् । यो अन्ततः ईरानी जनता माथि निर्भर हुन्छ, तर हामी अझै सक्रिय छौं । यदि हामी ईरानी जनता सँग मिलेर सफल भयौं भने स्थायी परिवर्तन ल्याउन सकिन्छ । यो संघर्षको ठूलो हिस्सा आक्रामक पक्षमा भए पनि महत्वपूर्ण हिस्सा रक्षात्मक पक्षमा पनि छ, जसको केन्द्रमा जनता र नागरिकको शक्ति हुन्छ। ‘ यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमा भइरहेको युद्ध ‘छिट्टै समाप्त’ हुने सम्भावना रहेको बताएका थिए । तर ईरानी इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले युद्धको अन्त्य ईरानले निर्धारण गर्ने बताएको छ । यसैवीच इरानका विदेश मन्त्री अब्बास अराग्चीले अमेरिकासँग सम्झौताको सम्भावना बारे प्रतिक्रिया दिँदै तत्काल बार्ताको सम्भावना नरहेको बताएका छन् । अराग्चीले मोजतबा खामेनीको नियुक्ति र स्थिरताबारे पनि प्रतिक्रिया दिँदै भने- ‘आयतुल्लाह अली खामेनीका छोराको नियुक्ति भनेको पिता शासनको निरन्तरता हो, जसले केही स्थिरता पनि ल्याउछ ।’ तेलको मूल्य वृद्धिबारे प्रश्नमा अराग्चीले तेलको मूल्य वृद्धिको जिम्मेवारी आफुहरुको नभएको बताउदै यसका लागि इजरायल र अमेरिकी आक्रमण जिम्मेवार राजेको बताए । साथै उनले स्ट्रेट अफ होर्मुज बन्द नगरेका र आवागमनमा रोक नलगाएका दाबि गरेका छन् ।

५- गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री अर्यालले राजदूत माओमिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटका क्रममा राजदूत माओमिङले आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने र नेपाल-चीनबीचको मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । गृहमन्त्री अर्यालले चीनले नेपाललाई आर्थिक तथा सामाजिक क्षेत्रमा प्रदान गर्दै आएको सहयोगको निरन्तरता रहने र आगामी दिनमा सहयोग अझ विस्तार हुने विश्वास व्यक्त गरे । साथै उनले दूरसञ्चार क्षेत्र र साइबर अपराध नियन्त्रणका विषयमा दुई देशबीच बहुपक्षीय सहकार्य र समन्वय बढाउन प्रस्ताव पनि राखेका थिए । सो अवसरमा चिनियाँ राजदूत माओमिङले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएकोमा नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद दिएका थिए । उनले निर्वाचन सुरक्षा तथा सीमा सुरक्षा व्यवस्थापनमा मन्त्रालयले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । राजदूत माओमिङले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वतन्त्रताप्रति चीन सधैँ प्रतिबद्ध रहेको दोहोर्‍याउँदै देशमा शान्ति, सुरक्षा र कानुनको शासन कायम राखेर निर्वाचन सम्पन्न गराएकोमा गृहमन्त्री अर्याललाई बधाई पनि दिएको गृहमन्त्री अर्यालको सचिवालयले जानकारी दिएको छ ।

