इरानको शीर्ष नेतृत्व सकिदा पनि कसरी लडिरहेको छ युद्ध ?

 

काठमाडौँ । अमेरिका र इजरायलसँग इरानको युद्ध जारी रहँदा शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबी गरिए पनि इरानले अझै लामो समयसम्म युद्ध लड्न सक्ने बताएको छ ।

अमेरिका-इजरायल र इरानबीच करिब १२ दिनदेखि युद्ध चलिरहेको छ । प्रारम्भिक दिनमै सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको थियो भने त्यसपछि भएका आक्रमणमा करिब ५० जना उच्च अधिकारी मारिएको बताइएको छ । यति ठूलो क्षतिका बाबजुद पनि इरानले युद्ध जारी राख्न सक्ने दाबी गरिरहेको छ ।

Nepal life insurance

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले यसका लागि विशेष सैन्य रणनीति बनाएको छ । उक्त रणनीतिअनुसार सैन्य नेतृत्व एउटै केन्द्रमा राखिएको छैन, बरु सात वटा छुट्टाछुट्टै समूहमा बाँडिएको छ । साथै हरेक महत्वपूर्ण पदका लागि पहिले नै चार-चार सम्भावित उत्तराधिकारी तय गरिएको बताइएको छ ।

मार्च १ मा इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशले दुई दशकसम्म अमेरिकाले विभिन्न देशमा लडेका युद्धको अध्ययन गरेको बताएका थिए । त्यसबाट सिक्दै राजधानीमा ठूलो आक्रमण भए पनि युद्ध जारी राख्न सकिने सुरक्षा संरचना तयार गरिएको उनको भनाइ छ ।

इरानले अपनाएको यो रणनीतिलाई ‘डिसेन्ट्रलाइज्ड मोजेक डिफेन्स’ भनिन्छ । यसमा सैन्य शक्ति र नेतृत्वलाई केन्द्रित नगरी साना-साना स्वतन्त्र संरचनामा बाँडिन्छ । यसले गर्दा यदि शत्रुले शीर्ष नेतृत्व, मुख्य कमान्ड केन्द्र वा ठूला मुख्यालय नष्ट गरे पनि बाँकी संरचना सक्रिय रहन्छ र युद्ध जारी राख्न सक्छ ।

यो संरचनामा इस्लामिक रिभोल्युसनरी गार्ड कोर, नियमित सेना, बसिज मिलिसिया, क्षेप्यास्त्र इकाइ, नौसेना र स्थानीय कमान्ड प्रणालीले सञ्जालझैँ काम गर्ने व्यवस्था गरिएको छ । सञ्चार प्रणाली अवरुद्ध भए पनि स्थानीय इकाइहरूले स्वतन्त्र रूपमा कारबाही गर्न सक्ने अधिकार पाएका छन् ।

इरानले आफ्ना विभिन्न सैन्य संस्थालाई फरक-फरक भूमिका दिएको छ । नियमित सेनाले प्रारम्भिक आक्रमण सामना गर्दै मोर्चा स्थिर बनाउने काम गर्छ भने हवाई प्रतिरक्षा इकाइले शत्रुको हवाई शक्ति रोक्ने प्रयास गर्छ । इस्लामिक रिभोल्युसनरी गार्ड कोरले दोस्रो चरणमा छापामार शैलीमा हमला गर्ने, आपूर्ति मार्ग अवरुद्ध गर्ने र दुर्गम क्षेत्रमा लडाइँ जारी राख्ने जिम्मा पाएको बताइएको छ ।

बसिज मिलिसियालाई ३१ प्रान्तमा विभाजन गरी स्थानीय कमान्डरलाई बढी अधिकार दिइएको छ । नौसेनाले फारसको खाडी र होर्मुज जलडमरूमध्य क्षेत्रमा शत्रुका जहाजमाथि आक्रमण गर्ने रणनीति अपनाएको छ भने क्षेप्यास्त्र बलले शत्रुका सैन्य र संरचनागत लक्ष्यमा टाढाबाट आक्रमण गर्ने जिम्मेवारी पाएको छ । साथै मध्यपूर्वका सहयोगी समूहमार्फत युद्धलाई इरानको सीमाभन्दा बाहिर पनि फैलाउने योजना रहेको बताइएको छ ।

विश्लेषकहरूका अनुसार इरानले यो रणनीति अमेरिकाले अफगानिस्तान र इराकमा गरेको युद्धबाट सिकेर बनाएको हो । ती युद्धमा अत्यधिक केन्द्रित नेतृत्व प्रणाली छिट्टै ध्वस्त भएको देखेपछि इरानले आफ्नो सैन्य संरचना साना-साना भागमा बाँड्ने नीति अपनाएको बताइन्छ ।

इरानले युद्धलाई छोटो समयमै जित्ने लक्ष्यभन्दा पनि लामो समयसम्म तान्ने रणनीति अपनाएको बताइन्छ। सस्ता हतियार र ड्रोन प्रयोग गरेर शत्रुलाई महँगा प्रतिरक्षा प्रणाली प्रयोग गर्न बाध्य बनाउने योजना पनि यसमा समावेश छ । यसले समयसँगै शत्रुको आर्थिक र राजनीतिक दबाब बढाउने इरानको अपेक्षा रहेको बताइन्छ ।

यसैबीच इरानले धेरै महत्वपूर्ण पदका लागि पहिले नै चारसम्म उत्तराधिकारी तय गरेर राखेको बताइएको छ । कुनै नेता मारिए वा सम्पर्क टुटे पनि अर्को व्यक्ति तुरुन्तै जिम्मेवारी लिन सक्ने व्यवस्था गरिएको छ । यसले कुनै एक व्यक्तिको मृत्युले पूरै प्रणाली अवरुद्ध नहुने उद्देश्य राखिएको बताइएको छ ।

इरानका विदेशमन्त्री अराघचीले हालै इरानमाथि भइरहेको बमबारीले युद्ध लड्ने क्षमता कमजोर नपारेको दाबी गरेका छन् । उनले युद्ध कहिले र कसरी अन्त्य गर्ने भन्ने निर्णय इरानले नै गर्ने बताएका छन् ।

#Iran #MiddleEastConflict #WarContinues #GlobalPolitics #MilitaryStrategy #USA #Israel #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages