

नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले पछिल्लो राजनीतिक परिस्थितिले मुलुकमा वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता झनै बढेको बताउनुभएको छ ।
बिहीवार विविध क्षेत्रका प्रेरणादायी महलिाहरुको सम्मान तथा वृत्तचित्र सार्वजनिक गर्न मोतीदेवी स्मृति केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कम्युनिस्ट र वामपन्थीहरू छुट्टाछुट्टै अघि बढ्न खोजेको अवस्थामा कोही पनि नरहने स्थिति रहेको भुसालको भनाइ छ ।

उहाँले वामपन्थीहरूबीच एकता गरेर अघि बढे मात्रै वाम आन्दोलनको त्याग, तपस्या र बलिदानको औचित्य पुष्टि हुने जिकिर गर्नुभयो । उहाँले पछिल्लो समय नेपालको राजनीति सस्तो बन्दै गएको टिप्पणी गर्नुभयो । उहाँले खादा–टिका लगाएर पार्टी नेतृत्व पुग्ने र राजनीतिक अवसर प्राप्त गर्ने प्रवृत्ति देखापरेको भन्दै यसलाई राजनीतिक विकृतिका रुपमा व्याख्या गर्नुभयो । भुसालले नेपालमा महिला आन्दोलनको उपलब्धि ठूलो संघर्षको परिणाम भएको उल्लेख गर्दै अहिले राजनीतिमा, न्यायपालिकामा, प्रशासनिक र सुरक्षा क्षेत्रमा देखिएको महिला सहभागिताको पछाडि दीर्घ संघर्ष रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज राजनीति एकदमै सस्तो भएको छ । नोपलको महिला आन्दोलनको बारेमा यहाँ उपस्थितहरुको एउटा छ, यहाँ उपस्थित नभएकाहरुको संंघर्ष अर्कै छ । अहिले खादा लगाएर, टिका लगाएर पनि राजनीतिक दलको नेता हुने पार्टी नेतृत्वमा पुग्ने र राजनीतिक अवसर प्राप्त गर्ने प्रवृत्ति छ । यो त्यागको ठाउँमा त्यसलाई तुलना गर्ने हो भने त्यो त विकृति हो जस्तो लाग्छ । अहिले नेपालमा राजनीतिमा, न्यायपालिकामा, प्रशासनिक क्षेत्रमा, सुरक्षा क्षेत्रमा सबैतिर जुन ढंगको महिला सहभागिता छ त्यसको पछाडि ठुलो संघर्ष छ । हामीले गणतन्त्र स्थापना गरेकै कारणले पहिलो महिला राष्ट्रपति पनि पायौँ । र संघीयता र समावेशिताका कारणले सबैभन्दा उत्पिडीत वर्ग पनि नीति निर्माणको तहमा पुग्ने स्थिति बनेको छ । र चुनौती पनि त्यसैगरी खडा भएको छ । त्यसैले एकचोटी हामीले समग्र आन्दोलनलाई एउटा धारमा जोड्ने कुरा र यो पछिल्लो परिणामले चाँही अब कम्युनिष्ट र वामपन्थीहरु छुट्टाछुट्टै बस्छौँ भन्ने स्थितिले हामी कोही पनि नरहने स्थिति हो । अब हामी महिलाले पुरुषहरु कति दिन्छन् भनेर होइन की अब नेपालको आवश्यकता वामपन्थीहरुबीचको एकता गरेर गयौँ भने मात्रै हाम्रा त्याग तपस्या र बलिदानको औचित्य पुष्टि गर्ने महत्वपूर्ण मोडमा आएका छौँ ।’
उहाँले गणतन्त्र स्थापनापछि नेपालले पहिलो महिला राष्ट्रपति पाएको स्मरण गर्दै संघीयता र समावेशिताका कारण उत्पीडित वर्ग नीति निर्माण तहसम्म पुग्ने अवस्था बनेको बताउनु भयो ।