६- श्रीलंका क्रिकेट बोर्डले दक्षिण अफ्रिकाका पूर्व ओपनर ग्यारी कर्स्टनलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको छ । बोर्डको निर्णयअनुसार कर्स्टनले सन् २०२६ अप्रिल १५ देखि टोलीको जिम्मेवारी सम्हाल्नेछन् । उनी दुई वर्षको सम्झौतामा नियुक्त भएका हुन् । हालै सम्पन्न टी-२० विश्वकप २०२६ मा श्रीलंका सुपर- ८ चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक सनथ जयसूर्याले पदबाट राजीनामा दिएका थिए। अब कर्स्टनले उनको स्थान लिनेछन् । कर्स्टनको कार्यकालमा श्रीलंकाका लागि सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२७ को एकदिवसीय विश्वकप हुनेछ, जुन दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुँदैछ। श्रीलंका त्यस प्रतियोगितामा सिधै छनोट हुने लक्ष्यका साथ तयारी गर्ने बताइएको छ । यसअघि टी-२० विश्वकपका क्रममा कर्स्टन नामिबिया टोलीका परामर्श प्रशिक्षकका रूपमा पनि आबद्ध थिए । खेलाडीका रूपमा उनले दक्षिण अफ्रिकाका लागि १०१ टेस्ट र १८५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। प्रशिक्षकका रूपमा पनि उनको उपलब्धि उल्लेखनीय छ । उनको प्रशिक्षणमा भारतले सन् २०११ को एकदिवसीय विश्वकप जितेको थियो । त्यसपछि भारतीय टोली टेस्ट क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरीयतामा नम्बर एक स्थानमा पुगेको थियो । त्यसपछि उनले केही समय दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण दिएका थिए । कर्स्टन सन् २०२४ अप्रिलमा पाकिस्तान टोलीका सीमित ओभरका प्रशिक्षक पनि बनेका थिए । तर बोर्ड र खेलाडीहरूसँग मतभेद भएपछि उनले बीचमै पद छाडेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट बाहेक उनको अनुभव भारतीय प्रिमियर लिगमा पनि रहेको छ । उनले रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्ससँग काम गरेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले पहिलो सिजनमै उपाधि जित्दा कर्स्टन टोलीका ब्याटिङ प्रशिक्षक थिए ।

७- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले निर्वाचनमा २८ लाख ७ हजार १०० रुपैयाँ खर्च भएको विवरण आयोगलाई बुझाएका हुन् । उनको विवरण अनुसार निर्वाचनमा सबैभन्दा धेरै इन्धनमा ८ लाख ९७ हजार २७५ खर्च भएको उल्लेख छ भने छापा एवम विद्युतीय माध्याम प्रचारमा ८ लाख ३४ हजार, कार्यालय संचालनमा २ लाख ६४ हजार, विविधमा २ लाख २२ ह्जर्र ३२५ छपाइमा एक लाख ९० हजार खर्च भएको विवरणमा उल्लेख छ । पौडेल रुपन्देही- २ मा रास्वपाका सुलभ खरेलसँग लज्जास्पद हार बेहोरेका थिए । सुलभ ५६ हजार ५५० मत प्राप्त गरेर विजयी हुदा पौडेलले केवल १२ हजार ८६१ मत प्राप्त गरेका थिए ।

८- बजारमा खाना पकाउने ग्यासको अभाव भएको तथा केही स्थानमा विक्रेताले तोकिएको भन्दा बढी मूल्य लिएर ग्यास बिक्री गरेको भन्ने समाचार सार्वजनिक भएपछि ग्यास विक्रेता महासंघ नेपालले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मध्यपूर्व क्षेत्रमा बढेको अस्थिरताका कारण उपभोक्तामा ग्यास नपाइने हो कि भन्ने चिन्ता देखिनु स्वाभाविक भए पनि सरकारले तोकेको मूल्यभन्दा बढी लिएर ग्यास बिक्री गर्नु गम्भीर अपराध हुने स्पष्ट पारेको छ । महासंघले यदि कतै त्यस्तो काम भइरहेको भए तत्काल बन्द गर्न सम्पूर्ण ग्यास विक्रेतालाई अपिल गरेको छ । साथै यस्तो विषम परिस्थितिमा तोकिएको मूल्यभन्दा बढी रकम असुल गर्ने विक्रेता वा उद्योगमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले सबै जिल्ला संघमार्फत देशभरका विक्रेतालाई पनि यस विषयमा जानकारी गराई गैरकानुनी काम नगर्न सचेत गराउन आग्रह गरेको जनाएको छ।

९- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । मंग्लाब्र एन्फा र खेलाडीबीच सहमति भएपछि एन्फा कार्यालयको तालाबन्दी खोलिएको हो । नेपाल फुटबल खेलाडी संघले एन्फाले समयमा लिग नगरेको खेलाडीको बेवास्ता गरेको भन्दै एन्फा कार्यलयमा तालाबन्दी गरेका थिए । खेलाडी संघले ए डिभिजन लिग सञ्चालनको सुनिश्चितता, खेलाडी अक्षय कोषको विस्तृत विवरण र खेलाडीहरूको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नुपर्ने जस्ता मागप्रति एन्फा सकारात्मक भएपछि सहमति भएको जानकारी दिइएको छ ।

images

१०- अमेरिका-इजरायल र इरानबीचको युद्ध कारण विश्वभर इन्धन अभाव हुने संकेत देखिएपछि अब देशहरुले इन्धनको बचतका उपाय शुरु गरेका छन् । युद्धका कारण इन्धनको मूल्य बढिरहेका बेला थाइल्यान्डले इन्धन बचत गर्न सरकारी कर्मचारीलाई घरबाटै काम गर्न आदेश दिएको छ । थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले मंगलबार यस्तो घोषणा गरेका हुन् । सरकारले सरकारी कर्मचारीलाई विदेश भ्रमणमा जान पनि रोक लगाएको छ । साथै सरकारी कार्यालयहरूमा एस्केलेटरको सट्टा सिँढी प्रयोग गर्नेजस्ता उपायसमेत लागू गरिएको छ । युद्धका कारण बढ्दो तेल मूल्यको असर एशियाका अन्य देशहरूमा पनि देखिएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि सोमबार खर्च कटौती गर्ने योजना सार्वजनिक गरेका छन् । त्यसअनुसार सरकारी कार्यालय हप्तामा चार दिन मात्र खुल्ने र आधा कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था गरिने बताइएको छ । त्यसैगरी विद्यालयहरू यसै हप्ताको अन्त्यदेखि दुई सातासम्म बन्द गर्ने निर्णय पनि गरिएको छ । उता भियतनामले नागरिकलाई इन्धन बचत गर्न घरबाटै काम गर्न र सवारीसाधन कम प्रयोग गर्न आग्रह गरेको छ । बंगलादेशले भने विद्युत् र इन्धन बचत गर्न विश्वविद्यालयहरू बन्द गर्नुका साथै इद-उल-फित्रको बिदा पनि अगाडि सारेको जनाएको छ ।

११- नेप्सेमा आज गिरावट आएको छ । मंगलबार नेप्से ३२.०८ अंकले घटेर २८४३. ३५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० मा कारोबार भएको थियो । आज जीवन बीमा, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज रिलायन्स स्पिनिंग मिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै  सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रो शेयर ९. ०८ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी हिमस्टारको शेयर ६.३६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको एक अर्ब ९ करोड ७३ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ६९ करोड ६४ लाख बराबरको कारोबार भएको छ भने रिडी अपि पावरको ६१ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।

१२- नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद सोमबारदेखि रिक्त भएका छन् । डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद खाली भएको हो । उनीहरू २०७७ फागुन २७ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए । पद रिक्त भएपछि नयाँ डेपुटी गभर्नर को बन्ने भन्ने विषयमा चर्चा सुरु भएको छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । गभर्नरले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूमध्ये चार जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गर्ने प्रावधान रहेको छ । हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक रहेकाले उनीहरू सबै डेपुटी गभर्नर पदका सम्भावित प्रतिस्पर्धी मानिएका छन् । यसैबीच गभर्नर विश्वनाथ पौडेलले सिफारिसको तयारी गरेको बताइएको छ । नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको अवस्थामा अहिलेको सरकारले नियुक्ति गर्ने वा नयाँ सरकारलाई छोड्ने भन्ने विषयमा चासो बढेको छ ।

१३- अमेरिका-इजरायल र इरानबीच जारी युद्ध आज ११औँ दिनमा प्रवेश गरेको छ । यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति व्लादिमिर पुटिनसँग करिब एक घण्टा टेलिफोन वार्ता गरेका छन् । ट्रम्पका अनुसार उक्त वार्तामा इरानसँगको युद्ध र युक्रेनको अवस्थाबारे छलफल भएको थियो । पुटिनले रूस इरान युद्ध अन्त्य गराउन सहयोग गर्न इच्छुक रहेको बताएका थिए । तर ट्रम्पले पहिले रूस-युक्रेन युद्ध अन्त्य गराउन पहल गर्नु अझ राम्रो हुने बताएका छन् । फ्लोरिडामा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले ईरानसँग युद्ध सुरु भएपछि आफू र पुटिनबीच भएको यो पहिलो वार्ता भएको जानकारी दिएका छन् । मध्यपूर्व क्षेत्रमा तनाव बढिरहेका बेला यो वार्ता भएको बताइएको छ । ट्रम्पले पछिल्ला १० दिनमा अमेरिकाले ईरानका ५१ वटा जहाज डुबाएको र हजारौँ सैन्य ठेगानालाई निशाना बनाइएको दाबी पनि गरेका छन् ।

१४- टी- २० विश्वकप २०२६ को उपाधि जितेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डले भारतीय टोलीका लागि १३१ करोड भारु अर्थात् २०९.६ करोड नेपाली रुपैयाँ बराबर पुरस्कार दिने घोषणा गरेको छ । भारतले आइतबार भएको फाइनल खेलमा न्यूजील्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो । बोर्डका अनुसार घोषणा गरिएको पुरस्कार रकम खेलाडीहरूका साथै प्रशिक्षक समूह र टोलीसँग सम्बन्धित सहयोगी कर्मचारीलाई पनि प्रदान गरिनेछ । यस पुरस्कार रकममा १५ जना खेलाडी, प्रशिक्षक समूह र अन्य सहयोगी कर्मचारी समावेश छन् । सबैभन्दा ठूलो हिस्सा खेलाडीहरूले पाउने बताइएको छ भने सहयोगी कर्मचारीलाई दिइने रकम उनीहरूको जिम्मेवारी र पदअनुसार निर्धारण गरिने जनाइएको छ । यस पटक घोषणा गरिएको १३१ करोड भारु पुरस्कार रकम सन् २०२४ को टी-२० विश्वकपपछि दिइएको १२५ करोड भारुभन्दा बढी हो । यसअर्थमा यस पटक बोर्डले अघिल्लो पुरस्कारभन्दा ६ करोड बढी दिने निर्णय गरेको हो । भारतले आफ्नो उपाधि जोगाउँदै टी- २० विश्वकप इतिहासमा लगातार दुई पटक ट्रफी जित्ने पहिलो टोली बनेको छ । भारत यसअघि २००७, २०२४ र २०२६ मा टी- २० विश्वकप जित्दै तीन पटक उपाधि जित्ने विश्वकै पहिलो टोली बनेको छ । साथै अहमदाबादमा भएको फाइनल जितसँगै भारतले पहिलो पटक आफ्नै घरेलु मैदानमा पनि टी- २० विश्वकप ट्रफी उचालेको हो । यसअघि भारतले २००७ मा दक्षिण अफ्रिका र २०२४ मा वेस्ट इन्डिजमा उपाधि जितेको थियो । अहिले भारतसँग तीन वटा टी -२० विश्वकप ट्रफी छन् भने वेस्ट इन्डिज र इंग्ल्यान्डले दुई-दुई पटक मात्र यो उपाधि जितेका छन् ।

