सबै देशलाई एक महिनाका लागि रुसी तेल किन्न अमेरिकाको अनुमति

 

काठमाडौँ । अमेरिका-इजराइल र ईरानबीच जारी तनावका कारण विश्वभर कच्चा तेलको मूल्य १०० डलरको स्तर पार गरेको छ । मूल्य नियन्त्रण गर्न अमेरिकाले अन्य देशहरुलाई रूसबाट तेल अस्थायी रूपमा किन्न अनुमति दिएको छ । अहिले रूसका धेरै तेल ट्यांकर समुद्रमा अड्किएका छन् । अहिलेभन्दा पहिले अमेरिकाले भारतलाई रूसबाट कच्चा तेल किन्ने विषयमा प्रतिबन्धमा छूट दिने संकेत गरेको थियो । तर भारतीय अधिकारीहरूले भारतको तेल खरिदका लागि कुनै पनि देशको अनुमति आवश्यक नपर्ने स्पष्ट गरेका छन् ।

अमेरिकी ट्रेजरी विभागले एक सूचना जारी गर्दै १२ मार्चदेखि जहाजमा लोड भएका रूसी तेल तथा पेट्रोलियम उत्पादनको बिक्री र डेलिभरी गर्न अनुमति दिएको छ र यो छूट केवल ११ अप्रिलसम्मका लागि मान्य हुनेछ ।

ट्रेजरी सेक्रेटरी स्कट बेसेंटले यस कदमको उद्देश्य विश्वभर तेलको आपूर्ति बढाएर मूल्यलाई नियन्त्रणमा राख्नु रहेको बताएका छन् । उनले यो निर्णय छोटो अवधिका लागि भएको र यसले रूसलाई ठुलो आर्थिक लाभ नपुग्ने बताएका छन् ।

बेसेंटका अनुसार रूसको ठूलो आम्दानी तेल उत्खननमा लागेको करबाट आउँछ, जबकि यो छूट पहिले नै ट्रान्जिटमा रहेका तेलका लागि मात्र हो ।

ईरान र अमेरिका-इजराइलबीचको युद्धका कारण विश्वकै महत्वपूर्ण तेल मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा आपूर्ति ठप्प भएको छ । यहाँबाट विश्वको करिब २० प्रतिशत तेल बग्छ। भारतजस्ता देशले आफ्नो आवश्यकता अनुसार करिब आधा तेल यही मार्गबाट ल्याउछन् ।

पछिल्ला केही दिनमा ब्रेन्ट क्रूड तेलको मूल्य १२० डलर प्रति बैरलको नजिक पुगेको थियो । ईरानले मूल्य २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । रूसबाट तेल आपूर्ति भएपछि मूल्यमा केही गिरावट आउन सक्ने अपेक्षा गरिएको छ ।

फेब्रुअरी २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमी देशहरूले रूसबाट तेल र ग्यास किन्न रोक लगाएका थिए । मिडिल ईस्टमा हालै भएको इन्धन आपूर्ति र पूर्वाधारमा हमला पछि कच्चा तेलको मूल्यमा ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

बजारलाई स्थिर राख्न अमेरिका स्ट्राटेजिक रिजर्वबाट रेकर्ड मात्रामा तेल निकाल्ने निर्णय गरेको छ, तर सप्लाईमा समस्या आउन सक्ने डर अझै कायम रहेको छ ।

 

Nepal life insuranceimagesimages