

काठमाडौँ । सन् १८५९ अगस्ट २७ मा अमेरिकाको पेनसिल्भेनियामा भएको एउटा घटनाले विश्वको ऊर्जा इतिहासलाई नै नयाँ दिशामा मोडिदिएको मानिन्छ । अमेरिकी व्यापारी एडविन ड्रेकले पहिलो पटक जमिनमुनिबाट व्यावसायिक रूपमा कच्चा तेल निकाल्न सफल भएपछि आधुनिक तेल उद्योगको सुरुआत भएको पाइन्छ ।

त्यतिबेला ड्रेक ‘रक आयल’ भनिने कच्चा तेलको खोजीमा थिए । पश्चिमी पेनसिल्भेनियाको जमिनबाट तेलका साना बुलबुला निस्किएको देखिएपछि त्यहाँ तेल हुन सक्ने अनुमान गरिएको थियो । ड्रेकले त्यही ठाउँमा खनेको कुवाबाट अचानक ठूलो दबाबका साथ तेल बाहिर निस्किएको थियो । भनिन्छ, त्यो तेल करिब २१ मिटर उचाइसम्म फोहोरा जस्तै उछिट्टिएको थियो । यही घटनाले विश्वभर तेल खोज्ने दौड सुरु गरायो ।
त्यतिबेला घर र सडकमा बत्ती बाल्न मुख्य रूपमा ह्वेल माछाबाट निकालिने तेल प्रयोग गरिन्थ्यो । तर ह्वेलको संख्या घट्दै जाँदा त्यो तेल महँगो बन्दै गएको थियो । ड्रेकले कच्चा तेलबाट मट्टितेल निकालेर बत्ती बाल्न सकिने सम्भावना देखेपछि उनको प्रयास सफल भयो र केही समयमै तेल नयाँ ऊर्जा स्रोतका रूपमा स्थापित भयो ।

तेल फेला परेपछि पेनसिल्भेनियाको तेल क्षेत्र अचानक आर्थिक गतिविधिको केन्द्र बन्न पुग्यो । पिटहोल नामको सानो ठाउँमा तेल भेटिएपछि केही महिनामै हजारौँ मानिस त्यहाँ पुगे । त्यहाँ होटल, पसल, हुलाक कार्यालय र टेलिग्राम केन्द्रहरू खुले । एक समय त्यहाँको जनसंख्या दस हजारभन्दा बढी पुगेको थियो । तर तेलमा मात्र निर्भर अर्थतन्त्र टिकाउ नहुँदा केही वर्षमै त्यो सहरको चमक पनि घट्दै गयो ।
समयसँगै तेल विश्व अर्थतन्त्रको प्रमुख आधार बन्न पुग्यो । अहिले विश्वको ऊर्जा आवश्यकताको झण्डै एकतिहाइ हिस्सा तेलले पूरा गर्छ । कोइला, आणविक ऊर्जा र जलविद्युतसँग तुलना गर्दा पनि तेलको प्रयोग अत्यधिक छ । तेल र ग्यासले विश्वको विद्युत उत्पादनको ठूलो भाग पूरा गर्छ भने प्लास्टिक उद्योगको मुख्य कच्चा पदार्थ पनि यही हो ।
यातायात क्षेत्रमा त तेल झनै महत्त्वपूर्ण छ । कार, ट्रक, जहाज र जेट विमान सञ्चालनका लागि पेट्रोल र डिजेल जस्ता इन्धन प्रयोग हुन्छ । सुरुमा धेरैले पेट्रोलको उपयोगिता नबुझे पनि आन्तरिक दहन इन्जिनको विकाससँगै यसको माग तीव्र रूपमा बढ्यो । आजको आधुनिक यातायात प्रणाली तेलबिना कल्पना गर्नै कठिन मानिन्छ ।

तेलको मूल्यले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरेको छ । सन् १९७३ मा केही अरब देशले धनी राष्ट्रहरूलाई तेल बिक्रीमा रोक लगाएपछि केही महिनामै तेलको मूल्य चार गुणासम्म बढेको थियो । त्यसपछि विश्वका धेरै देशमा आर्थिक मन्दीको अवस्था आएको थियो । त्यसपछि पनि १९७८, १९९० र २००१ मा तेलको मूल्य बढ्दा विश्व अर्थतन्त्रमा ठूलो असर परेको थियो ।
तेलले केही देशलाई अत्यन्त धनी बनाएको छ । साउदी अरबजस्ता देश विशाल तेल भण्डारका कारण विश्वका धनी राष्ट्रमध्ये पर्छन् । साउदी आरामको नामक सरकारी तेल कम्पनी विश्वकै सबैभन्दा मूल्यवान् र नाफा कमाउने कम्पनीमध्ये एक मानिन्छ । तर अर्कोतर्फ तेलमा अत्यधिक निर्भर देशहरूमा आर्थिक असन्तुलन, भ्रष्टाचार र राजनीतिक अस्थिरता देखिने गरेको छ । अर्थशास्त्रीहरूले यसलाई ‘तेल अभिशाप’ भनेर व्याख्या गर्ने गरेका छन् ।
आज विश्व जलवायु परिवर्तनका कारण तेलको प्रयोग घटाउने प्रयासमा छ । नवीकरणीय ऊर्जा, विद्युतीय सवारी साधन र नयाँ प्रविधि विकास भइरहेका छन् । तर ऊर्जा घनत्वका हिसाबले तेल अझै प्रभावकारी भएकाले यसको प्रयोग तुरुन्तै समाप्त हुने सम्भावना कम मानिन्छ ।
यसरी सन् १८५९ मा पेनसिल्भेनियामा भएको एउटा सानो खोजले विश्वको ऊर्जा प्रणाली, अर्थतन्त्र र राजनीति सबैलाई गहिरो रूपमा प्रभावित गरेको इतिहासकारहरू बताउछन् । आजको आधुनिक संसार चलायमान बनाउन तेलले निभाएको भूमिका अझै पनि अत्यन्त महत्वपूर्ण मानिन्छ ।
#OilHistory #GlobalImpact #EnergyRevolution #Economy #WorldHistory #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