१५- सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा केहि चर्चित उम्मदवारको जमानत जफत भएको छ ।  निर्वाचन आयोगको प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ । रास्वपाले देशभरमा सुनामी ल्याए पनि उसकै उम्मेदवारको जुम्लामा जमानत जफत भएको छ  । जुम्लामा उम्मेदवार बनेकी पुर्व सांसद विनिता कठायतले केवल ४२१ मत प्राप्त गरेकी छन् । उनी यसअघि रास्वपाबाट समानुपातिक सांसद रहेकी थिइन् । त्यस्तै हुम्लाबाट रास्वपा उम्मेदवार बनेकी टासी ल्हान्जोमको पनि जमानत जफत भएको छ  । २१ हजार ९३५ मत सदर भएको हुम्लामा जमानत जोगाउन २ हजार १९४ मत आवश्यक पर्नेमा ल्हान्जोमको १ हजार ६४ मत मात्रै आएको छ ।  त्यस्तै जमानत जफत हुने उमेदवारमध्ये २०७९ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित निवर्तमान सांसद तथा राप्रपाका उमेदवार दीपकबहादुर सिंह पनि परेका छन् । यसपटकको निर्वाचनमा मकवानपुर-१ बाट उनले जम्मा चार हजार ५७४ मत प्राप्त गरेका छन् । २०७९ मा सत्ता गठबन्धनलाई हराउँदै मकवानपुर- १ बाट निर्वाचित भएका सांसद सिंहले यसपटक भने पाँच हजार मत समेत कटाउन सकेनन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने सिंहले २७ हजार ८१६ मत प्राप्त गर्दै विजय हाँसिल गरेका थिए । त्यस्तै रुपन्देही- ३ बाट उमेदवार बनेका एमालेका चर्चित नेता बासुदेव घिमिरेको जमानत जफत भएको छ । उनले ८ हजार २७५ मत मात्र पाएका थिए ।   उनले मुलुक संघीयतामा गएपछि तिलोत्तमा नगरपालिकाको नगर प्रमुख भएर देशकै नमुना पालिका बनाएका थिए । यसअघि उनी रुपन्देही- ४ बाट सांसद थिए । रुपन्देही- ३ मा रोचक के छ भने विजयी रास्वपाका डा. लेखजंग थापा बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । त्यसैगरी नेकपा एमालेबाट तनहुँ – १ मा उम्मेदवार बनेकी पूर्वमन्त्री भगवती न्यौपानेको जमानत जफत भएको छ । तनहुँ- १ मा ६५ हजार ४१९ मत सदर भएकोमा न्यौपानेले ५ हजार ८३० मत प्राप्त गरेपछि उनको जमानत जफत भएको हो । त्यस्तै सप्तरी- २ बाट उम्मेदवार बनेका मधेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहको पनि जमानत जफत भएको छ । उनले केवल ३ हजार ५५७ मत प्राप्त गरेका थिए ।  त्यसैगरी सर्लाही-२ बाट उम्मेदवार बनेका पूर्व मन्त्री राजेन्द्र महतोले पनि ५ हजार ९९२ मत मात्र ल्याए पछि जमानत जोगाउन सकेनन् ।  त्यस्तै बारा-३ बाट उम्मेवार बनेकी एमाले नेतृ ज्वालाकुमारी साहको पनि जमानत जफत भएको छ । पूर्व मन्त्रीसमेत रहेकी शाहले ५ हजार २७१ मत प्राप्त गरेकी छन् । त्यसैगरी काठमाडौं- ५ बाट उम्मेदवार बनेका राप्रपा नेता कमल थापाको पनि जमानत जफत भएको छ । उनले केवल एक हजार ९२२ मत प्राप्त गरेका छन् । त्यसैगरी दाङ- १ मा लुम्बिनीका पूर्व मुख्यमन्त्री कुलबहादुर केसी र पूर्व मन्त्री मेटमणि चौधरीको पनि जमानत जफत भएको छ । चौधरी नेकपाबाट उम्मेदवार रहेर ४ हजार ९६५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार बनेका केसीले केवल एक हजार ३८४ मत मात्र प्राप्त गरेका छन् ।

१६- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हालै सम्पन्न चुनावको परिणामप्रति आफ्नो प्रतिक्रिया व्यक्त गर्दै मतदाता, समर्थक र शुभेच्छुकप्रति हार्दिक धन्यवाद दिएका छन् । उनले भ्रष्टाचार र अनियमितताविरुद्ध उठेको जनआवाजपछि नयाँ शक्तिको रूपमा उदाएको पार्टीप्रति देशभरि माया, विश्वास र आशा देखाउने सबैले मतदान गर्नु भएकोमा विशेष कृतज्ञता व्यक्त गरेका छन् । अध्यक्ष घिसिङले चुनाव अभियानमा अहोरात्र खटिएका पार्टीका नेता, कार्यकर्ता र सहयोगीप्रति आभार व्यक्त गर्दै विषम परिस्थितिमा चुनाव सफलतापूर्वक सम्पन्न गराउन योगदान दिएका प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति पनि धन्यवाद व्यक्त गर्दै यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र थिएन, यो भ्रष्टाचार, अनियमितता र अकर्मण्यताको विरुद्ध उठेको जनआवाजको परिणाम भएको उल्लेख गरेका छन् । घिसिङले देशलाई नाराले होइन, दृष्टिकोण, योजना र कार्यसम्पादन गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताउदै विकासको गतिविहीनता र निर्णय क्षमता कमजोर भएको कारण देशका धेरै योजना अलपत्र परेको, पुल निर्माणमा १५ वर्ष लाग्ने र ठेक्का लिएर पनि काम नगर्ने अवस्था रहेको उल्लेख गरेका छन् । घिसिङले आफुले करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत् हाल ९९ प्रतिशत घरधुरीमा पुर्‍याइएको र नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बन्न सक्ने आत्मविश्वास दिलाइएको बताए । उनले पार्टी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएपनि लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जिते पनि मतमा जीत हासिल गर्न नसकेको बताएका छन् । उनले चुनावमा हारलाई प्राविधिक विषय मात्र भएको बताउदै छोटो समयमै जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव पार्टीका लागि ऊर्जा र मार्गदर्शन बनेको उल्लेख गरेका छन् । घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिइएकोमा शुभकामना व्यक्त गर्दै जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्न सफल बन्न कामना गरेका छन् । साथै सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने र गलत काम भए सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने प्रतिबद्धता पार्टीले राख्ने बताए । चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने उनको प्रतिबद्धता रहेको छ । हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उज्यालो नेपाल पार्टीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन भने समानुपातिकतर्फ पनि निराशाजनक मत पाएको छ ।

१७- विश्व बजारमा कच्चा तेलको मूल्य ठूलो मात्रामा घटेको छ । एशियामा प्रारम्भिक कारोबारका क्रममा ब्रेन्ट क्रूडको मूल्य करिब ८.५ प्रतिशतले घटेर ९२.५० डलर प्रति बैरल पुगेको छ । यसअघि सोमबार यो मूल्य ११५ डलर नजिक पुगेको थियो । अमेरिकी तेल (डब्लुटीआई) पनि करिब ९ प्रतिशतले घटेर ८८.६० डलर प्रति बैरलमा कारोबार भइरहेको छ । तेलको मूल्य घट्ने मुख्य कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको बयान हो, जसमा उनले युद्ध चाँडै समाप्त हुने बताएका थिए । एशियाली बजारमा वृद्धि देखिएको छ । दक्षिण कोरियाको कोस्पी इन्डेक्स ५.१० प्रतिशत बढेर ५,५१८ मा पुगेको छ भने जापानको निक्केई १,६७० अंक या ३.२० प्रतिशतले बढेर ५४,३९९ मा कारोबार भइरहेको छ। हङकङको हैंगसेंग इन्डेक्स ३२५ अंक या १.२८ प्रतिशतले बढेर २५,७३१ मा कारोबार भइरहेको छ। चीनको शाङ्घाई कम्पोजिट इन्डेक्स भने १३.०१ अंक या ०.३२ प्रतिशतले घटेर ४,१०९ मा पुगेको छ । अमेरिकी बजारमा भने गिरावट देखिएको छ। डाउ जोन्स २३९ अंक (०.५० प्रतिशत) घटेर ४७,७४० मा बन्द भएको छ । टेक आधारित इन्डेक्स नास्ड्याक कम्पोजिट १.३८ प्रतिशत घटेर २२,६९५ मा बन्द भएको छ भने एस एण्ड पी ५०० इन्डेक्स ५५ अंक (०.८३ प्रतिशत) घटेर ६,७९५ मा बन्द भएको छ । विश्लेषकहरूका अनुसार ट्रम्पको युद्ध चाँडै समाप्त हुनेछ भन्ने बयानपछि तेलको मूल्य घटेको र बजारमा उत्साह बढेको हो । यसले विश्व आपूर्ति श्रृंखलामा रहेको अनिश्चिततालाई कम गरेको र लगानीकर्ताको विश्वास बढाएको छ । यद्यपि अहिलेको मूल्य युद्ध सुरु हुनु अघि भन्दा अझै करिब ३० प्रतिशत उच्च स्तरमै छ ।

images

१८- नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र देखिएको वर्तमान परिस्थितिमा नेतृत्वले राजीनामा दिन नहुने टिप्पणी गरेका छन् । सभापति थापाले चुनावमा भएको पराजयको नैतिक जिम्मेवारी लिदै राजीनामा दिन लागेको विषय बाहिर आएपछि नेता भण्डारीले अहिले नैतिकताको नाममा राजीनामा दिन नहुने भन्दै अहिले जिम्मेवारी पुरा गर्ने समय भएको बताएका छन् । भण्डारीले अहिलेको अवस्थामा नेपाली काँग्रेसलाई जोगाउनु नै ठूलो नैतिक दायित्व बनेको उल्लेख गर्दै पछिल्लो समय युवाहरू पार्टीबाट टाढिँदै गएको यथार्थलाई स्वीकार गर्दै उनले यस्तो अवस्थामा पार्टी छोडेर हिँड्ने होइन, समस्याको उपचार गरेर संगठन बलियो बनाउने काम गर्नुपर्ने बताएका छन् । उनले नेपाली राजनीतिमा नैतिकता कमजोर हुँदै गएको उल्लेख गर्दै अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ पुस्तालाई अघि ल्याउनुपर्ने आवश्यकता रहेको र समस्या देखेर भाग्नु नेतृत्वको काम नभई समाधान खोज्दै संगठन जोगाउनु नै साँचो नेतृत्वको जिम्मेवारी हुने उनको टिप्पणी रहेको छ । साथै उनले इच्छाशक्ति र साहस भए नेपाली काँग्रेसलाई बचाउने लडाइँ अझै सम्भव रहेको पनि बताएका छन् ।

१९- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३८ सयले बढेर तोलाको ३ लाख १७ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख १३ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३१० रुपैयाँले बढेर तोलाको ५७२० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५४१० मा कारोबार भएको थियो ।

२०- एशियन कपबाट बाहिरिएको इरानकी महिला फुटबल टोलीकी पाँच खेलाडीलाई अष्ट्रेलियाले मानवीय भिसा दिएर आफ्नो देशमा बस्ने अनुमति दिएको छ । अष्ट्रेलियाका आप्रवासन मन्त्री टोनी बर्कका अनुसार यी खेलाडीहरूलाई प्रहरीले सुरक्षित स्थानमा पुर्‍याइसकेको छ । मानवीय भिसा पाउने खेलाडीहरू फतेमेह पसंदिदेह, जहरा घनबारी, जहरा सरबली, अतेफे रमजानजादेह र मोना हमौदी रहेका छन् । अस्ट्रेलिया सरकारले बाँकी खेलाडीहरूले चाहेमा उनीहरूलाई पनि अष्ट्रेलियामा बस्न अनुमति दिने बताएको छ । गत हप्ता दक्षिण कोरियासँगको खेल अघि ईरानकी टोलीले राष्ट्रिय गान गाएनन् । यसपछि ईरानमा केही व्यक्तिहरूले टोलीको आलोचना गरे र उनीहरूलाई कडा सजाय दिनुपर्ने माग राखेका थिए । यसका कारण खेलाडीहरूको सुरक्षा सम्बन्धी चिन्ता बढेको थियो । गोल्ड कोस्ट स्टेडियम बाहिर आइतबार सयौं मानिसहरूले ‘सेव आवर गर्ल्स’ भन्दै नारा लगाएका थिए र खेलाडीहरूलाई सुरक्षित राख्न माग गरेका थिए । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजले पनि यी पाँच खेलाडीलाई मानवीय भिसा दिइएको बताएका छन् । यस भिसामा उनीहरू अष्ट्रेलियामा बस्न, काम गर्न र अध्ययन गर्न सक्ने बताइएको छ । यस घटनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आवश्यक परेमा अमेरिका पनि यी खेलाडीलाई शरण दिन तयार रहेको बताएका थिए ।

#NepalNews #DailyBulletin #Top20News #BreakingNews #NepalUpdate #NewsSummary #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages